भारतीय सेनाले पाकिस्तानले तीव्र गतिको क्षेप्षास्त्र प्रहार गरेको दाबी गरेको छ । शनिबार बिहानको प्रेस ब्रिफिङका भारतीय सेनाकी कर्नेल सोफिया कुरैशी शुक्रबार राति १ बजेर ४० मिनेट जाँदा तीव्र गतिको क्षेप्यास्त्र प्रहार गरेको बताएकी हुन् । उनले उक्त क्षेप्यास्त्र भारतले निष्क्रिय गराइदिएको पनि बताइन् ।
(09:27 AM)
अमेरिकी विदेशमन्त्री र पाकिस्तानी सेना प्रमुखबीच फोन वार्ता
पछिल्ला दिनमा जारी भारत-पाकिस्तान तनावको विषयलाई लिएर अमेरिकी विदेशी मन्त्री मार्को रुबियो र पाकिस्तानी सेना प्रमुख असिम मुनिरबीच फोन वार्ता भएको छ ।शनिबार बिहान भएको कुराकानीमा अमेरिकी विदेशमन्त्री रुबियोले दुवै पक्षलाई संयम अपनाउन आग्रह गरेको मन्त्रालयले जनाएको छ । अमेरिकी उपराष्ट्रपती जेडी भान्सले भने दुई दक्षिण एसियाली देशबीचको तनावमा अमेरिका संलग्न नहुने प्रतिकृया दिएका छन् । उनले फक्स न्युजसँगको अन्तरवार्तामा ‘यो हाम्रो सरकारको विषय नै होइन’ बताएका हुन् । तथापि, दुई देशलाई संयमता अपनाउन अमेरिकाले प्रोत्साहन गर्ने उनको भनाइ थियो ।
(07:36 AM)
भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको पाकिस्तानी सेनाको दाबी
पाकिस्तानको सरकारी टिभी र फौजको जनसम्पर्क विभागले भारतविरुद्ध जवाफी कारबाही सुरु गरेको बताएका छन् ।भारतले आफ्ना तीनवटा सैन्य अड्डालाई निशाना बनाएको पाकिस्तानले आरोप लगाएको थियो । पाकिस्तानी फौजको जनसम्पर्क विभाग आईएसपीआरका अनुसार पाकिस्तानले जवाफी कारबाहीलाई ‘अप्रेशन बुनयान मरसूस’ नाम दिएको छ । भारतले पाकिस्तानको यो दाबीलाई लिएर अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले आफ्ना तीन सैन्य अड्डालाई निशाना बनाएको विषयमा जवाफी कारबाही गर्ने बताएका छन् । पाकिस्तानी डिफेन्स सिस्टमले भारतले प्रहार गरेका अधिकांश मिसाइल खसालेको उनको दाबी छ। देशको सेना पूरै तरिकाले तयार रहेको उनको भनाइ छ । पाकिस्तानले दाबी गरेका सैन्य अड्डाहरुमा रावलपिण्डी, नूर खान जस्ता रहेका छन् । जो पाकिस्तानको राजधानी इस्लामाबादबाट १० किलोमिटरको दूरीमा छन् ।
(06:34 AM)
पाकिस्तानले ४ सय ड्रोन प्रहार गरेको भारतको दाबी, इस्लामाबादले गर्यो अस्वीकार
भारत र पाकिस्तानबीचको तनाव शुक्रबार पनि कायमै रह्यो । भारतको जम्मु–कश्मीरस्थित पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव उत्कर्षोन्मुख छ । कश्मीरमा २६ पर्यटकको ज्यान लिने गरी भएको आक्रमणको जवाफमा भारतले ‘अपरेसन सिन्दूर’ नाम दिएर पाकिस्तान नियन्त्रित कश्मीर र भित्री पाकिस्तानसमेत सुरु गरेको हो । जवाफमा पाकिस्तानले पनि बिहीबार साँझ भारतका विभिन्न स्थानमा ३ सयदेखि ४ सय ड्रोन आक्रमण गरेको भारतीय सैन्य अधिकारीहरूले दाबी गरेका छन् । भारतले सुरु गरेको ‘अपरेसन सिन्दूर’ पछि त्यस हमलामा महिला र बालबालिकासहित ३१ जना निर्दोष नागरिक मारिएको प्रतिक्रिया दिँदै पाकिस्तानले पनि जवाफी कारबाही गरेको बताएको छ । भारत र पाकिस्तानबीच दशकौंपछि द्वन्द्व चरमोत्कर्षमा पुगेसँगै विवादित कश्मीरका सीमामा दुवैतर्फ आक्रमणमा परी सर्वसाधारणहरू हताहत भइरहेका छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार राति पाकिस्तानले ३/४ सयवटा ड्रोन आक्रमण गरेको जनाएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरैसीले बिहीबार राति भारतका विभिन्न ३६ स्थानमा पाकिस्तानले ड्रोन आक्रमण गरेको जानकारी दिएकी हुन् । ‘लेहदेखि सरक्रिकसम्म ३६ ठाउँमा ३/४ सय ड्रोनका माध्यमबाट घूसपैठको प्रयास भयो । भारतीय सुरक्षा बलले काइनेटिक र ननकाइनेटिक उपकरण प्रयोग गरी थुप्रै ड्रोन खसाले,’ कर्नेल कुरैसीले ब्रिफिङमा भनिन् । पाकिस्तानले भने भारतीय पक्षले लगाएको आरोप खण्डन गर्दै आएको छ ।
