त्रिशूलीको बीचमा दाउरा संकलन गरिरहेका बेला अकस्मात् बाढी आउँदा पाल्देन र उनकी पत्नी मंगली तामाङ फसेका थिए, रूख चढेर जोगिएका उनीहरूलाई तीन घण्टापछि सेनाको हेलिकोप्टरले उद्धार गर्यो
नुवाकोट — विदुर–९ स्थित १२ नम्बर धाराका ६७ वर्षीय पाल्देन र उनकी पत्नी मंगली तामाङ मंगलबार बिहान साढे ५ बजेतिर घरबाट ५ मिनेटको दूरीमा रहेको त्रिशूली नदीमा दाउरा लिन पुगेका थिए । खोलामा पुगेको केही समयमै ठूलो बाढी आयो । त्यही बाढीमा तामाङ दम्पती फसे ।
बाढी बढ्दै जाँदा उनीहरू छेवैमा रहेको सिसौको रूखमा चढे । वारि बसेका परिवारजन निरुपाय थिए । उनीहरूको रुवाबासी चल्दै थियो । उद्धारका लागि हेलिकोप्टर बोलाउन हारगुहार चल्न थाल्यो । अन्ततः साढे ८ बजेतिर नेपाली सेनाको हेलिकोप्टर आइपुग्यो । त्यसपछि उनीहरूको उद्धार भयो ।
मंगलबारै मंगलीको जन्म दिन थियो । उनी ६१ वर्षबाट ६२ वर्ष लाग्दै थिइन् । परिवार जन्म दिन मनाउने तयारीमा थियो । कान्तिपुरकर्मी साँझ ९ बजे दम्पतीको घर पुग्दा पूजापाठ चलिरहेको थियो । परिवारका सदस्य घरभरि थिए । गुरु चीज लामा पाठ पढिरहेका थिए । तामाङ दम्पतीको सातो फुकाउन पूजा लगाइएको परिवारजनको भनाइ थियो ।
पाल्देनका अनुसार पत्नी दाउरा लिन सबेरै त्रिशूली नदीतिर लागेपछि उनले पछ्याएका थिए । त्यति बेला बाढी थिएन । नदीको बीचमा दाउरा संकलन गरेर डोकामा हाल्दै गर्दा लेदो बगेर आयो । त्यही बेला कसैले सिटी बजाएको सुनियो । ‘मेरो कानले त खासै सुन्दैन । आमा (पत्नी) ले सिटी बजाउँदै छन्, छिटो–छिटो गरौं भन्दै थिइन् । एकैछिनमा ठूल्ठूला ढुंगासहितको लेदो आउन थाल्यो,’ उनले सुनाए, ‘खोला तर्न नसकिने भयो । छेउमा सिसौका रूख थिए । बलियोचाहिँ छानेर चढें तर आमा त तलै भइन् । खोला बढिरहेको थियो । आमाले नाम्लो र तीन–चार डोरी बोकेकी थिइन् । उनलाई डोरीले बाँधेर रूख चढाउँछु भन्ने सोचें ।’
त्यसपछि उनी सिसौको हाँगामा नाम्लो बाँधेर झरे । पत्नीको कम्मरमा डोरी बाँधेर माथि चढे अनि ताने । ‘आमाले भुइँ छोड्न नसकेपछि तल झरेर खुट्टामा डोरी बाँधें । त्यसपछि माथि चढेर तानें । डोरीले रूखमै उनलाई बाँधेर अड्याएँ,’ उनले सुनाए, ‘मलाई छटपटी भइरह्यो । तलमाथि गरिरहें । रूखको फेद हेरें । आमा रोइरहेकी थिइन् । मैले नरोऊ भन्दै सम्झाइरहें । पानी परेको थिएन ।’
पाल्देनका अनुसार बाढीले बगाएर ल्याएका ढुंगा सिसौको फेदमा अडिएका थिए । रूखको फेदमा अडिएका केही ढुंगा बाढीले केहीबेरमै बगाइदियो । संयोगवश बाढीले ल्याएको ठूलो मुढा रूखको फेदमा आएर तेर्सियो । त्यसले गर्दा रूख बग्नबाट जोगिएको पाल्देनको भनाइ छ ।
‘छेउका साना दुई रूख बाढीले बगाइसकेको थियो । त्यही भएर डर लाग्दै गयो । वरिपरि मान्छे जम्मा भएका रहेछन् । मैले केही देखेको थिइनँ । कसरी बच्ने भन्ने मात्र सोचिरहेको थिएँ । त्यही बेला हेलिकोप्टर कराएजस्तो लाग्यो । घडी हेर्दा साढे ८ भएको थियो,’ उनले भने, ‘हेलिकोप्टर पहिलो खेप आएर पारि बस्यो । अब त बाँचियो भन्ने लाग्यो । फेरि ठूलो हेलिकोप्टर देखें । रूखको माथि हेलिकोप्टर आयो । बल्लबल्ल एक जना फौजी भाइ हेलिकोप्टरबाट रूखमुनि पानीमै हामफाले । अनि झोलुंगेमा पेटी लगाएर हामी दुईलाई बाँधेर राखे । तल झरेका फौजी भाइ पनि त्यसैमा बसे । उड्ने बेला हामी खोलाको लेदोमा डुब्यौं तर केही भएन ।’
हेलिकोप्टरले उनीहरूलाई उद्धार गरेर अलि माथि लगेर ओरालेको थियो । ‘त्यसपछि हामीलाई आर्मीको गणमा लगे । त्यहाँबाट अस्पताल पुगेर घर आयौं,’ पाल्देनले भने, ‘यसरी बाँचिएला भन्ने लागेको थिएन । हामी दुवैले नयाँ जीवन पायौं ।’
