काठमाडौँ — सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोट सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकले बुधबार सिफारिस समिति सदस्यमा अधिकारीलाई नियुक्त गरेको गृहमन्त्री रमेश लेखकले जनाए । यससँगै समिति पूर्ण भएको र गभर्नर छनोटको काम अघि बढ्ने उनको भनाइ छ ।
गत चैत २४ मा अधिकारी पाँचवर्षे कार्यकाल पूरा गरी सेवानिवृत्त भएका थिए । सरकारले गत चैत ११ (गभर्नरको कार्यकाल नसकिँदै) गभर्नर सिफारिस समिति गठन गरेको थियो ।
उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वको सिफारिस समितिमा पूर्वगभर्नरका रूपमा विजयनाथ भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य थिए । तर गत साता गभर्नर छनोट सिफारिस समितिको भूमिका नरहेको भन्दै भट्टराईले राजीनामा दिएपछि उक्त पद खाली थियो ।
गभर्नर छनोटका विषयमा अर्थ–राजनीतिक बजारमा चर्चा–परिचर्चा चुलिए पनि सिफारिस समितिको बैठक झन्डै एक महिनादेखि बसेको छैन । सत्तारूढ दल कांग्रेस र एमालेबीच कसको गभर्नर बनाउने भन्ने रस्साकसी नटुंगिएकाले सिफारिस समितिको बैठक बस्न नसकेको हो । बैठक बस्न नसक्दा समितिका सदस्यले यसअघि पनि असन्तुष्टि जनाउँदै आएका थिए ।
नयाँ गभर्नर नियुक्तिमा ढिलाइ हुने भएपछि अर्थमन्त्री पौडेलले डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिनालाई कामु गभर्नरको जिम्मा दिएका छन् । यसैबीच राष्ट्र बैंकको गभर्नरमा ६५ वर्ष नाघेका व्यक्तिले नियुक्ति नपाउने भएका छन् ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र बालकृष्ण ढकालले ‘अर्थ मन्त्रालयसम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयनसम्बन्धी मापदण्ड २०७३’ कार्यान्वयन गर्ने रोक लगाएसँगै गभर्नर नियुक्तिमा ६५ वर्ष नाघेका व्यक्तिले नियुक्ति नपाउने भएका हुन् ।
अधिवक्ता विशाल थापालगायतले दायर गरेको रिटमा न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई बुधबार निरन्तरता हुने आदेश दिइएको हो ।