भारतको उरीस्थित सलमाबादमा पाकिस्तानले गरेको सेलिङका कारण ध्वस्त भएको घर । तस्बिर : एएफपी
(07:15 PM)
जम्मू-कश्मीरका उपराज्यपाल भन्छन् : हामीलाई नयाँ बंकर आवश्यक छ
जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिन्हाले राज्यमा नयाँ बंकरको आवश्यकता रहेको बताएका छन् । जम्मू-कश्मीरको उरी क्षेत्रको अनुगमनपछि उपराज्यपाल सिंहले सर्वसाधारणलाई कुनै समस्या नहोस् भनेर कश्मीर प्रशासनले ध्यान दिएको बताएका हुन् । घाइते भएकालाई उपचारको व्यवस्था र मृतकका परिवारलाई सहयोग गर्ने पनि उनले जनाएका छन् । उनले भनेका छन्, 'एउटा कुराचाहिँ नयाँ बंकर आवश्यक देखियो । आगामी दिनमा ती पनि बनाइन्छन् ।'
भारत-पाकिस्तान द्वन्द्व चर्किइरहेका बेला नेपाल आयल निगमले इन्धन आपूर्तिमा कुनै समस्या नभएको बताएको छ । निगमका प्रवक्ता मनोज ठाकुरले अहिलेसम्म आयात र वितरण प्रणालीमा कुनै अवरोध नभएको बताए । उनले भने, 'हामीले मागेअनुसार इन्डियन आयल कर्पोरेसन लिमिटेड (आईओसी)ले ग्यास र पेट्रोल डिजेल पठाइरहेको छ ।'आईओसीले पनि शुक्रबार दिउँसो सामाजिक सञ्जालमार्फत इन्धन आपूर्तिमा कुनै समस्या नहुने भन्दै सर्वसाधारणलाई नआत्तिन अपिल गरेको छ । आईओसीले भनेको छ, 'देशभर पेट्रोल, डिजेल र एलपीजी ग्यासको पर्याप्त भण्डारण छ ।...हामी तपाईंहरूलाई यो आग्रह गर्छौं कि आत्तिएर अतिरिक्त खरिद नगर्नुहोला ।' आपूर्ति शृंखला पनि पहिलेकै जसरी सञ्चालित भइरहेको आईओसीको भनाइ छ ।
(06:44 PM)
पाकिस्तानले बिहीबार राति ३/४ सय ड्रोन आक्रमण गर्यो : भारत
भारतीय विदेश मन्त्रालयले बिहीबार राति पाकिस्तानले ३/४ सय वटा ड्रोन आक्रमण गरेको जनाएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा कर्नेल सोफिया कुरैशीले बिहीबार राति भारतका विभिन्न क्षेत्रमा पाकिस्तानले ड्रोन आक्रमण गरेको जनाएकी हुन् । कर्नेल कुरैशीले ब्रिफिङमा भनिन्, 'लेहदेखि सरक्रिकसम्म ३६ ठाउँमा ३००-४०० ड्रोनका माध्यमबाट घुसपैठको प्रयास भयो । भारतीय सुरक्षा बलले काइनेटिक र ननकाइनेटिक उपकरण प्रयोग गरी थुप्रै ड्रोन खसाले । '
(06:38 PM)
नेपालीहरूलाई सतर्क रहन दिल्लीस्थित दूतावासको अनुरोध
भारत-पाकिस्तान द्वन्द्व चर्किंदै जाँदा भारतमा रहेका नेपाली नागरिकलाई सतर्क रहन दिल्लीस्थित नेपाली दूतावासले अनुरोध गरेको छ। दूतावासले शुक्रबार दिउँसो सूचना जारी गर्दै भारतमा रहेका नेपालीहरूलाई सचेत र सुरक्षित रहन आग्रह गरेको हो । साथै,भारत सरकारका आधिकारिक निकायबाट जारी भएका सुरक्षासम्बन्धी निर्देशनहरूको पालना गर्न पनि सबै नेपालीलाई सूचनामार्फत आग्रह गरिएको छ।
नयाँदिल्लीस्थित नेपाली राजदूतावास ।
(04:47 PM)
पाकिस्तानमा रहेका विद्यार्थीसहित सबै नेपालीसँग सम्पर्कमा छौँ : परराष्ट्र मन्त्रालय
परराष्ट्र मन्त्रालयले पाकिस्तानमा रहेका नेपाली विद्यार्थी र सबै नेपालीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ । शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयले भारत-पाकिस्तान द्वन्द्व चर्किँदै गएका बेला पाकिस्तानमा रहेका नेपालीको सुरक्षाप्रति सरकार पूर्ण रूपमा सचेत रहेको जनाएको छ । मन्त्रालयले तत्काल कुनै सहयोग चाहिएमा इस्लामाबादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।
जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले पाकिस्तानलाई बन्दुक बिसाउन सल्लाह दिएका छन् । शुक्रबार पत्रकारहरूसँग कुराकानी गर्दै मुख्यमन्त्री अब्दुल्लाहले पाकिस्तानले सर्वसाधारणलाई निशाना बनाइराखेको बताएका हुन् । उनले सन् १९७१ को युद्धपछि जम्मू सहरलाई यसरी निसाना बनाइएको पनि उनको भनाइ छ । 'मलाई लाग्दैन कि सन् १९७१ पछि कहिल्यै जम्मू सहरलाई यसरी निसाना बनाइएको थियो ।'
भारत-पाकिस्तानबीचको द्वन्द्वले दुवैतर्फका क्रिकेट लिग पनि प्रभावित भएका छन् । पाकिस्तान सुपर लिग(पीएसएल) का बाँकी खेल दुबईमा सारिएको छ । त्यस्तै इन्डियन प्रिमियर लिग तत्कालका लागि १ हप्ता पछाडि धकेलिएको छ। भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले तत्काल १ हप्ताका लागि खेल स्थगित गरिएको जनाएको छ । खेलको नयाँ तालिका र स्थान पछि सार्वजनिक गरिने पनि बीसीसीआईले जनाएको छ ।
(03:09 PM)
सिन्धु जल सन्धि मामिलामा सहजकर्ताबाहेक हाम्रो केही भूमिका हुँदैन : विश्व बैंक प्रमुख बांगा
अन्तर्राष्ट्रिय वित्तीय संस्था, विश्व बैंक समूहका अध्यक्ष अजय बांगाले सिन्धु जल सन्धीका विषयमा आफूहरूले सहजकर्ताबाहेक थप कुनै भूमिका निर्वाह गर्न नसक्ने बताएका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार विश्व बैंकले समस्या समाधान गर्नेबारे अनेक अड्कलबाजी भइरहे पनि आफूहरू सहजकर्ता मात्रै भएको उनले बताएका हुन् । पहलगाममा एकजना नेपालीसहित २६ जनाको ज्यान लिनेगरी भएको आतंकवादी हमलापश्चात भारतले पाकिस्तानसँगको यो सम्झौता पहिलोपटक निलम्बन गर्ने घोषणा गरेको थियो । यसमा पाकिस्तानले आपत्ति जनाएको छ । सन् १९६० मा भारत र पाकिस्तानले ९ वर्ष लामो वार्तालापपछि यस सन्धिमा हस्ताक्षर गरेका थिए । त्यसको मध्यस्थकर्ता विश्व बैंक समूहले गरेको र त्यसमा बैंक पनि एक हस्ताक्षरकर्ता रहेको छ ।
पाकिस्तानी सरकारी सञ्चारमाध्यम PTV ले पाकिस्तानले हालसम्म कुल ७७ वटा भारतीय ड्रोन खसालेको दाबी गरेको छ । सुरक्षा स्रोतलाई उद्धृत गर्दै PTV ले भनेको छ, 'मे ८ तारिखको साँझसम्म पाकिस्तानले २९ वटा भारतीय ड्रोन खसालेको थियो, भने त्यसपछि एकै रातमा थप ४८ ड्रोन नष्ट गरिएको छ ।'
(02:43 PM)
नेपाल-भारत सीमा क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकलाई चीनको आग्रह
नेपालस्थित चिनियाँ दूतावासले आफ्ना नागरिकलाई नेपाल-भारत सीमा क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ । दूतावासले आफ्नो वि-च्याट च्यानलमा एक विज्ञप्ति प्रकाशित गर्दै उक्त सल्लाह दिएको रोयटर्स, अलजजिरा लगायतका अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् । भारत र पाकिस्तानबीचको तनावपूर्ण अवस्थालाई उल्लेख गर्दै दूतावासले नेपालमा रहेका आफ्ना नागरिकलाई नेपाल-भारत सीमा क्षेत्र नजान र भारतीय भूमिमा जानुअघि सावधानी अपनाउन आग्रह गरेको छ । विज्ञप्तिमा नेपाल भारत दुवै देशले सीमा क्षेत्रमा सुरक्षा कडा पारेको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, 'नेपाल र भारतबीचको सीमा खुला छ र प्रस्ट रूपमा चिह्न लगाइएको छैन । भारतको भिसा भए पनि झुक्किएर भारतीय भूमिमा प्रवेश नगर्नुहोस् ।'
भारत-पाकिस्तान द्वन्द्व चर्किँदै जाँदा भारतको स्वास्थ्य पूर्वाधार अवस्था र पूर्वतयारीका विषयमा संघीय स्वास्थ्य मन्त्री जेपी नड्डाले स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीहरूसँग छलफल गर्ने एएनआईले जनाएको छ । वित्तमन्त्री निर्मला सीतारमणले आज साँझ नै बैंक तथा वित्तीय संस्थाहरूको साइबर सुरक्षा तयारीबारे समीक्षा बैठक गर्न लागेको एनडीटीभीको समाचारमा उल्लेख छ । गृहमन्त्री अमीत शाह केही बेरमै भारतीय अर्धसैनिक बलका महानिर्देशकसँग सीमा स्थितिको समीक्षा बैठकमा उपस्थित हुँदै छन् । भारतको पश्चिमी सिमाको सुरक्षा अवस्था, भारतीय सैन्य बलको तत्परतालगायत विषयमा रक्षा मन्त्री राजनाथ सिंहले केहीबेर अघि साउथ ब्लकमा आयोजित बैठकको अध्यक्षता गरेका थिए ।
