भारत-पाकिस्तानबीच शक्ति होइन, संयम प्रदर्शनको समय 


युद्धको सम्भावनालाई टार्ने अधिकार र जिम्मेवारी भारत र पाकिस्तानमा मात्र निहित छ । त्यसैले दुवैतर्फका राजनीतिक तथा सैन्य नेतृत्वले मानव समाज, शान्ति र अर्थतन्त्रमा पर्न सक्ने दुष्प्रभाव र दीर्घकालीन असरको पूर्वआकलन गर्नुपर्छ र यथाशक्य संयम भएर युद्धलाई टार्नुपर्छ ।

वैशाख २५, २०८२

सम्पादकीय

Time for restraint, not strength between India and Pakistan

भारतको जम्मु–कश्मीरस्थित पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि भारत–पाकिस्तानबीचको तनाव उत्कर्षतर्फ उन्मुख भएको छ । कश्मीरमा २६ पर्यटकको ज्यान लिने गरी भएको आक्रमणको जवाफ भन्दै भारतले पाकिस्तान नियन्त्रित कश्मीर र भित्री पाकिस्तानसमेतका नौ स्थानमा मिसाइल हमला गरेको छ ।

 ‘अपरेसन सिन्दूर’ भनिएको यो हमलामा भारतले आतंकवादी शिविरलक्षित योजनाबद्ध कारबाही गरिएको दाबी गरेको छ भने पाकिस्तानले त्यस हमलामा महिला र बालबालिकासहित निर्दोष नागरिक मारिएको प्रतिक्रिया दिएको छ ।

पाकिस्तानले भारतका पाँच लडाकु विमान र एउटा ड्रोन खसालेको दाबी गरेको छ भने भारतले थप हमला गर्ने योजना नरहेको स्पष्ट पारेको छ । तैपनि दुई आणविक हतियारधारी मुलुकबीचको तनावले दक्षिण एसिया र समग्र अन्तर्राष्ट्रिय समुदायलाई गम्भीर चिन्तामा पारेको छ । 

१९४७ को विभाजनदेखि नै भारत र पाकिस्तान स्थायी तनावको अवस्थामा छन् । विभाजनकै बेलामा भएको पहिलो कश्मीर युद्धपछि सन् १९६५, १९७१ र १९९९ को कारगिल युद्धसम्म पुग्दा जनधनको अथाह क्षति भएको छ । आणविक शक्ति सम्पन्न यी देशबीचको सैन्य तनाव नियन्त्रणबाहिर गएमा भारत–पाकिस्तानका आम सर्वसाधारणको जीवन, क्षेत्रीय शान्ति र विश्वव्यापी भूराजनीतिमा संकट निम्त्याउनेछ । त्यसैले यो संवेदनशील मोडमा दुवै देशले थप शक्ति प्रदर्शन होइन, विवेक र संयम अपनाउनुपर्नेछ ।

पछिल्लो पटक भारत र पाकिस्तानबीच युद्धस्तरको तनाव सन् २०१९ मा देखिएको थियो । पुलवामा आक्रमणमा ४० भारतीय सुरक्षाकर्मीको ज्यान गएपछि पाकिस्तानभित्र बालाकोटस्थित जैस–ए–मोहम्मदका शिविरमाथि हवाई कारबाही गरेको दाबी भारतले गरेको थियो ।

जवाफमा पाकिस्तानले भारतको विमान खसाइदिएको थियो । त्यो बेला पनि युद्ध चर्किन सक्थ्यो, तर अन्तर्राष्ट्रिय पहलका कारण कप्तान अभिनन्दन बर्द्धमानलाई पाकिस्तानले भारतलाई फिर्ता गरेको थियो । अन्तर्राष्ट्रिय पहल र दुई देशको संयमले त्यो बेला स्थिति नियन्त्रणमा आएको थियो, अहिले पनि त्यस्तै रचनात्मक पहलको आवश्यकता छ । 

युद्धले कस्तो मानवीय संकट निम्त्याउँछ भन्ने गाजा, युक्रेन, सिरिया वा अफगानिस्तानका उदाहरणबाट स्पष्ट हुन्छ । युक्रेनमा सन् २०२२ मा सुरु भएको युद्धले हालसम्म ४० हजार मानिसको ज्यान लिइसकेको छ भने ४० लाख विस्थापित भएका छन् । गाजामा जारी इजरायल–हमास द्वन्द्वले ५० हजारभन्दा बढी नागरिकको मृत्यु गराइसकेको छ । युद्धको रोकथाम मात्र रचनात्मक हुन्छ, अन्त्य त जहिले पनि ध्वंसात्मक हुन्छ । त्यसैले संयम अपनाउने सुरुवातमै हो ।

