गभर्नर तुरुन्तै नियुक्त गरियोस्

वैशाख २४, २०८२

पाठक पत्र

A governor should be appointed immediately

सरकारको आर्थिक सल्लाहकारका रूपमा लिइने केन्द्रीय बैंक अहिले नेतृत्वविहीन छ । सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्ति गर्न सकेको छैन ।

सरकारमा सहभागी दुई ठूला दलको जुँगाको लडाइँ बनेको यो पदलाई गठबन्धनको आयुसँग समेत जोडेर हेरिएको छ । देशको अर्थतन्त्र सही लयमा नहिँडेको अवस्थामा गर्भनरका लागि जुहारी चल्नु पक्कै पनि सबल र सक्षम अर्थतन्त्रका लागि सुखद हुँदै होइन । यस्तो महत्त्वपूर्ण पदमा राजनीतिक खिचातानी भएपछि सबल अर्थतन्त्रको अपेक्षा र आकांक्षा कसरी गर्न सकिन्छ ?

देशमा आर्थिक समस्या चाङका चाङ छन् र यो दिन प्रतिदिन बढ्दो छ । राजनीतिक परिवर्तन भइसकेपछि पनि आर्थिक रूपमा जनताको सबलीकरण हुन सकेन । आर्थिक शुसासनको त धज्जी नै उडेको छ । औद्योगिक, वित्तीय, व्यवसाय, कृषि, पर्यटन, रियल स्टेटजस्ता हरेक क्षेत्र शिथिल बन्दै गएको छ । युवाले देशमा भविष्य देख्न छोडिसके र सबैको लक्ष्य विदेश भएको छ । यस्तो परिवेशमा सबल र सक्षम नेतृत्व चयन गर्नुको सट्टा राजनीतिक खिचातानी हुनु झन् निराशाको आगोमा घ्यू थपेजस्तो भएन र ?

अहिले झनै सबल र सक्षम गभर्नरको आवश्यकता छ । देशको आर्थिक क्रियाकलाप नै शंकाको घेरामा छ, मुलुक एफएटीएफको ‘ग्रे लिस्ट’ मा छ, यसलाई हटाउनै पर्नेछ । नयाँ बजेट घोषणाको समय नजिकै आएको छ । मौद्रिक नीति बनाउनुपर्नेछ र सबैभन्दा बढी त देशको अर्थतन्त्रलाई चलायमान गराउनुपर्नेछ । यसमा गभर्नरको महत्त्वपूर्ण भमिका रहेको हुन्छ । वित्तीय अनुशासन, सबलीकरण र स्थायित्व कायम गर्न गभर्नरले खेल्ने भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्दैन ।

गभर्नर पद दाउमा राखेर सरकार हाँकेका राजनीतिक दलले मपाइँत्व गर्नु लज्जाको विषय हो । देशको अर्थतन्त्रको नियामक निकाय नै नेतृत्वविहीन हुनु र यसको नियुक्तिमा नाजायज चलखेल हुनु राजनीतिक अहंता हो । योग्य, सक्षम र सबल गभर्नर आजको आवश्यकता हो । राजनीतिक निराशालार्ई चिर्न र वित्तीय स्थायित्वलाई कायम राख्न, अर्थतन्त्रलाई चलायमान गराउन सरकारले गभर्नर तुरुन्त नियुक्त गरोस् ।

सुन्दर तिवारी, मध्यबिन्दु–१, नवलपुर

पाठक पत्र

Link copied successfully