पाकिस्तानसँगको द्वन्द्व चर्किइरहेका बेला भारत सरकारले त्यहाँको महत्त्वपूर्ण अनलाइन सञ्चार माध्यम द वायरलाई ब्लक गरेको छ । द वायरले शुक्रबार एक वक्तव्य जारी गर्दै भारतभर thewire.in को पहुँचमा अवरुद्ध गरेको जनाएको छ ।
(01:35 PM)
'पाकिस्तानमा हवाई उडान प्रभावित हुँदा हजयात्री र अन्तर्राष्ट्रिय यात्रु मर्कामा'
भारतीय ड्रोन आक्रमणका कारण पाकिस्तानको हवाई ट्राफिक प्रणालीमा गम्भीर असर पर्नुका साथै हज धार्मिक यात्री र अन्तर्राष्ट्रिय यात्रुलाई मर्का परेको स्थानीय सञ्चारमाध्यम दि एक्प्रेस ट्रिब्युनले उल्लेख गरेको छ । बिहीबार लाहोर, इस्लामाबाद, कराची र अन्य विमानस्थलका दर्जनौं आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान रद्द एवं डाइभर्ट गरिएका थिए । दोहा, टर्की, क्यानडा र अन्य देशबाट पाकिस्तान आउने उडान पनि डाइभर्ट गरिएको समाचारमा उल्लेख छ । पाकिस्तान विमानस्थल प्राधिकरणले बिहीबार दिनभर पाकिस्तानी हवाई क्षेत्र बेलाबेला खोल्ने र बन्द गर्ने गरेको थियो । अरब न्युजका अनुसार सन् २०२५ मा पाकिस्तानले हज यात्राका लागि १ लाख ७९ हजार २ सय १० जनाको कोटा पाएको छ ।
(01:04 PM)
पाकिस्तानमा बनेका सबै ओटीटी कन्टेन्ट प्लाटफर्मबाट हटाउन भारतको अनुरोध
नेटफ्लिक्स, डिज्ने, स्पटिफाई, एप्पल म्युजिकजस्ता भारतमा सञ्चालित सबै ओटीटी तथा स्ट्रिमिङ प्लाटफर्महरूलाई पाकिस्तानमा बनेका सम्पूर्ण कन्टेन्ट हटाउन भारत सरकारले अनुरोध गरेको छ । बिहीबार ६ बुँदे निर्देशिका जारी गर्दै भारतको सूचना तथा प्रसारण मन्त्रालयले पहलगाम आक्रमणपश्चात राष्ट्रिय सुरक्षालाई प्राथमिकता दिइएको र पाकिस्तानमा सिर्जना भएका सम्पूर्ण कन्टेन्ट हटाउन निर्देशन दिएको उल्लेख गरेको थियो । ‘भारतमा सञ्चालन भइरहेका सबै ओटीटी प्लाटफर्म, मिडिया स्ट्रिमिङ प्लाटफर्म तथा इन्टरमिडिएरीहरूलाई पाकिस्तानमा बनेका वेब सिरिज, फिल्म, गीत, पडकास्ट तथा अन्य कन्टेन्ट तत्काल हटाउन सुझाव दिइएको छ,’ मन्त्रालयको सूचनामा भनिएको छ । यसअघि भारतले पाकिस्तानी सेलेब्रिटीहरूको सामाजिक सञ्जाल ह्यान्डल भारतमा ब्लक गरिदिएको थियो । पाकिस्तानले पनि सोही किसिमले प्रतिवाद गरेको छ ।
भारत-पाकिस्तान द्वन्द्व चर्किँदा १८औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड(बीसीसीआई) ले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आईपीएल स्थगित गर्ने निर्णय गरेको हो । बीसीसीआईले औपचारिक रूपमा केहीबेरमा यसबारे जानकारी दिने छ । बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरक्षाको कारण देखाउँदै स्थगित गरिएको थियो ।
(01:02 PM)
सैन्य अखडाहरुमा ड्रोन र मिसाइल आक्रमण भएको भारतीय दाबी, पाकिस्तानद्वारा अस्वीकार
भारतीय सशस्त्र बलले भारत प्रशासित कश्मिरको जम्मु र उधमपुर, तथा पञ्जाब राज्यको पठानकोटस्थित सैन्य अखडाहरुमा ड्रोन र मिसाइल आक्रमण भएको दाबीलाई अस्वीकार गरेको छ । यस घटनामा कुनै मानवीय क्षति भएको सूचना प्राप्त नभएको अलजजिराले जनाएको छ ।पाकिस्तानका सूचना तथा प्रसारणमन्त्री अत्ता उल्लाह तारारले भारतका आक्रमणहरूका विरुद्धमा पाकिस्तानले अहिलेसम्म मात्र 'रक्षात्मक प्रतिक्रिया' दिएको बताएका छन् । पाकिस्तान सेनाले भनेको छ कि भारतले बिहीबार पाकिस्तानमा आक्रमणकारी ड्रोन पठाएको थियो, जसका कारण कम्तीमा दुई जना नागरिकको मृत्यु भएको छ ।
(12:53 PM)
