शनिबार निषेधाज्ञा र कर्फ्यु हटेपछि सर्वसाधरणको चहलपल बढ्न थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरिले बताए ।
काठमाडौं —
काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनले निषेधाज्ञा र कर्फ्यु हटाएसँगै सडकमा निजी सवारीसाधन र सर्वसाधरणको चहलपहल बढ्न थालेको छ । सोमबारदेखि बन्द रहेका सार्वजनिक सवारीसाधन पनि आइतबारदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भएका छन् ।
शनिबार निषेधाज्ञा र कर्फ्यु हटेपछि सर्वसाधरणको चहलपल बढ्न थालेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी दीपक गिरिले बताए ।
‘अघिपछि भन्दा सडकमा सर्वसाधरण र निजी सवारीसाधनको संख्या बढेको छ, फाट्टफुट्ट रूपमा सार्वजनिक सवारीसाधन पनि गुडेका छन्,’ उनले भने, ‘सार्वजनिक बिदाको दिन भएर सरकारी कार्यालय बन्द छन, त्यसैले आइतबारदेखि मात्र सडकमा सवारी चाप बढ्दै जानेछ ।’ सार्वजनिक सवारीसाधन नचल्दा भने सर्वसाधरणलाई यात्रामा अहसहज भएको छ । आइतबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालनमा आउने भएकाले यात्रुलाई सहज हुने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वारले बताए ।
‘देशको असहज परिस्थतिले गर्दा सार्वजनिक सवारीसाधन चलाउन सकिएन, प्रर्दशन सुरु हुनु अघिल्लो दिन नै सूचना जारी गरेर प्रदर्शनमा कुनै पनि सार्वजनिक सवारीसाधन नचलाउन भनेकाले सार्वजनिक सवारी साधनमा ठूलो क्षति भएन,’ उनले भने, ‘अहिले मुलुकले नयाँ प्रधानमन्त्री पाइसकेको छ, अवस्था सहज बन्दै गएकाले अब सार्वजनिक सवारीसाधन चलाउन समस्या छैन ।’
उनका अनुसार आइतबार नै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माको उपस्थितिमा सरोकारवाला निकायबीच छलफल गरी दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्नेबारे निर्णय गरिने छ ।
‘अब दसैं आउन धेरै छैन,आइतबार नै मिलेसम्म हामी अग्रिम टिकट बुकिङ कहिलेबाट खोल्ने भन्नेबारे निर्णय गर्छौं,’ उनले भने, ‘यसका लागि सचिवले पनि चासो दिएर बोलाउनु भएको छ ।’ उनका अनुसार अग्रिम बुकिङसँगै टिकट काउन्टरअगाडि अनिवार्य रूपमा कुन जिल्लाको कति भाडा ? भनेर भाडादरको लिस्ट राखिने छ । त्यस्तै यात्रु सहायता कक्ष खोलेर कसैले टिकटमा कालोबजारी गरे वा यात्रुलाई ठग्ने काम गरे तुरुन्त त्यहाँ गएर प्रहरी, यातायात व्यवस्था विभागका कर्मचारीलाई यात्रले जानकारी गराउने व्यवस्था मिलाइने उनको भनाइ छ । अघिपछि घटस्थापनाको १५ दिनअघि दसैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरिन्थ्यो ।
यो पटक देशको असहज परिस्थितिका कारण यसबारे छलफल गर्न नसक्दा निर्णय गर्न केही ढिलाइ भएको यातायात व्यवसायीहरूको भनाइ छ । दसैंमा मात्र उपत्यकाबाट करिब २० लाख यात्रु बाहिरिने गरेका छन् ।
