प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा आन्दोलनकारीले नगरपालिकाको कार्यालय नै कब्जामा लिएर ताेडफाेड गरेका छन् ।
What you should know
काठमाडौँ — जेन–जीको सोमबारको प्रदर्शनका क्रममा झापाको दमक र सुनसरीको इटहरीमा स्थिति तनावग्रस्त बनेको छ ।प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा आन्दोलनकारीले दमक नगरपालिकाको कार्यालय नै कब्जामा लिएर ताेडफाेड गरेका छन् । आन्दोलनकारीहरू उग्र बनेपछि प्रहरी पछि हटेको थियो । प्रहरी हटेपछि प्रदर्शनकारीले नगरपालिकामा रहेका केही गाडी र मोटरसाइकलमा आगजनी गरेका छन् ।
प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास र गोली प्रहार गरेको थियो । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् । गोली लागेर घाइते एक जनाको दमक अस्पतालमा उपचार भइरहेको छ । घाइते भएका युवक कमल गाउँपालिका–५ का प्रकाश भट्टराई रहेको खुलेको छ । पछिल्लो समय सशस्त्र प्रहरी परिचालन गरेर स्थिति नियन्त्रण लिने प्रयास भइरहेको छ ।
सुनसरीको इटहरीमा बिहान ११ बजेदेखि प्रदर्शनमा उत्रिएका जेन–जी र प्रहरीबीच दिउँसो झडप भएको हो । इटहरी उपमहानगर कार्यालय अगाडि भएको प्रदर्शन उग्र बन्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । झडपमा प्रदर्शनकारी र प्रहरीतर्फ केही घाइते भएका छन् । घाइतेहरुको दमक अस्पतालमा उपचार भइरहेको छ । अश्रुग्यास प्रहारपछि केहीबेर प्रदर्शनकारी तितरबितर भए पनि फेरि प्रदर्शन भइरहेको छ ।
झापादेखि कञ्चनपुरसम्मका सबैजसो सहरमा सोमबार जेन–जीले प्रदर्शन गरिरहेका छन् । डडेलधुरा, रौतहट, जनकपुर, वीरगन्जलगायत ठाउँमा केहीबेर भएको प्रदर्शन सकिए पनि धेरैजसो स्थानमा दिउँसो २ बजेसम्म पनि जारी छ । बिहानदेखि भेला हुन थालेका जेन–जीले इलाम, धरान, विरानटगर, जनकपुर, रौतहट, वीरगन्ज, सिन्धुली, हेटौंडा, भरतरपुर, कावासोती, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायतका स्थानमा सरकारविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।
