लागुऔषध कसुरमा सजाय काटिरहेकामध्ये ३ नाइजेरियाका, १ जना ब्राजिलका
जनकपुर —
जेलबाट फरार भएका ४ जना विदेशी नागरिकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ । धनुषाको विभिन्न नाका हुँदै नेपालबाट बाहिरिने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी नरहरि रेग्मीले काठमाडौंको केन्द्रीय कारागारबाट सबै कैदी भाग्ने क्रममा यी ४ जना विदेशी पनि फरार भएकाले सीमा नाकाबाट नियन्त्रणमा लिइएको बताए ।
‘भारततिर पस्ने क्रममा सीमामा खटिएको सशस्त्र प्रहरी र भारतीय सीमा सुरक्षा बलको संयुक्त टिमले उनीहरूलाई नियन्त्रणमा लिएको हो,’ एसपी रेग्मीले भने,‘उनीहरू लागूऔषध ओसारपसारको कसुरमा सजाय काटिरहेका छन । केन्द्रीय कारागार नै पठाउँछौँ ।’
चारै जनालाई धनुषाको खजुरी र महिनाथपुर नाकाबाट भारत पस्ने क्रममा नियन्त्रणमा लिइएको एसपी रेग्मीले जानकारी दिए । जेलबाट फरार भएर पक्राउ परेमा विदेशीमा नाइजेरियाका ३ जना र १ जना ब्राजिलका रहेको उनले बताए ।
