गभर्नर सिफारिस समितिबाट विश्व पौडेलको राजीनामा

वैशाख २८, २०८२

कान्तिपुर संवाददाता

Vishwa Paudel's resignation from the Governor's Recommendation Committee

काठमाडौँ — डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका छन् ।

उनले आज राजीनामा दिएको अर्थ मन्त्रीको सचिवालयले जनाएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका पौडेललाई कांग्रेसले गभर्नरमा प्रस्ताव गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सत्तारूढ कांग्रेस र एमालेका शीर्ष नेतृत्वसहित बसेको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नरमा पौडेलको नाम प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति देउवाबीच राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउन तीन साताअघि समझदारी भएको थियो । यही वैशाख ३ मा भएको उक्त समझदारीका आधारमा भट्टले वैशाख ५ मा कार्यकारी निर्देशकबाट राजीनामा दिएका थिए । तर, राष्ट्र बैंककी कायममुकायम गभर्नर नीलम ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगरेपछि सभापति देउवाले विकल्पमा पौडेलको नाम प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ । दुई दलीय भागबन्डामा गभर्नर कांग्रेसले लिने समझदारी छ ।

कान्तिपुर

Link copied successfully