(टिमुरे), रसुवा — तिब्बतको ल्हेन्दे खोलामा मंगलबार आएको बाढी भोटेकोशी नदीमा मिसिएपछि भएको विध्वंसले ठूलो जनधनको क्षति भएको छ । तर बाढीको कारण भने अहिलेसम्म पनि यकिन हुन सकेको छैन । बाढीबाट प्रभावित रसुवागढी, गोसाइँकुण्ड टिमुरे क्षेत्र अस्तव्यस्त बनेको छ।
बाढीपछि यहाँ सडक पूर्णरुपमा अवरुद्ध भएको छ भने विद्युत, इन्टरनेट र टेलिफोन सेवा समेत अवरुद्ध छ। बाढीले यहाँको जनजीवन कष्टप्रद बनाएको गोसाइँकुण्ड गाउँपालिका-२ का वडाध्यक्ष कामीछिरिङ तामाङले बताए। बाढीपछि बुधबार पनि सम्पूर्ण सुरक्षा निकाय हराइरहेकाको खोजी तथा अलपत्र परेकाको उद्धारमा खटिएका छन् । ३४ वटा हवाई उडानबाट १ सय ३६ जनाको उद्धार गरी काठमाडौं पठाइएको छ । तीमध्ये १ सय २७ जना विदेशी नागरिक छन् । ‘सम्पूर्ण सुरक्षा संयन्त्र नै फिल्डमा छ, उद्धारका काम जारी राखेका छौं, बुधबार पनि स्थलगत अध्ययन गरेर फर्केका छौं,’ रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जॅन पौडेल भन्छन्, ‘बाढीमा फसेकाको उद्धार जारी छ, उद्धार गरिएकालाई काठमाडौं पठाएका छौं, जसमा धेरैजसो विदेशी नागरिक छन् ।’
बाढीपछि ९ शव फेला परे पनि सम्पर्कविहीन १९ जनाको अवस्था पत्ता लाग्न सकेको छैन । बाढीमा नेपाल–चीन जोड्ने मितेरी पुल बगेको छ भने सुक्खा बन्दरगाहमा पनि ठूलो क्षति भएको छ । रसुवागढीसहित ४ जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बन्दरगाहमा रहेका सामानसहितका २४ कन्टेनर गाडी, ६ ठूला ट्रक र करिब ३५ ईभी गाडी बगेका छन् ।भन्सार यार्ड क्षेत्रमा पुरिएका गाडी निकाल्न र हराइरहेकाको खोजी गर्न ‘हेभी इक्विपमेन्ट’ आवश्यक रहेकाले बाटो नखुलेसम्म ती उपकरण ल्याउन सम्भव नभएको उनको भनाइ छ । बाढीले स्याफुबेसीदेखि रसुवागढीसम्म विभिन्न स्थानमा सडक क्षतविक्षत भएको छ । ‘ठाउँठाउँमा सडक अवरुद्ध छ, सडक इन्जिनियरका अनुसार १० स्थानमा गरी करिब ११ सय मिटर सडकमा क्षति पुगेको छ ।’
उनका अनुसार बाढीका कारण कतिपय गाउँसँगको सञ्चार सम्पर्क टुटेको छ भने त्यहाँसम्म तत्काल हिँडेर पुग्ने अवस्था छैन । ‘२ हजारभन्दा धेरै मानिस बसोबास रहेको क्षेत्र सम्पर्कविच्छेद छ, सूचनाअनुसार तीन–चार दिनलाई मात्र पुग्ने खाद्यान्न मौज्दात छ रे, त्यहाँ तत्काल खाद्यान्न पुर्याउन आवश्यक छ,’ प्रजिअ पौडेल भन्छन्, ‘अब हामीले त्यहाँ खाद्यान्न पुर्याउने तयारी थाल्नुपर्छ, त्यहाँ विद्युत् र फोन सेवा पनि अवरुद्ध छन् ।’नेपाल प्रहरीका सहायक प्रवक्ता एसएसपी रमेश थापाका अनुसार अहिले बाढी गएको क्षेत्रमा करिब एक हजारको संख्यामा प्रहरी खटिएका छन् । उनीहरूले सम्पर्कविहीन भएकाको खोजी गरिरहेका छन् । सशस्त्र प्रहरी बल (एपीएफ) का सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार हराइरहेकाको खोजीका लागि नुवाकोट र धादिङबाट पनि टोली पठाइएको छ ।
फेला परेका नौमध्ये आठ जनाको शव काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ । एक जनाबाहेक अरूको सनाखत हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । बाढीमा परेर रसुवाबाट बेपत्ता असई लालबहादुर श्रेष्ठको शव चितवनको १५ किलोस्थित त्रिशूली नदी किनारमा फेला परेको थियो । परिवारले शव बुझेर बुधबारै अन्त्येष्टि गरेका छन् ।प्रहरीका अनुसार भेटिएकामध्ये पाँच शवमात्र सनाखत गर्न सकिने खालका छन् । चार वटाको मानव अंगमात्र फेला परेको छ । तिनको डीएनए परीक्षण आवश्यक रहेको प्रहरीले जनाएको छ ।
![Bhotekoshi floods: Chaos from Timure to Rasuwagadhi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhotekoshibadirasuwa-13-1072025061840-1000x0.jpg&w=1001&h=0)
![Bhotekoshi floods: Chaos from Timure to Rasuwagadhi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhotekoshibadirasuwa-12-1072025061835-1000x0.jpg&w=1001&h=0)
![Bhotekoshi floods: Chaos from Timure to Rasuwagadhi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhotekoshibadirasuwa-11-1072025061830-1000x0.jpg&w=1001&h=0)
![Bhotekoshi floods: Chaos from Timure to Rasuwagadhi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhotekoshibadirasuwa-10-1072025061825-1000x0.jpg&w=1001&h=0)
![Bhotekoshi floods: Chaos from Timure to Rasuwagadhi [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/miscellaneous/bhotekoshibadirasuwa-9-1072025061819-1000x0.jpg&w=1001&h=0)