‘निजामतीलाई मात्र कुलिङ पिरियडले अपमान हुन्छ’

जेष्ठ ८, २०८२

ऋषिराम पौड्याल

”Civilians are only insulted by the cooling period”

पदमा बहाल छँदैदेखि राजनीतिक ‘सेटिङ’ मिलाएर संवैधानिक आयोगलगायत विभिन्न राजकीय पदमा नियुक्ति लिने प्रवृत्तिको अन्त्य गर्न दुईवर्षे ‘कुलिङ पिरियड’को व्यवस्थासहितको विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिबाट २ जेठमा सर्वसम्मतिले पारित भइसकेको छ ।

तर, संसदीय समितिबाट पारित भइसकेको ‘कुलिङ पिरियड’को व्यवस्था रोक्न मुख्य सचिव र सचिवले नेताको घरदैलो गरिरहेका छन्। किन त ?

यसै सन्दर्भमा कान्तिपुरका ऋषिराम पौडेलले मुख्य सचिव एकनारायण अर्यालसँग गरेको संक्षिप्त कुराकानी।

संघीय निजामती सेवासम्बन्धी ऐनमा दुईवर्षे ‘कुलिङ पिरियड’ राख्ने विषयमा तपाईंसहित सचिवहरूको असन्तुष्टि किन ?

पहिलो त, संसद्मा रहेको विधेयकका विषयमा निर्णय गर्ने अधिकार सांसदहरूको हो । कतिपय अवस्थामा कर्मचारीले सल्लाह दिन सक्छन् । ऐन बनाउने सवालमा त्यसभन्दा बाहेकको भूमिका कर्मचारीको रहँदैन । ‘कुलिङ पिरियड’ का विषयमा सचिव, सहसचिव धेरैले केही असन्तुष्टि जनाउनुभएको छ । मलाई पनि उहाँहरूको असन्तुष्टि जायज नै छ भन्ने लागेको हो । त्यसमा व्यक्तिगत रूपमा कुनै ‘रिजर्भेसन’ राख्नुपर्ने कुरा छैन । मुख्य कुरा ऐन बनाउँदा राज्यको एउटा पक्षलाई मात्र नभई सबैलाई बराबरी लागू हुनुपर्छ भन्ने हो । निजामतीलाई मात्र ‘कुलिङ पिरियड’को बन्देज लगाउन खोज्दा कर्मचारीले अपमान महसुस गरेका छन् ।

असन्तुष्टि जाहेर गर्नुको मुख्य कारण जागिर छाड्नेबित्तिकै नियुक्ति नपाउने भएर हो ?

३० वर्षसम्म जागिरमा रहँदासम्म ठीक हुने कर्मचारी अवकाशपछि कसरी बेठिक हुन्छ भन्ने प्रश्न सचिवहरूले उठाएका छन् । संवैधानिक रूपमा यस्तो गर्न मिल्दैन भन्ने उहाँहरूको आवाज जायज भन्न सकिन्छ । संवैधानिक निकायमा नियुक्त हुन अरूलाई दुईवर्षे ‘कुलिङ पिरियड’ नलाग्ने तर निजामतीलाई मात्र लाग्ने ऐनले बनाउँदा विभेद जन्मिने भनाइ आएको छ । निजामती सेवाका कर्मचारीको अभिभावकको हैसियतमा कतिपय विषय मैले सुन्नुपर्छ । तर संसद्ले ऐन बनाउने हो । त्यो हाम्रो अधिकार क्षेत्रको कुरा पनि होइन, अनुरोध गर्नेसम्म हो ।

सचिवहरूले प्रधानमन्त्री र कांग्रेस सभापतिलाई भेटेर दुईवर्षे ॅकुलिङ पिरियड’को प्रावधान नहटाए सामूहिक राजीनामा दिने भनेका हुन् ?

सचिवहरूले प्रधानमन्त्री र कांग्रेस सभापतिलाई भेटेर आफ्नो कुरा राखेको थाहा पाएको छु । उहाँहरूले आफूलाई लागेको विषय गुनासो गर्नु स्वाभाविक पनि हो । तर सामूहिक राजीनामा दिने कुरा मलाई थाहा छैन । कसैले व्यक्तिगत रूपमा आवेगमा आएर भनेको भए पनि सुनेको छैन । फेरि कर्मचारीले त्यस्तो कुरा गर्न मिल्दैन पनि । संसद्ले जे कानुन बनाउँछ, त्यसलाई पालना गर्ने दायित्व कर्मचारीको हो ।

‘कुलिङ पिरियड’ का सन्दर्भमा सचिवहरूले उठाएको सवाललाई कसरी सम्बोधन गर्न सकिन्छ ?

‘कुलिङ पिरियड’ राख्नु हुन्न भन्ने होइन, निजामतीलाई मात्र बन्देज लगाइएकामा बढी असन्तुष्टि हो । सरकारी सेवामा काम गरेको मान्छे सरकारी सेवामै अयोग्य हुँदैन । संवैधानिक आयोग र राजदूत सरकारी सेवा होइन र ? सबैलाई समानताको व्यवहार गर्नुपर्‍यो । हाम्रो भनाइ निजामतीलाई मात्र किन बन्देज भन्ने हो ।

राख्ने नै हो भने निजामती सेवा ऐनमा होइन, संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी ऐनमा ‘कुलिङ पिरियड’को प्रावधान राख्दा राम्रो हुन्छ । यसो गर्दा समानताको हकविपरीत हुँदैन । संविधानमा पनि निवृत्त कर्मचारीको सेवालाई उपयोग गरिने छ भन्ने उल्लेख छ । सरकारी कर्मचारी निवृत्त भएपछि आयोजना, परियोजना, दातृ निकाय, निजी फर्म आदिमा एक वर्षसम्म नियुक्ति लिन नपाउने प्रावधान विधेयकको मस्यौदामा राखेका थियौं ।

कुलिङ पिरियड

ऋषिराम पौड्याल कान्तिपुरका संवाददाता हुन् । उनी निजामती प्रशासन, संसदीय मामिला, संघीयता र राजस्वसँग सम्बन्धित रिर्पोटिङ गर्छन् ।

Link copied successfully