‘गभर्नर सिफारिस समितिलाई रबरस्ट्याम्प बनाइयो’

सरकार गभर्नर नियुक्तिमा संवेदनशील देखिएन । आफैं गभर्नर छान्ने अनि समितिलाई सिफारिस मात्र गर्न लगाउने ‘रबर स्ट्याम्प’ मात्र बनाउन लागियो । सरकारको पनि आँखा खुलोस् भनेर समिति छोडेको हुँ ।

वैशाख १०, २०८२

कान्तिपुर संवाददाता

'Governor's recommendation committee has been made a rubber stamp'

गभर्नर छनोट सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् । समिति गठन भएको एक महिनासम्म एउटा पनि बैठक बस्न नसकेको, सत्ताधारी दलहरूबीच भागबन्डा नमिलेको र गभर्नर पदलाई मजाक बनाइएकाले आफू समितिमा बस्न नचाहेको उनको भनाइ छ ।

भट्टराईसँग कान्तिपुरले गरेको संक्षिप्त कुराकानी : 

गभर्नर सिफारिस समितिबाट राजीनामा किन दिनुभयो ? 

अर्थमन्त्रीको संयोजकत्वमा गभर्नर छनोट सिफारिस समितिलाई कानुनले गभर्नर छनोटको पूर्ण अधिकार दिएको छ । समितिले छानेर उत्कृष्ट तीन जनाको नाम सरकारलाई सिफारिस गर्ने हो । उत्कृष्ट तीनमध्ये सरकारले जसलाई गभर्नर बनाउने हो । अहिले सरकारले समितिलाई ‘कठपुतली’ बनायो । गभर्नर बनाउने व्यक्ति आफूहरूले छनोट गर्ने अनि त्यही व्यक्तिलाई समितिले सिफारिस गर भन्ने अवस्था आयो । यसकारण उक्त समितिमा बसिरहन उचित नठानेर राजीनामा दिएको हुँ । 

राजीनामा कसलाई र कसरी दिनुभयो ? 

समितिका संयोजक (उपप्रधान एवं अर्थमन्त्री) ज्यूको ह्वाट्स एपमा लिखित राजीनामा पठाएको हुँ । पछि अर्थ मन्त्रालयमा पनि पठाइदिएको छु ।

राजीनामा पठाएपछि अर्थमन्त्रीबाट के प्रतिक्रिया आयो ? 

अर्थमन्त्रीले फोन गरेर ‘किन छोड्नु भएको’ भनेर सोध्नुभएको थियो । मैले समितिको भूमिका नदेखेकाले छोडें भनिदिएँ । एक महिनासम्म एउटा बैठक पनि बस्न सक्दैन भने त्यस्तो समितिमा किन बस्नु भन्ने मेरो भनाइ हो । 

समितिको सदस्यमा नियुक्त गर्दा त अस्वीकार गर्नुभएको थिएन ? 

समितिले स्वतन्त्र रूपमा काम गर्न पाउला र त्यसमा मेरो पनि योगदान रहला भनेर स्वीकार गरेको हुँ । त्यो अवस्था नदेखेपछि राजीनामा दिएँ ।

तपाईंले चाहेको भूमिका कस्तो हो ? 

कानुनअनुसार समितिले स्वतन्त्र रूपले काम गर्न पाउनुपर्‍यो । सरकारबाट हस्तक्षेप हुनुभएन भन्ने हो । गभर्नर राजनीतिक भागबन्डा लगाउने पद होइन । मेरो तेरो मान्छे भनेर रस्साकसी गर्नु हुँदैन । परिस्थिति आकलन गरेर राम्रो, अनुभवी र सक्षम मान्छेलाई गभर्नर बनाउनुपर्छ ।

तर, सरकार गभर्नर नियुक्तिमा संवेदनशील देखिएन । आफैं गभर्नर छान्ने अनि समितिलाई सिफारिस मात्र गर्न लगाउने ‘रबर स्ट्याम्प’ मात्र बनाउन लागियो । सरकारको पनि आँखा खुलोस् भनेर समिति छोडेको हुँ । गलत मान्छे छनोट भयो भने त्यसको अपजस समितिले बोक्नुपर्छ । तर, समितिले गभर्नर छनोट सिफारिस गर्न पाउँदैन । समितिलाई देखाएर सरकारले मनमौजी गर्नु भएन ।

कान्तिपुर

Link copied successfully