गभर्नर छान्न नयाँ सिफारिस समिति गठन, सदस्यमा पाण्डे

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

A new recommendation committee has been formed to select the governor, with Pandey as a member

काठमाडौँ — सरकारले गभर्नर छनोटका लागि उपप्रधान एंव अर्थमन्त्री विष्णु प्रसाद पौडेलको संयोजकत्वमा नयाँ सिफारिस समिति गठन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघिको सिफारिस समिति खारेज गरेर पुनः नयाँ समिति गठन गर्ने निर्णय गरेको मुख्य सचिव एकनारायण अर्यालले जानकारी दिए । 

उनका अनुसार अर्थमन्त्री पौडेलको प्रस्तावमा पुरानो समिति खारेज गरी नयाा गठन गरिएको हो । अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठित नयाँ समितिमा पूर्वगभर्नरमध्येबाट महाप्रसाद अधिकारी र विज्ञ सदस्यमा पोषराज पाण्डे रहेका छन् । 

यसअघिको समितिका विज्ञ सदस्य विश्व पौडेलको राजीनामा पछि सो पदमा पाण्डे आएका हुन् । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया)को व्यवस्थाअनुसार  यसअघि गत चैत ११ मा सरकारले गभर्नर सिफारिस समिति गठन गरेको थियो । 

एक महिनासम्म पनि बैठक नबसेको, गभर्नर छनोटमा समितिको भूमिका नरहेको भन्दै सुरुको समितिका सदस्य पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका थिए । त्यसपछि उनको स्थानमा सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सदस्य नियुक्त गरेको थियो । 

कांग्रेस र एमालेबीच विश्व पौडेललाई गभर्नर बनाउने सहमति भएको भनिएको छ । सोहीकारण पौडेलले समितिबाट राजीनामा दिइसकेका छन् । उनको राजीनामापछि बुधबारको मन्त्रिपरिषद्को बैठकमा विज्ञ सदस्य नियुक्त गर्ने चर्चा थियो ।

तर, अर्थमन्त्रीले पुरानो समिति नै खारेज गरेर नयाँ गठन गरौं भनेपछि सोही अनुसार गरिएको मुख्य सचिव अर्यालले बताए । समिति नै गठन पछि सरकारले(अर्थ मन्त्रालयले) फेरि सबै सदस्यलाई पत्र दिनुपर्ने हुन्छ । 

जसअनुसार बिहीबारसम्म पत्र दिइसक्ने स्रोतको दाबी छ । गत चैत २५ गते देखि राष्ट बैंकमा गभर्नर पद खाली छ । कामु गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनालाई दिइएको छ ।

गभर्नर नियुक्ति

कान्तिपुर

Link copied successfully