नेपालमा नयाँ सरकार बनेपछि के भने भारत, चीन र अमेरिकाले ?

शान्तिपूर्ण समाधानको खोजीमा राष्ट्रपति, प्रधानसेनापति र आन्दोलनरत युवाले खेलेको भूमिकाको अमेरिकाले गर्‍यो प्रशंसा, अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई चीनको बधाई, लोकतान्त्रिक मूल्य मान्यता कायम राखेकोमा मोदीले गरे नेपालको प्रशंसा

भाद्र २९, २०८२

राजेश मिश्र

काठमाडौं — अमेरिकाले नेपालमा खोजिएको शान्तिपूर्ण समाधानको स्वागत गरेको छ । साथै अन्तरिम सरकारले गराउने नयाँ निर्वाचनको तयारीमा नेपालसँग सहकार्य गर्न तयार रहेको जनाएको छ । 

सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएको तेस्रो दिन अमेरिकाले प्रतिक्रिया दिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले वक्तव्य जारी गर्दै लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताको लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गरेको छ । साथै प्रधानसेनापति अशोकराज सिग्देलको भूमिकाको पनि अमेरिकाले प्रशंसा गरेको छ । 

‘गत हप्ताको दु:खद घटनाहरूपछिको शान्तिपूर्ण समाधानको हामी स्वागत गर्दछौं,’ दूतावासको विज्ञप्तीमा भनिएको छ ‘हामी लोकतान्त्रिक समाधानप्रतिको प्रतिबद्धताका लागि राष्ट्रपति रामचन्द्र पौडेल र युवा नेताहरूको प्रशंसा गर्दछौं ।’ नेपाली सेना र प्रधानसेनापति सम्मान प्रकट गर्दै भनिएको छ, ‘हामी नेपाली सेना र प्रधानसेनापति अशोकराज सिग्देललाई संक्रमणलाई सहज बनाउँदै शान्तिपूर्ण नागरिक सरकार र व्यवस्था पुन:स्थापित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेकोमा सम्मान गर्दछौं ।’ नेपालसँग साथमा रहेको भन्दै अमेरिकाले नयाँ निर्वाचनको तयारीमा सहकार्य गर्न तयार रहेको भनेको छ । 

उत्तरी छिमेकी चीनले  पनि अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई बधाई दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्तालाई सोधिएको नेपालसम्बन्धी प्रश्नको जवाफमा बधाई दिइएको उल्लेख छ । 

‘नेपालमा सेप्टेम्बर १२ मा पूर्व प्रधान्यायाधीश सुशीला कार्कीले देशको अन्तरिम प्रधानमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभयो । चीनको टिप्पणी के छ ?,’ त्यस प्रश्नको जवाफ दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता मााओ निङले भनेकी छन् ‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री बनेकोमा चीनले सुशीला कार्कीलाई बधाई दिएको छ ।’

चीन र नेपालबीच लामो समयदेखिको सम्मानित मित्रता रहेको चर्चा गर्दै प्रवक्ताले चीनले सधैंजस्तै नेपाली जनताले स्वतन्त्र रूपमा रोजेको विकास मार्गको सम्मान गर्ने भनेको छ । ‘हामी शान्तिपूर्ण, सहअस्तित्वका पाँच सिद्धान्तलाई प्रवर्द्धन गर्न, विभिन्न क्षेत्रमा आदान प्रदान र सहयोग बढाउन तथा द्विपक्षीय सम्बन्धलाई अझ अगाडि बढाउन नेपालसँग काम गर्न तयार छौं,’ चीनले भनेको छ । काठमाडौंस्थित चिनियाँ दूतावासले त्यही प्रश्नोत्तरलाई सामाजिक सञ्जाल ‘एक्स’ मा रिट्विट गरेको छ । 

यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सामाजिक सञ्जाल एक्समार्फत अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री कार्कीलाई शुभकामना दिएका थिए । नेपालका दाजुभाइ तथा दिदीबहीनीहरूको शान्ति, प्रगति  र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको उनले भनेका छन् । शुक्रबार राति कार्कीको नियुक्तिलगत्तै भारतको विदेश मन्त्रायलले उनको नियुक्तिको स्वागत गरेको थियो । 

