एकवर्षे अवधिमा सरकारले धेरै राम्रो काम गरेको भन्दै ओलीले सन्तुष्टि व्यक्त गरे, दाहालले ‘संसद्लाई बिचौलियाहरूको खेल मैदान बनाइएको’ भन्दै सरकारमाथि गम्भीर आरोप लगाए
काठमाडौँ — कांग्रेस–एमाले गठबन्धन सरकारको एक वर्ष पुगेको दिन सोमबार बिहानै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा छोटो टिप्पणी लेखेर सरकारको कामकारबाहीमा सन्तुष्टि व्यक्त गरे ।
तर प्रमुख प्रतिपक्ष दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रतिनिधिसभाको बैठकमा दिउँसो करिब एक घण्टा सम्बोधन गरी सरकारको चर्को आलोचना गरेपछि यी दुई नेताबीच सवालजवाफ चलेको छ ।
प्रधानमन्त्री ओलीले आफ्नो एकवर्षे कार्यकालमा धेरै राम्रो काम सुरु भएको भन्दै अझै राम्रो गर्न केन्द्रित रहेको उल्लेख गरेका थिए । ‘यसबीचमा मुलुकका आर्थिक सूचकांकहरू सकारात्मक देखिएका छन् भने विकासका राष्ट्रिय आयोजनाहरूको कामले गति लिएको छ । टाइम–लाइन तोकेर काम गर्ने र नतिजा खोज्ने प्रचलन यसअघि थिएन, अहिले त्यो सुरुवात भएको छ,’ ओलीले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘नागरिकको सेवा प्रवाहमा सरलता ल्याउन महत्त्वपूर्ण कानुनहरू संशोधन भएका छन् र तिनले क्रमैसँग लाइन होइन, अनलाइनबाट काम गर्ने प्रचलन बढ्दै छ ।’
प्रमुख प्रतिपक्ष दलका नेता दाहालले भने सरकारमाथि दर्जनौं प्रश्न तेर्स्याए । ‘आज संसद् र संसदीय समितिहरू कसरी चलेका छन् ? हामीले अनुभूति गरेकै छौं । हजारौं शिक्षकसँगको सहमति पालना नगरी विद्यालय शिक्षा विधेयकलाई बिचौलियाको हितमा बन्धक बनाइँदै छ,’ उनले संसद्मा भने, ‘संवैधानिक निकायमा राजनीतिक भागबन्डा र अदालतमा आफ्ना मान्छे नियुक्ति गरिएको छ । संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका रातारात विधेयकहरू प्रतिनिधिसभामा पेस हुँदा चलखेल र छेडखानी गरेर कस्तो शासनको अभ्यास गरिँदै छ ?’
दाहालले दुई दलको अहंकारले संसद्लाई समेत ‘बिचौलियाहरूको खेलमैदान बनाइएको’ गम्भीर आरोप लगाए । धितोपत्र बोर्डमा नियुक्ति, भुटानी शरणार्थी काण्ड, त्रिविको मेरिटोक्रेसी भत्काउने, विद्युत् बक्यौता नतिर्नेलाई चोख्याउनेदेखि भूमाफियाहरूलाई कानुनी संरक्षण गर्ने कार्य सरकारबाट भएको उनको भनाइ थियो । सरुवा र नियुक्तिमा मन्त्रीहरूबाटै लाखौंका डिल भएको भन्दै उनले आपत्ति जनाए ।
दाहालले राष्ट्रिय गौरवका योजनालाई उपेक्षा गरी आफ्नो क्षेत्रमा बजेट केन्द्रित गरेको आरोप पनि लगाए । ‘राष्ट्रिय गौरवका योजनाहरूलाई उपेक्षा गरेर एउटै स्थानमा अर्बौंको भ्यु टावर, सभाहल, औद्योगिक पार्क र अन्य आयोजनामा बजेट खन्याएर पूरा हुन्छ त बहुदलीय जनवादको सपना ?’ उनले भने, ‘दलित, महिला, युवा, प्रवासी मजदुर, उद्यमी, मधेश, कर्णाली र सुदूरपश्चिमका कार्यक्रमहरू काटेर बन्छ त समृद्ध नेपाल ?’
जवाफमा ओलीले सरकारले गरेका कामको तथ्यांक केलाउन आग्रह गरे । ‘मैले त दिन तोकेर गर्छु भनें, आफैंमाथि प्रश्न आह्वान गरें र काम पनि गरें । तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो ? तथ्यांक हेर्नुस् ।’
दाहालले आफ्नो पालामा कीर्तिपुरको क्रिकेट रंगशाला निर्माण अघि बढेको उल्लेख गर्दै त्यसपछि ओली सरकारले काम अघि बढाउन नसकेको आरोप लगाए । ‘प्रधानमन्त्रीकै भाषामा शक्तिशाली दुई तिहाइको सरकार बनेपछि उहाँले प्रतिष्ठाको विषय बनाउँदै पहिलो निर्णय नै ३ सय दिनभित्र फ्लडलाइट र प्याराफिटसहितको अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गर्नुभयो,’ उनले भने, ‘तर, एक वर्ष बित्यो, जोडियो फ्लडलाइट ? बन्यो त प्यारापिट ?’
यसको जवाफ दिँदै प्रधानमन्त्री ओलीले मैदानमा हेर्न जान आग्रह गरे । ‘मेरो उहाँ (दाहाल) लाई आग्रह छ, बनिरहेको प्यारापिट हेर्न जानुस्, जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जानुस् । बनिरहेको छ,’ ओलीले लेखेका छन्, ‘तपाईं प्रधानमन्त्री हुँदा कुनै पनि कामलाई टाइम–लाइन तोकेर गर्छु भन्नु भएन र तपाईंले केही गर्नु पनि परेन र गर्नु पनि भएन । तपाईंका त न कुनै वाचा, न कुनै निर्णय, न कुनै संकल्प, न कुनै काम ।’
यस्तै, विगतमा प्रधानमन्त्रीकै पार्टीले सडकमा आन्दोलन गरेर रोकिएको सुरक्षा निकायको हतियार किन्ने प्रक्रिया अहिले आएर कसको स्वार्थमा अघि बढाउन खोजेको भन्दै दाहालले प्रश्न गरेका थिए । भिजिट भिसा प्रकरणमा लचिलो भए पनि पछिल्लो समयमा जालझेल हुँदै आएको उनले बताए । भिजिट भिसा प्रकरणमा छानबिनका लागि माओवादीले सरकारसँग दुईबुँदे सहमति गरेको थियो ।
‘भिजिट भिसाको विषय केवल प्रशासनिक त्रुटि मात्र नभई, गम्भीर राष्ट्रिय अनुसन्धानको विषय हो । यो समस्या लामो समयदेखि चल्दै आएको देखिन्छ,’ उनले भने, ‘यस विषयमा गहिरो र निष्पक्ष छानबिनको सर्तमा संघीय निजामती सेवा, विद्यालय शिक्षा, नागरिकतालगायत विधेयकहरू पारित गराउन सदनको अवरोध हटाएका हौं । तर दुःखका साथ भन्नुपर्छ हामीले त्यति ठूलो जिम्मेवारीका साथ विधेयक अघि बढाउने उद्देश्यमाथि आधारित भएर लिएको
पहल त्यति बेला बडो विडम्बना बन्यो ।’ संविधान संशोधन स्वार्थ केन्द्रित भएको र जनतालाई ढाँटछल गर्ने सूत्र मात्रै थियो भन्ने एक वर्षमा पुष्टि भएको पनि दाहालले आरोप लगाए ।