फेरि युद्ध भारत र पाकिस्तानका लागि नौलो अभ्यास पनि होइन । सन् १९४७ को विभाजनयता नै भारत र पाकिस्तान सधैंजसो युद्धकालीन मनोविज्ञानमा रहँदै आएका छन् । विभाजनसँगै १९४७ मा भएको द्वन्द्वका अतिरिक्त १९६५, १९७१ र १९९९ मा पनि दुवै देश युद्धमा होमिएका हुन् । बेलाबखत हुने आतंकवादी हमलाले दुई देशको तिक्ततापूर्ण सम्बन्धलाई बल्झाउने गरेका छन् ।

पछिल्ला दशकमा पठानकोट, उरी, नगरोटा, पुलवामा र पहलगाममा भएका हमलाले तनावलाई प्रज्वलनशील बनाउँदै आएका छन् । तर तनावलाई नियन्त्रणमा राख्ने जिम्मेवारी राजनीतिक रूपमा जिम्मेवार नेतृत्वको हो । किनकि युद्धले संसारमा मानवजातिलाई न्याय दिएको छैन ।

प्यालेस्टाइनी समूह हमासले डेढ वर्षअघि दक्षिण इजरायलमा गरेको आक्रमणलगत्तै इजरायलले गरेको हमलाको अन्त कहिले हुने हो, केही ठेगाना छैन । तीन वर्षअघि रुसले युक्रेनमाथि सुरु गरेको हमला अझै रोकिएको छैन । युद्धबाटै समस्या समाधान हुन्थ्यो भने भारत–पाकिस्तानबीच भएका १९६५, १९७१ र १९९९ युद्धबाटै भइसक्थ्यो । तर समस्या अहिले पनि छ भन्नुको अर्थ युद्ध समाधानको मार्ग होइन ।

संसारका युद्धले अनाहकमा सर्वसाधारणको मृत्यु, लाखौंको विस्थापन र दीर्घकालीन सामाजिक विभाजन निम्त्याएका छन् । अझ, सीमावर्ती क्षेत्रमा बसोबास गर्ने जनताले युद्धको झन् ठूलो पीडा भोग्नुपर्छ । आर्थिक दृष्टिले पनि युद्ध विनाशकारी हुन्छ । दक्षिण एसियाका सामु अहिले जलवायु परिवर्तन, बेरोजगारी, ऊर्जा संकट र व्यापार असन्तुलन जस्ता चुनौतीका पहाड छन् ।

भारत र पाकिस्तान दुवैले आफ्नो जीडीपीको ठूलो हिस्सा रक्षा बजेटमा खर्च गरिरहेका छन् । भारतले सन् २०२३ मा ७६ अर्ब डलर खर्च गरेको थियो भने पाकिस्तानको रक्षा खर्च करिब १० अर्ब डलर पार गरेको छ । युद्धमा हुन सक्ने यो खर्चलाई शिक्षा, स्वास्थ्य र पूर्वाधारमा लगाए देश आफैं बलिया हुनेछन् ।

त्यसैले अहिलेको आवश्यकता आपसी प्रतिशोध होइन, परिपक्वता हो । राजनीतिक नेतृत्व, नागरिक समाज, बुद्धिजीवी वर्ग र सञ्चारमाध्यमले पनि युद्धको उन्माद होइन, शान्तिको शक्तिमा जोड दिनुपर्छ ।

हुन त अमेरिका, बेलायत, युरोपियन युनियनदेखि विश्वका कैयौं देशले भारत–पाकिस्तानलाई संयम रहन आग्रह गरिरहेका छन् । नेपालजस्ता छिमेकी देशले पनि गर्न सक्ने शान्तिको कामना मात्रै हो । किनकि कुनै पनि तेस्रो देशको भूमिका प्रभावकारी हुने थियो भने आज रुस–युक्रेन, इजरायल–प्यालेस्टाइन युद्ध उहिल्यै रोकिएका हुन्थे ।

युद्धको सम्भावनालाई टार्ने अधिकार र जिम्मेवारी भारत र पाकिस्तानमा मात्र निहित छ । त्यसैले दुवैतर्फका राजनीतिक तथा सैन्य नेतृत्वले मानव समाज, शान्ति र अर्थतन्त्रमा पर्न सक्ने दुष्प्रभाव र दीर्घकालीन असरको पूर्वआकलन गर्नुपर्छ र यथाशक्य संयम भएर युद्धलाई टार्नुपर्छ ।

सम्पादकीय कान्तिपुर दैनिकमा प्रकाशित सम्पादकीय

Link copied successfully