शनिबार नै मणिपुरमा आयोजित सभालाई सम्बोधन गर्दै पनि मोदीले नेपालबारे बोलेका छन् । अस्थिर वातावरणमा पनि नेपालले लोकतान्त्तिक मूल्य मान्यतालाई कायम राख्न सफल भएको भन्दै उनले खुसी व्यक्त गरेका छन् । त्यसका लागि उनले नेपाली नागरिकको प्रशंसासमेत गरेका छन् । उनले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग पहिल्याउने विश्वास समेत व्यक्त गरेका छन् । ‘हिमालयको काखमा बसेको नेपाल भारतको एक साथी हो, घनिष्ठ मित्र हो । साझा इतिहासद्वारा जोडिएका छौं । सँगै मिलेर अगाडि बढिरहेका छौं,’ उनले भनेका छन् ‘नेपालका अन्तरिम सरकराको प्रधानमन्त्रीको पदभार सम्हाल्नुभएकोमा म आज १ सय ४० करोड भारतवासीको तर्फबाट श्रीमती सुशीलाजीलाई बधाई व्यक्त गर्दछु । उहाँले नेपालमा शान्ति, स्थिरता र समृद्धिको मार्ग प्रशस्त गर्नुहुनेछ भन्ने मलाई विश्वास छ ।’ 

नेपालको पहिलो महिला प्रधानमन्त्रीको रूपमा सुशीला कार्कीको  नियुक्तिलाई उनले महिला सशक्तिकरणको एक उत्कृष्ट उदाहरण भनेका छन् । ‘म आज नेपालको प्रत्येक व्यक्तिको प्रशंसा गर्दछु । जसले यस्तो अस्थिर वातावरणमा पनि लोकतान्त्रिक मूल्यमान्यतालाई सर्वोच्चमा राख्यो,’ उनले आफ्नो भाषणमा भनेका छन् । 

आन्दोलन पछाडि नेपालका युवा युवतीहरुले नेपालका सडकहरू सफा गर्दै गरेको र रंग रोगन गरेको कार्यको उनले प्रशंसा गरेका छन् । ‘मैले सोसल मिडियामा त्यस्तो तस्बिरहरू देखेको छु । उनीहरूको यो सकारात्मक सोच र काम प्रेरणादायी छ,’ उनले भने ‘यो नेपालको नवोदयको संकेत पनि हो । म नेपालको उज्ज्वल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु ।’ 

जेन-जी आन्दोलनपछि नियुक्त भएका अन्तरिम सरकार प्रधानमन्त्री कार्कीलाई अन्तर्राष्ट्रिय जगतबाट बधाई आउने क्रम जारी छ । शनिबार बांग्लादेश र पाकिस्तानले बधाई दिएको छ । 

युरोपियन युनियनले नेपालमा पहिलो महिला प्रधानमन्त्री नियुक्तिको स्वागत गरेको छ । नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जद्वारा जारी विज्ञप्तिमा युवन नेतृत्वको आन्दोलनपछि कार्कीको नेतृत्वमा बनेको अन्तरिम सरकारले ताजा चुनावका लागि वातावरण तयार पर्ने कदमका रूपमा हेरिएको उल्लेख गरिएको छ ।

त्यस्तै फिनल्यान्ड सरकराले पनि प्रधानमन्त्री कार्कीलाई बधाई दिएको छ । काठमाडौंस्थित दूतावासद्वारा जारी विज्ञप्तिमा कार्कीको नियुक्तिलाई लोकतान्त्रिक संक्रमणको स्थितिमा महत्त्वपूर्ण कदम भनिएको छ । कार्कीको नियुक्तिलगतै शुक्रबार राति भारत, बेलायत, जापान र संयुक्त राष्ट्रसंघले उनको नियुक्तिको स्वागत गरेको सन्देश दिएका थिए । 

राजेश

Link copied successfully