भारतसँग जोडिएका बर्दियाका खुला नाकामा विशेष निगरानी
बर्दियास्थित भारतसँग जोडिएका खुल्ला सिमा नाकामा विशेष निगरानी बढाइएको छ । भारतसँग जिल्लास्थित रहेको ८३ किलोमिटर खुला नाकाका मुख्य तथा सहायक नाकामा सुरक्षा निकायले निगरानी बढाएको हो । घुसपैठ नहोस् भनी उक्त नाका भएर नेपालबाट भारततर्फ र भारततर्फबाट नेपालतर्फ आवागमन गर्ने नागरिकमाथि सुरक्षा निकायले जाँच बढाएको छ । नाकाबाट आवागमन गर्ने नागरिकको परिचय खुल्ने कागज अध्ययन गरि छोडिएको छ । त्यसैगरी खुला नाकाबाट ओहोरदोहोर गर्ने नागरिकको दैनिक अभिलेख राख्ने काम सुरक्षा निकायले गरेको छ । मुख्य नाका मूर्तिहासहित १९ वटा सहायक नाकाका चेक प्वाइन्ट, गस्ती र पेट्रोलिङ बढाइ विषेश सुरक्षा सतर्कता र निगरानी बढाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गणका गणपति मानबहादुर शाहीले बताए । ‘नेपालबाट भारततर्फ जाने नेपालीलाई परिचय खुल्ने कागज बोकेर जान सचेत गराइरहेका छौं,’ उनले भने,‘त्यसैगरी पारीबाट आउनेलाई परिचय खुल्ने कागजपत्र हेरेर मात्र छोड्ने गरेका छौं ।’ नाकामा पहिलाकोभन्दा दोब्बर सुरक्षाकर्मी परिचालन गरेर सतर्कता बढाइएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र काउन्टर पार्ट एसएसबिसहितको संयुक्त टोलीले सिमामा गस्ती पेट्रोलिङ गरि निगरानी बढाइएको गणपति शाहीले जनाए । जिल्ला सुरक्षा समितिको बैठक राखी सीमा नाकामा सुरक्षा सतर्कता बढाइएको सहायक प्रमुख जिल्ला अधिकारी रोशनकुमार कठायतले जानकारी दिए ।
(12:36 PM)
भारतीय सेनाका चेकपोस्ट ध्वस्त पारेको पाकिस्तानको दाबी
पाकिस्तानी सेनाले भारतीय सेनाका थुप्रै चेकपोस्टहरु ध्वस्त पारेको दाबी गरेको छ । सीएनएनले पाकिस्तानी सुरक्षा स्रोतलाई उदृत गर्दै कश्मिरको विवादित सीमा क्षेत्रमा भारतको तर्फबाट गरिएको गोलीबारीको प्रतिकारस्वरूप पाकिस्तानी सेनाले ती चेकपोस्टहरू नष्ट गरेले उल्लेख गरेको छ ।पाकिस्तानी सेनाले लाइन अफ कन्ट्रोलका छ भारतीय चेकपोस्टहरू ध्वस्त पारेको सीएनएनले जनाएको छ । लाइन अफ कन्ट्रोलले कश्मिरको विवादित क्षेत्रलाई दुई भागमा बाँडेको छ।स्रोतले ध्वस्त भएको भनिएको चेकपोस्टहरू कुन कुन ठाउँका थिए र त्यहाँ कतिबेलाबाट गोलीबारी सुरु भएको भन्ने विवरण भने सार्वजनिक भएको छैन ।कुन ठाउँमा थिए र कहिले दुवै पक्षबाट गोलीबारी सुरु भएको भन्ने विवरण भने सार्वजनिक गरेन ।
भारत र पाकिस्तानबीचको द्वन्द्व चर्किएसँगै भारतभरका विमानस्थलमा सुरक्षा सतर्कता कडा बनाइएको छ । भारतका व्यवसायिक एयरलाइन्सहरूले यात्रुलाई सावधानी अपनाउन भनेका छन् ।एयर इण्डियाले नागरिक उड्डयन सुरक्षा ब्युरोले सबै एयरलाइन्स र विमानस्थललाई सुरक्षा उपायहरू कडा पार्न निर्देशन दिएको जनाएको छ ।एयर इण्डियाले आफ्नो एक्स (ट्विटर) मा विमानस्थलमा सुरक्षा उपाय कडा पार्न जारी गरिएको निर्देशनलाई पालना गर्नका लागि भारतभरका यात्रुलाई आफ्नो उडान तालिकाअघि कम्तीमा तीन घण्टा पहिल्यै विमानस्थलमा उपस्थित हुन भनेको छ । एयर इण्डियाको पोस्टमा लेखिएको छ, 'भारतभरका यात्रुहरूलाई आफ्नो निर्धारित उडान समयभन्दा कम्तीमा तीन घण्टा अगाडि विमानस्थलमा पुग्न सुझाव दिइन्छ, ताकि चेक–इन र बोर्डिङ प्रक्रियामा सहज होस् ।'इन्डिगो एयरलाइन्सले सबै विमानस्थलमा सुरक्षा सतर्कता कडा पारिएको उल्लेख गर्दै एक्समा लेखेको छ, 'यात्राको लागि सुरक्षासम्बन्धी प्रक्रिया र औपचारिकताहरूमा समय लाग्न सक्ने भएकाले कृपया अतिरिक्त समय छुट्याएर आउनुहोस् ।' इन्डिगोले जारी परिस्थितिका कारण श्रीनगर, जम्मु, अमृतसर, जोधपुर, राजकोटका उडानहरु रद्द गरेको छ ।दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलले उडान सञ्चालन सामान्य रूपमा चलिरहेको भएपनि हवाई क्षेत्रको अवस्थाका कारण केही उडान तालिकामा असर पर्न सक्ने जनाएको छ ।सीएनएनले भारतीय प्रहरीका एक उच्च अधिकारीलाई उदृत गर्दै भारतका उत्तर र उत्तरपश्चिम क्षेत्रका २० भन्दा बढी विमानस्थल शनिबारसम्म बन्द रहने जनाएको छ ।
