बुटवल र भैरहवाका निश्चित क्षेत्रमा प्रमुख जिल्ला अधिकारीले कुनै पनि भेला र प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेका छन्।
भैरहवा — रुपन्देहीका बुटवल र भैरहवामा जेन जी आन्दोलनका क्रममा प्रदर्शन चर्किन थालेपछि जिल्ला प्रशासन कार्यालयले सोमबार अपराह्न ४ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टोकराज पाण्डेले बुटवल र भैरहवा क्षेत्रमा चार किल्ला तोकेर तोकिएको सीमाभित्र कसैले पनि भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यु आदेश जारी गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बुटवल क्षेत्रमा पूर्वमा धागो कारखाना पुलसम्म, पश्चिममा बेलबास चोकसम्म, उत्तरमा चिडिया खोलासम्म र दक्षिणमा मंगलपुरसम्म कर्फ्यु लगाइएको छ ।
भैरहवामा पूर्व रोहिणी खोला पुलसम्म, पश्चिम बेथरी पुलसम्म, उत्तरमा बुद्ध चोकसम्म र दक्षिणमा मेउडिहवासम्म कर्फ्यु आदेश जारी गरिएको जनाएको छ । यसबाहेक बुटवल–बेलहिया व्यापारिक मार्गको दायाँबायाँ एक सय मिटरसम्म कुनै पनि प्रदर्शन र भेला आयोजनामा रोक लगाइएको प्रशासनले सूचनामार्फत जानकारी गराएको छ ।
