स्याफ्रुबेंसी–रसुवागढी सडक एक सातादेखि ठप्प

आधा दर्जनभन्दा बढी स्थानमा बाढीले सडक बगाएकाले सञ्चालनमा आउन अझै एक साता लाग्ने भएको छ ।

श्रावण २०, २०८२

विमल खतिवडा

Syafrubansi-Rasuwagadhi road has been blocked for a week

What you should know

काठमाडौँ — भोटेकोशीमा दोस्रो पटक १४ साउनमा आएको बाढीले स्याफ्रुबेंसी–रसुवागढी सडक एक सातादेखि ठप्प भएको छ । आधा दर्जनभन्दा बढी स्थानमा बाढीले सडक बगाएको छ । सडक सञ्चालनमा आउन अझै एक साताभन्दा बढी लाग्ने सडक विभागले जनाएको छ । 

सडक सम्पर्क टुट्दा टिमुरे, रसुवागढीसम्म एम्बुलेन्स पुग्न नसकेपछि कोही बिरामी पर्दा हेलिकोप्टरको भर पर्नुपरेको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताए । ‘बिहान सडक बनाउने तर साँझ बाढीले बगाउने भइरहेको छ,’ उनले भने, ‘बाढी नघट्दा समस्या भएको छ ।’ टिमुरे क्षेत्रमा ठूलो पानी नपरे पनि चीनतर्फबाट आएको बाढीले बढी क्षति गरेको तामाङले बताए ।

गत २४ असारको बाढीले क्षति गरेपछि खाद्यान्न गाउँसम्म पुर्‍याउन र रोकिएका सवारीसाधन वारपार गर्न मिल्ने गरी सडक सञ्चालनमा ल्याइए पनि फेरि आएको बाढीले सडक बगाएको हो । स्याफ्रुबेंसीदेखि रसुवागढीसम्म १६ किलोमिटर छ । भोटेकोशीले कटान गर्दा सडक बगेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजना कार्यालयका प्रमुख खड्गलाल श्रेष्ठले बताए । ‘टिमुरे नजिकै सडक खोल्न प्रयोग गरेको मेसिन पहिरोमा फस्दा निकाल्न सकिएको छैन,’ उनले भने, ‘ठाउँ–ठाउँमा बाढीले सडक बगाउँदा टिमुरेसम्म पुग्न सकिएको छैन ।’ रसुवागढी जलविद्युत् आयोजनाको पावरहाउस रहेको तातोपानीमा पनि बाढीले सडक बगाएको छ । 

‘कुलिङ, छेन्दुङ, तातोपानी, टिमुरे, घट्टेखोला र रसुवागढीमा पूरै सडक बगाएको छ,’ श्रेष्ठले भने, ‘माथि भित्तो काटेर सडक बनाउने प्रयास भइरहेको छ, तर तलबाट खोलाले कटान गर्दा समस्या छ ।’ सामान्य पानी परिरहेको भए पनि भोटेकोशीको बाढी कम भइनसकेको उनले बताए । ‘टिमुरेतर्फ तीन/चार चोटि ट्र्याक खोलिसक्यौं, तर बाढीले बगाइरहेको छ, टिमुरे नजिकैको पहिरोबाट उता जान सकिएको छैन,’ उनले भने, ‘त्यसैले तत्काल सडक खोल्न समस्या छ ।’

मेसिनले मात्र भीरमा काम गर्न नसकिए विस्फोटक पदार्थ प्रयोग गरिने संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपानेले बताए । ‘सडकको ट्र्याक खोल्ने काम भइरहेको छ,’ उनले भने, ‘यदि मेसिनबाट नसकिए विस्फोटक पदार्थ प्रयोग गरी काम गर्नुपर्छ, त्यसका लागि रसुवाका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराइसकेका छौं ।’ चाडबाडलाई मध्यनजर गर्दै मालवाहक सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने गरी काम गरिरहेको उनले सुनाए । 