अल इन्डिया रेडियोले जनाएअनुसार योसँगै उत्तरी र पश्चिमी भारतका २४ वटा विमानस्थल बन्द गरिएका छन् ।भारत–पाकिस्तान युद्ध चर्किँदै गएपछि राजस्थानको कृष्णगढ, हिमाचल प्रदेशको कुल्लु र लुधियाना विमानस्थल बन्द गरिएका हुन् ।
(12:18 PM)
पाकिस्तानी सैन्य बलले पश्चिमी सीमानामा निरन्तर कैयौँ आक्रमण गरे : भारतीय सेना
पाकिस्तानी सशस्त्र समूहले बिहीबार र शुक्रबार राति पश्चिमि सीमाहरूमा ड्रोन र अन्य युद्ध सामग्री प्रयोग गर्दै एकभन्दा धेरै आक्रमण गरेको भारतीय सेनाले दाबी गरेको छ । सेनाले एक्समा पोस्ट गर्दै पाकिस्तानी फौजले जम्मु कश्मिरस्थित लाइन अफ कन्ट्रोल (एलओसी) मा पनि कैयौँपटक युद्धविराम उल्लंघन गरेको जनाएको छ ।
(12:07 PM)
अन्तर्राष्ट्रिय साझेदारसँग पाकिस्तानले गर्यो आर्थिक सहायताका लागि अपिल
भारतसँगको बढ्दो तनावबीच पाकिस्तानको आर्थिक मामिला विभागले अन्तर्राष्ट्रिय साझेदारहरूलाई थप ऋण सहायताका लागि अपिल गरेको छ । सामाजिक सञ्जाल प्लाटफर्म एक्सको पोस्टमा पाकिस्तानले भारतका तर्फबाट ‘गम्भीर क्षति’ भएको दाबी गर्दै आफ्ना मित्र राष्ट्रहरूलाई आर्थिक सहायता उपलब्ध गराउन अनुरोध गरेको हो । भारतले भने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँगको छलफलमा पाकिस्तानलाई दिइने ऋण कार्यक्रमहरूको पुनरावलोकन गर्न आग्रह गर्ने तयारी गरेको छ । पाकिस्तान अहिले भुक्तानी असन्तुलन र विदेशी मुद्रा सञ्चितिमा आएको गिरावट लगायत कारणले गम्भीर आर्थिक समस्यामा छ । पाकिस्तानले चीन, साउदी अरेबिया र यूएई लगायतका अन्तर्राष्ट्रिय ऋणदाताहरूबाट ऋण प्राप्त गरिसकेको भए पनि अझै आर्थिक स्थायित्व कायम गर्न थप सहयोगको खोजीमा छ ।
तस्बिर : एएफपी
(08:50 PM)
भारत–पाकिस्तान तनावले नेपालका अन्तर्राष्ट्रिय उडान प्रभावित
भारत र पाकिस्तानबीचको द्वन्द्व चर्किएसँगै दक्षिण एशियाली आकाशमा तनाव देखिएको छ । यस्को असर बुधबार यता युरोप र मध्यपूर्वबाट नेपाल आउने उडानमा पनि परेको छ ।युरोप–एशियामा पर्ने टर्की अनि मध्यपूर्वको कतार, दुबई, कुबेत, साउदी अरबलगायत मुलुकबाट नेपाल आउने दैनिक १५ र फर्किने पनि १५ हाराहारी उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।
(08:30 PM)
भारतीय प्रधानमन्त्री मोदीद्वारा सतर्कताका लागि आह्वान
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले पाकिस्तानमाथि ‘अपरेसन सिन्दूर’ सुरू गरेयताको पहिलो टिप्पणीमा ‘निरन्तर सतर्कता’ का लागि आह्वान गरेका छन् ।प्रधानमन्त्री मोदीले आफ्नो देश र पाकिस्तानबीचको तनाव बढेपछि पहिलोपटक ‘निरन्तर सतर्कता र स्पष्ट संचार’ को लागि आह्वान गरेका हुन् । बिहीबार मन्त्रीहरूसँगको उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै मोदीले आफ्नो छिमेकीसँगको शत्रुताको सामना गर्न बलियो आन्तरिक समन्वय र लचिलोपन आवश्यक रहेकोमा जोड दिएका सिएनएनले जनाएको छ । यसअघि, भारतीय रक्षामन्त्री राजनाथ सिंहले राजनीतिक नेताहरूसँगको बैठकमा पाकिस्तानस्थित आतंककारी अखडालक्षित भारतको सैन्य कारबाही ‘जारी रहेको’ बताएका थिए ।
(07:41 PM)
द्वन्द्व चर्किए पनि भारत र पाकिस्तानबीच सम्पर्क कायमै
