काठमाडौँ — भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा सशस्त्र प्रहरीले बलले पेट्रोलिङ गरिरहेको छ । पछिल्लो समयमा विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल(एपीएफ)ले ४८ घण्टामा सीमा इलाकामा ३ सय १२ वटा पट्रोल र १ हजार ८ सय ४४ स्थानमा चेकप्वाइन्ट राखेको छ ।
मंगलबार बिहानदेखि बिहीबार बिहानसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २ सय २८ वटा एकल पट्रोलिङ गरिएको छ ।
एसएसबीसँग संयुक्त पट्रोलिङ वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोलिङ वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
त्यस्तै सीमा क्षेत्रका १ हजार ८ सय ४४ ठाउँमा चेकप्वाइन्ट राखिएको छ । सीमामा गस्ती पट्रोल तथा चेकजाँच कार्यलाई निरन्तरता दिइएको एपीएफले जनाएको छ । सशस्त्र प्रहरीको नं. १ बराह बाहिनी मुख्यालय सुनसरी, नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुर, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं. ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं. ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीमातहत कार्यालयहरूबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको प्रवक्ता थापाले बताए ।
मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएपछि एपीएफले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको हो । भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि नेपालका दुई छिमेकी राष्ट्रबीच तनाव चुलिएको हो ।
![India-Pakistan conflict: This is how APF is patrolling in the border area [Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/third-party/49457595212611527726843521685689560787207988n-0852025115300-1000x0.jpg&w=1001&h=0)