एक साताभित्र एकतर्फी रूपमा सडक सञ्चालन गर्ने सडक विभागको दाबी
टिमुरे, रसुवा — गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे स्याफ्रुबेंसीबाट १६ किलोमिटर दूरीमा छ । गत मंगलबार बिहान भोटेकोशीमा आएको बाढीका कारण अहिले टिमुरेसँगको सडक सम्पर्क टुटेको छ । बाढीले टिमुरेसम्म पुग्ने दुई खण्डको पूरै सडक बगाएको छ । ठाउँठाउँमा सडक भत्किएको र चिराचिरा परेको छ । ल्हेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरी पुल बगाउँदा दुई देशबीचको व्यापारिक सम्बन्ध पनि टुटेको छ ।
बाढीले भन्सारको यार्डमा पुरिएका मालवाहक सवारीसाधनबाट सामान निकालिएको छ । टिमुरको डाँडा र छेउछाउमा यत्रतत्र विद्युतीय र मालवाहक सवारीसाधन राखिएको छ । यसरी ल्याइएको सवारीसाधनको भन्सार जाँच भएको र केहीको हुने क्रममा छ । सडक नभएपछि यी सवारीसाधन पनि टिमुरेमै रोकिएका छन् । पुल बगेपछि र सडक बन्द भएपछि भन्सार कार्यालय पनि सुनसान बनेको छ ।
५० वटा सवारीसाधन भन्सार जाँचपासको प्रक्रियामा छन् । स्याउ बोकेका मालवाहक सवारीसाधन मात्र चारवटा छन् । तयारी सामान र हाइड्रोका सामान बोकेका खुला ट्रकहरू पनि रहेको रसुवा भन्सार कार्यालयका नायब सुब्बा चण्डिराज गेलालले बताए । ‘चीनतर्फ सामान लिन हिँडेका ३५ वटा मालवाहक सवारी पनि टिमुरेमै रोकिएका छन्,’ उनले भने ।
भन्सार यार्डमा सामान बोक्न गोसाइँकुण्ड गाउँपालिकाको टिमुरे, दाहाल फेदी, थुमनका स्थानीयले मात्र पाउँछन् । बाहिरकाले भरियाको काम गर्न पाउँदैनन् । तीनवटा गाउँका ६ सय १० जना यस्ता कामदार रहेको नासु गेलालले बताए । ‘सबैले पालो मिलाएर काम गर्छन्, भन्सार मजदुर संघ छ,’ उनले भने, ‘संघले कामदारलाई कामको चापका आधारमा काम लगाउने गर्छ ।’ लोड र अनलोड गरे प्रतिगाडी समूहले ८ देखि १० हजार लिने गर्छन् ।
‘यो सामान्य अवस्थामा लिने रकम हो,’ उनले भने, ‘असामान्य अवस्थामा ६० हजारदेखि ८० हजारसम्म लिएर सामान पल्टी गर्ने गर्छन् ।’ नाका बन्द र सडक ठप्प भएपछि स्थानीयको रोजीरोटी बन्द भएको उनको भनाइ छ ।
पानी नपरीकन पनि ठूलो बाढी आएको गोसाइँकुण्ड–२ का वडाध्यक्ष कामी छिरिङ तामाङले बताए । ‘बाढीले भौतिक संरचनामा ठूलो क्षति पुगेको छ,’ उनले भने, ‘सरकारले पहल गरेर नाका खुलाउनुपर्छ, सडक सुचारु गर्नुपर्छ ।’ स्थानीय तहले पनि सडक सञ्चालन गराउन संघ सरकारसँग पहल गरिरहेको उनले सुनाए । ‘छिटो सडक नबने गाउँमा कसरी खाद्यान्न ढुवानी गर्नु ? कोही बिरामी परे एम्बुलेन्स चलाउने सडक छैन,’ उनले भने ।
सडक बगेपछि सदरमुकाम आउजाउ ठप्प भएको स्थानीय मीरा थापा मगरले बताइन् । ‘बालबच्चा पनि काठमाडौंमा बसेर पढिरहेका छन्,’ उनले भनिन्, ‘छोराछोरी भेट्न जान पनि गाह्रो भएको छ ।’ सडक ठप्प भइरहे गाउँमा खाद्यान्न हाहाकार हुने उनले सुनाइन् ।
नदीले कटान गर्दा धेरै ठाउँमा सडक बगेको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले बताए । ‘त्यस्तो ठाउँमा सकेसम्म भित्ता काटेर ट्र्याक निकाल्ने र नमिल्ने ठाउँमा नदीबाटै वाल लगाउन तयारी गरिरहेका छौं,’ उनले भने, ‘त्यसका लागि इन्जिनियरको टोली फिल्डमै छन् ।’ अबको एक साताभित्र सडक खोल्ने गरी काम भइरहेको उनको भनाइ छ ।
बाढीले विभिन्न खण्डमा गरेर एक किमि सडक बगाएको छ । ‘पहिलो चरणमा एकतर्फी सडक खुल्छ, त्यसपछि एम्बुलेन्स, खाद्यान्न बोकेका सवारीसाधन टिमुरेबाट ओहोरदोहोर गर्नेछन्, यति गरेपछि त्यहाँको जनजीवन सहज हुन्छ,’ उनले भने, ‘दोस्रो चरणमा चीनले नेपाल–चीन जोड्ने गरी ल्हेन्दे खोलामा बेलिब्रिज बनाउन लागेको सुनिएको छ, त्यो बेलासम्म कन्टेनर चल्ने गरी सडक बनाइसक्छौं ।’
सडक विभागका आफ्नै मेसिन र केही भाडामा समेत लिएर सडक खुलाउने काम भइरहेको उनको भनाइ छ । ‘स्याफ्रुबेंसीबाट रसुवागढीसम्मको १६ किमि सडकमध्ये स्याफ्रुबेंसीबाट ३ र टिमुरेबाट रसुवागढीसम्मको ४ किमि सडक खुला छ,’ उनले भने, ‘९ किमिमा समस्या छ, लिङलिङमा पहिरोले पूरै सडक लगेकाले केही समय लाग्छ ।’ यो सडक भएर दैनिक सयवटा मालवाहक सवारीसाधन ओहोरदोहोर गर्दै आएका थिए ।