आपसमा तनाव बढे पनि भारत र पाकिस्तानबीचको कुटनीतिक सम्पर्क भने खुला नै रहेको दुवै देशका सञ्चारमाध्यमहरूले जनाएका छन् । पाकिस्तानी विदेशमन्त्री इशाक डारले दुवै देशका राष्ट्रिय सुरक्षा सल्लाकारको कार्यालयबीच सम्पर्क कायमै रहेको बताएका हुन् । त्यस्तै उनले दुवै देशका सैन्य सञ्चालन महानिर्देशकबीचको हटलाइन पनि चलिरहेको बताएका छन् । अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकारसमेत रहेका विदेशमन्त्री मार्को रुबियो र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलबीचको कुराकानीपछि भारत र पाकिस्तान सम्पर्कमा रहेको इन्डियन एक्सप्रेसले जनाएको छ ।
(07:28 PM)
पाकिस्तानको पञ्जाब प्रान्तका विद्यालय दुई दिन बन्द
भारतसँगको तनाव बढ्दै गएसँगै पाकिस्तानको पञ्जाब प्रान्तका विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । पञ्जाब सरकारले शुक्रबार र शनिबार सबै विद्यालय बन्द राख्न आदेश दिएको हो । तर ओ-लेभल र ए-लेभलका परीक्षा भने तोकिएकै तालिका अनुसार नै जारी रहने जनाइएको छ ।
(07:19 PM)
परराष्ट्र मन्त्रालयले भन्यो : नेपाल आतंकवादविरुद्धका सबै लडाइँमा उभिन्छ
भारत-पाकिस्तान द्वन्द्व चर्किइरहँदा परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको छ । पहलगाममा भएको अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको दुई देशबीचको तनावले नेपाल सरकार चिन्तित रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
(07:08 PM)
पाकिस्तान १५ भारतीय सहरलाई लक्षित गरी ड्रोन र मिसाइल प्रहार गर्यो : भारत
पाकिस्तानले उत्तर र पश्चिमी भारतका धेरै सैन्य प्रतिष्ठानलाई लक्षित गरी ड्रोन र मिसाइल आक्रमण गरेको भारतले दाबी गरेको छ ।अवन्तिपुरा, श्रीनगर, जम्मू, पठानकोट, अमृतसर, कपुरथला, जालन्धर, लुधियाना, आदमपुर, भटिन्डा, चण्डीगढ, नाल, फलोदी, उत्तरलाई र भुजलाई लक्षित गरिएको भारतको दाबी छ । ‘यी सहरहरूलाई एकीकृत काउन्टर यूएएस ग्रिड र हवाई प्रतिरक्षा प्रणालीद्वारा निष्क्रिय पारिएको भारतको भनाइ छ ।
(06:49 PM)
पहलगाम आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतको भनाइ
कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको पुन: दोहोर्याएको छ । बिहीबार नयाँदिल्लीमा आयोजित प्रेस ब्रिफ्रङमा भारतीय विदेश सचिव विक्रम मिस्रीले पहलगाम आक्रमणका लागि ‘द रेसिस्टेन्ट फोर्स (टीआरएफ) लाई जिम्मेवार ठहराउने भारतको अडान दोहोर्याएका हुन् ।
(06:49 PM)
पाकिस्तानी आक्रमणमा १६ जना भारतीयको मृत्यु, ५९ घाइते
भारतीय विदेश सचिव विक्रम मिश्रीले पाकिस्तानी आक्रमणमा १६ जना भारतीयको मृत्यु भएको छ । बिहीबार साँझ विशेष ब्रिफिङका क्रममा विदेश सचिव मिश्रीले उक्त आक्रमणमा ५९ जना घाइते भएको पनि बताए । पाकिस्तानले जम्मू-कश्मीरमा सर्वसाधारणलाई लक्षित गरेर आक्रमण गरेको उनको भनाइ छ ।
भारतले पाकिस्तानको निलम-झेलुम बाँधमा कुनै क्षति नपुर्याएको जनाएको छ। भारतीय विदेश सचिव विक्रम मिश्रीले भारतीय हवाई हमलाले नीलम-झेलुम बाँधमा क्षति पुगेको भन्ने पाकिस्तानको दाबी ‘सरासर झूट’ भएको बताएका छन् । भारतले ‘आतंकवादीका पूर्वाधार’ मा मात्रै हवाई आक्रमण गरेको उनको दाबी छ । नीलम-झेलुम बाँध पाकिस्तान प्रशासित कश्मीरमा रहेको जलविद्युत परियोजनाको एक हिस्सा हो । जुन नीलम नदीको पानीलाई झेलुम नदीमा रहेको विद्युत केन्द्रमा लैजान बनाइएको हो । ९ सय ६९ मेगावाट क्षमताको उक्त विद्युत केन्द्र मुजफ्फराबादबाट ४२ किलोमिटर दक्षिणमा अवस्थित छ ।
