भोटेकोशीमा आकस्मिक बाढी, तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नुवाकोटको त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढीको जानकारी रसुवाबाट प्राप्त भएकोले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन अनुरोध छ।

श्रावण १४, २०८२

कान्तिपुर संवाददाता

Sudden floods in Bhotekoshi, low coastal areas urged to be cautious

काठमाडौँ — भोटेकोशी नदीको बहाव बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।  चीनको तिब्बत हुँदै रसुवागढी आइपुग्ने भोटेकोशी नदीमा एक्कासि बहाव बढेको हो । 

रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बुधबार बिहान २ बजेतिरबाटै नदीमा पानीको बहाव बढेको बताए । 'नदीमा बहाव बढेकाले हामीले तल्लो तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सतर्कता अपानाउन सूचना जारी गरिसकेका छौँ,' उनले भने ।

नदीमा आएको बाढीले रसुवागढी नाकामा चिनियाँ पक्षले बेलिब्रिज राख्नका लागि बनाउँदै गरेको बाटो पनि बगाएको उनले जानकारी दिए । मंगलबार राति पानी परे पनि अहिले भने रसुवामा पानी नपरेको सहायक प्रजिअ अधिकारीले जानकारी दिए । बाढीले टिमुरेस्थित भन्सार यार्डमा रहेको धर्मकाँटा पनि बगाएको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटले पनि त्रिशूली नदीमा जलसतह बढेको र आकस्मिक बाढी आएको रसुवाबाट जानकारी प्राप्त भएको उल्लेख गर्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

Sudden floods in Bhotekoshi, low coastal areas urged to be cautiousतस्बिर सौजन्य : रेडियो लाङटाङ ९०.३ मेगाहर्ज

सोमबार जिल्ला प्रशासन कार्यालय रसुवाले एक सूचना जारी गर्दै रसुवा भई बहने भोटेकोशी, त्रिशूली, लाङटाङ र चिलिमे खोलामा बाढी आउन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको थियो ।

जल तथा मौसम विज्ञान विभाग र चिनियाँ पक्षबाट समेत आगामी केही दिन यस क्षेत्रमा भारी वर्षाका कारण नदीमा बहाव बढ्न सक्ने जानकारी आएको उल्लेख गर्दै प्रशासनले सावधानी अपनाउन आग्रह गरेको थियो । असार २४ गते भोटेकोशीमा आएको बाढीले नेपाल र चीनतर्फ ठूलो जनधनको क्षति भएको थियो । 

कान्तिपुर

Link copied successfully