नाका जोड्ने पुल बन्दै 

ल्हेन्दे खोलामा नाका जोड्ने बेलिब्रिजको काम चीनले थालिसकेको गोसाइँकुण्ड गाउँपालिकाका प्रमुख कैसाङ नुर्पु तामाङले बताए । उनका अनुसार बाढीले बगाएको पुलभन्दा करिब ५० मिटरमाथि अस्थायी बेलिब्रिज बनाउन लागिएको हो । त्यसका लागि फाउन्डेसनको काम सुरु गरिएको छ । ‘दसैंअघिसम्म पुल बनिसक्ने जानकारी पाएका छौं,’ उनले भने । २४ असारमा बाढीले बगाएकै ठाउँमा भने स्थायी पुल बनाउने तयारी रहेको तामाङले जानकारी दिए ।

बाढीपछि रसुवागढी नाका ठप्प रहेकाले सञ्चालनका लागि काम भइरहेको भन्सार विभागका महानिर्देशक महेश भट्टराईले बताए । ‘नाका जोड्ने पुल निर्माण असोजको मध्यसम्म सकिन्छ,’ उनले भने, ‘बाढी र पहिरोले क्षति गरेको ठाउँमा सडक निर्माण भइरहेको छ ।’ असारको बाढीपछि रसुवा भन्सार नाका सुनसान रहेको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए ।

‘भन्सार यार्डमा बाहिरिने र भित्रने मालवाहक सवारीसाधनको तौल नाप्ने दुई वटै तौल पुल (धर्मकाँटा) एउटा २४ असार र अर्को १४ साउनको बाढीले बगाएको छ,’ उनले भने, ‘यार्डबाट सवारीसाधन बाहिर निकाल्ने सडक पनि बाढीले बगाएपछि १० वटा कन्टेनर र ट्रक त्यहीं फसेका छन्, जुन सवारीसाधनको इन्जिन पनि बिग्रिएको छ ।’ ११ वटा विद्युतीय गाडी पनि बाढीले क्षति गरेपछि यार्डमै छन् । उनका अनुसार ती सवारीसाधन काम लाग्ने अवस्थामा छैनन् । तानेर निकाल्न क्रेन पनि नभएको उनले सुनाए । 

यार्डको विकल्प खोजिँदै 

टिमुरेमा रहेको भन्सार यार्डको विकल्प खोज्न अध्ययन थालिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए । ‘विकल्पमा कहाँ यार्ड बनाउन सकिन्छ भनेर इन्जिनियर टोली खटाएरै अध्ययन थाली सकिएको छ, १० दिनभित्र अध्ययन रिपोर्ट आउँछ,’ उनले भने, ‘विकल्प रसुवा वा नुवाकोट जहाँ पनि हुन सक्छ ।’ अहिले भोटेकोशी किनारमा नदी छेकेर यार्ड बनाइएको थियो । खोलामै यार्ड बनाइएकाले बाढीले बगाएको हो । 

अहिले भइरहेको ठाउँ उपयुक्त होइन भन्ने चिनियाँ पक्षबाट पनि आएको उनको भनाइ छ । ‘यार्ड चीनले बनाइदिएको हो, चिनियाँ पक्षका अनुसार बाढीले एक अर्ब रुपैयाँ हाराहारीे क्षति भएको छ,’ उनले भने, ‘पूर्ण रूपमा यार्डमा क्षति भएको छ, प्रशासनिक भवन डाँडामा भएकाले बाढीबाट जोगिएको छ ।’ चीन सरकारको २ अर्ब १६ करोड रुपैयाँ अनुदानमा करिब ५८ रोपनीमा दुई वर्षअघि यार्ड निर्माण थालिएको थियो । निर्माण अन्तिम चरणमा रहेका बेला बाढीले बगाएको हो । १४ साउनमा आएको बाढीले पनि यार्डको थप भौतिक संरचना बगाएको रसुवा भन्सार कार्यालयले जनायो । 

विमल खतिवडा खतिवडा कान्तिपुरमा पूर्वाधार र आर्थिक बिटमा लेख्छन् ।

Link copied successfully