भारत र पाकिस्तानबीच द्वन्द्व बढ्दै जान थालेपछि भारतसँग जोडिएका रुपन्देहीका सीमावर्ती नाकाहरूमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्य नाका बेलहियासहित अन्य रुपन्देहीको लुम्बिनी, भगवानपुर, मर्चवार, दुर्गौलियालगायत नाकाहरुबाट आवतजावत गर्ने यात्रुलाई नेपाल–भारत दुवै देशका नागरिकप्रति विशेष निगरानी, सोधखोज, आवश्यकताका आधारमा खनतलासी गर्ने गरिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले दुई देशबीच द्वन्द चर्किंदै जाँदा सम्भावित जोखिमलाई ध्यानमा राखेर सीमा क्षेत्रमा निगरानी बढाइएको बताएका छन् । सशस्त्र प्रहरीले रुपन्देहीसँगको नाकामा तालिमप्राप्त कुकुर नै परिचालन गरेर निगरानी गरेको छ । भारतसँग रुपन्देहीको करिब ७० किलोमिटर सीमा क्षेत्र जोडिएको छ ।
भारतीय सेनाले पाकिस्तानका विभिन्न स्थानमा गरेका आक्रमणपछि बिहीबार साँझ रावलपिन्डी क्रिकेट स्टेडियममा हुने पाकिस्तान सुपर लिग (पीएसएल) को खेल रद्द गरिएको छ । पाकिस्तान पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) का अधिकारीहरूले पीएसएलका बाँकी सबै खेलहरू कराँची, दोहा र दुबई गरी तीन स्थानमा सार्न सुझाव दिएका छन् । पीसीबीले बुधबार भारतको आक्रमण र दुई राष्ट्रहरू बीच बढ्दो तनावका बावजुद पीएसएल योजना अनुसार अगाडि बढ्ने बताएको थियो । प्रतियोगिता मे १८ मा समाप्त हुने तालिका छ । जसको अन्तिम खेल लाहोरमा हुने तय गरिएको छ । तर सुरक्षा चिन्ताका कारण उक्त प्रतियोगिता सर्न सक्ने जनाइएको छ ।
पाकिस्तानसँगको युद्ध बढ्दै गएपछि भारतको उत्तरी सहर धर्मशालामा आइतबार हुने भनिएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेल सारिएको छ । गुजरात क्रिकेट संघका सचिव अनिल पटेलले भारतीय सञ्चारमाध्यमलाई बताएअनुसार पञ्जाब किंग्स र मुम्बई इन्डियन्स बीचको खेल गुजरातको अहमदाबाद सहरमा हुनेछ । उक्त खेल आइतबार दिउँसो हुने बताइएको छ । यद्यपि, अधिकारीहरूले धर्मशाला रंगशालामा खेलिने पञ्जाब किंग्स र दिल्ली क्यापिटल्स बीचको आजको आईपीएल क्रिकेट खेल योजनाअनुसार नै हुने बताएका छन् । दुवै टोली केही दिनअघि प्रशिक्षणका लागि धर्मशाला पुगिसकेका छन् ।
(06:05 PM)
लाहोरमा रहेका आफ्ना कर्मचारीलाई सुरक्षित ठाउँमा सर्न अमेरिकाको आग्रह
पाकिस्तानमा रहेको अमेरिकी महावाणिज्य दूतावासले आफ्ना कर्मचारीलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ । भारत-पाकिस्तान द्वन्द्व बढेसँगै लाहोरस्थित अमेरिकी महावाणिज्यदूतावासले सम्भावित आक्रमणलाई मध्यनजर गर्दै कर्मचारीलाई सुरक्षित स्थानमा जान निर्देशन दिएको हो । दूतावासले वेबसाइटमा सूचना जारी गर्दै लाहोरको मुख्य विमानस्थलवरपरको क्षेत्र खाली गर्ने पाकिस्तानी अधिकारीहरूको तयारी रहेको जनाएको हो ।
पाकिस्तानी सेनाले बिहीबार बिहानयता भारतले प्रहार गरेका २५ वटा ड्रोन खसालेको दाबी गरेको छ । तीमध्ये ३ ड्रोन रावलपिन्डी खसालेको पाकिस्तानी सेनाको दाबी छ । एउटा ड्रोन रावलपिन्डी क्रिकेट रंगशाला परिसरभित्र रहेको खाद्य विक्रेता क्षेत्रमा प्रहार गरिएको बताइएको छ । उक्त रंगशालामा हाल पाकिस्तान सुपर लिग खेलहरू आयोजना भइरहेको छ ।भारतले पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफमा बुधबारदेखि ‘अपरेसन सिन्दूर’ सुरू गरेको हो । यसअघि भारतले पाकिस्तानको लाहोरस्थित हवाई प्रतिरक्षा प्रणाली ‘निष्क्रिय’ पारेको जनाएको थियो । भारतले ‘अपरेसन सिन्दूर’ जारी रहेको जनाएको छ । बुधबार रातियता पाकिस्तानले पनि केही क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको भारतको भनाइ छ ।
पाकिस्तानको कराँचीमा भारतीय ड्रोन आक्रमणमा क्षति पुगेको आशंका गरिएको घर । तस्बिर : एपी