काठमाडौँ — 'कुलिङ पिरियड' हटाउन माग गर्दै मुख्यसचिव र सचिवहरू प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसमक्ष पुगेका छन्। मुख्यसचिव एकनारायण अर्यालको नेतृत्वमा विभिन्न मन्त्रालयका सचिवहरू अहिले सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा पुगेका छन्।
उनीहरूले हाल संसद्मा छलफलमा रहेको निजामती विधेयकमा 'कुलिङ पिरियड' नराख्न माग गर्दै डेलिगेसन दिँदै आएका छन्। संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले निजामती विधेयकमा २ वर्षको ‘कुलिङ पिरियड’ राख्ने व्यवस्था पारित गरिसकेको छ।
पदमा बहाल छँदैदेखि राजनीतिक ‘सेटिङ’ मिलाएर संवैधानिक आयोगलगायत विभिन्न राजकीय पदमा नियुक्ति लिने प्रवृत्तिको अन्त्य गर्न भन्दै सांसदहरूले दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्था गर्नुपर्ने निष्कर्षमा पुगेका थिए। उक्त व्यवस्थासहितको विधेयक राज्यव्यवस्था तथा सुशासन समितिबाट २ जेठमा सर्वसम्मतिले पारित भएको थियो।
जसका कारण उक्त व्यवस्था हटाउन माग गर्दै मुख्यसचिव र सचिवहरूले भने नेताहरूको घरदैलो गरिरहेका हुन्। यसअघि उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारमा र कांग्रेस सभापति शेरबहादुर देउवालाई बुढानीलकण्ठमा भेटेरै उक्त प्रावधान हटाउन दबाब दिएका थिए।
सत्तारूढ र प्रतिपक्ष दलका सांसदहरू प्रशासनिक तथा राजनीतिक बेथिति हटाउन ‘कुलिङ पिरियड’को व्यवस्था लागू गर्नैपर्ने पक्षमा छन् । निजामती सेवाको उच्च ओहदाबाट अवकाश पाएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक र राजनीतिक नियुक्ति नपाउने गरी ‘कुलिङ पिरियड’ राखिएकोमा सचिवहरू असन्तुष्ट छन् ।
