गभर्नर नियुक्ति प्रक्रियामा सहजीकरण गरिदिन कामु गभर्नर तिम्सिनालाई अर्थमन्त्री पौडेलको आग्रह

वैशाख १५, २०८२

कान्तिपुर संवाददाता

Finance Minister Paudel's request to Kamu Governor Timsina to facilitate the process of appointing the governor

काठमाडौँ — नयाँ गभर्नर नियुक्ति प्रक्रियामा सहजीकरण गरिदिन उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले कायममुकायम गभर्नर निलम ढुंगाना तिम्सिनालाई आग्रह गरेका छन् ।

आइतबार अर्थमन्त्री पौडेल र कामु गभर्नर तिम्सिनाबीचको भेटमा कार्यकारी निर्देशन गुणाकर भट्टको राजीनामा स्वीकृत गरेर सहजीकरण गरिदिन आग्रह गरेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

‘आइतबार कामु गभर्नर तिम्सिनासँगको भेटमा अर्थमन्त्री पौडेलले स्पष्ट रुपमा कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत गरेर नयाँ गर्भनर नियुक्ति प्रक्रियामा सहजीकरण गर्न आग्रह गर्नु भएको छ,’ सचिवालय स्रोतले भन्यो, ‘कामु गभर्नरसँगको भेटमा वित्तीय क्षेत्रको अवस्थालगायत विषयमा छलफल भए पनि अर्थमन्त्रीले भट्टको राजीनामा स्वीकृत गरिदिएर नयाँ नियुक्ति प्रक्रियालाई सहज गरिदिन आग्रह गर्नुभएको थियो ।’

कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीबीच गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति गत साता नै भएको छ । यो सहमतिपछि अर्थमन्त्री पौडेलले भट्टलाई डाकेर राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिन आग्रह गरेका थिए । त्यसपछि यही वैशाख ५ मा भट्टले कामु गभर्नर तिम्सिनालाई राजीनामा बुझाएका थिए । 

उनको राजीनामा आइतबारसम्म स्वीकृत भएको छैन । राजीनामा स्वीकृत नभएपछि अर्थमन्त्री पौडेलले कामु गभर्नरलाई छिटो स्वीकृत गर्न आग्रह गरेको सचिवालयले बताएको छ ।

राष्ट्र बैंक स्रोतले आइतबार कामु गभर्नर तिम्सिनाको अर्थमन्त्री पौडेलसँग भेट भएको स्वीकारे पनि भट्टको राजीनामा स्वीकृतिका कुनै दबाब नआएको बताएको छ ।  

राष्ट्र बैंक ऐनअनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ । तर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदासमेत नयाँ गभर्नर नियुक्तिमा ढिला भएपछि सरकारले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कामु गभर्नरको जिम्मा दिएको थियो ।

मन्त्रिपरिषद्ले चैत ११ मा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर सिफारिस समिति गठन गरेको थियो । समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल सदस्य रहेका थिए । तर, भट्टराईले गभर्नर छनोटमा समितिको भूमिका नरहेको भन्दै गत साता राजीनामा दिएका छन् । 

भट्टराई समितिबाट बाहिरिएपछि सरकारले सबैभन्दा पहिले अर्का एक पूर्व गभर्नरलाई समिति सदस्य नियुक्त गरेर समितिलाई पूर्णता दिनुपर्छ । त्यसपछि समितिले सीफारिस गरेको तीनजनामध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई गभर्नर नियुक्त गर्छ ।

गभर्नर नियुक्ति

कान्तिपुर

Link copied successfully