भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा 'हाई अलर्ट'मा एपीएफ

सीमा क्षेत्रमा आवतजावत गर्नेहरूको परिचयपत्र चेक गरेर अभिलेख गरिँदै

वैशाख २४, २०८२

कान्तिपुर संवाददाता

APF on 'high alert' in border region due to India-Pakistan conflict

काठमाडौँ — मंगलबार रातिदेखि भारत र पाकिस्तानबीच तनाव चर्किएपछि सशस्त्र प्रहरी बल नेपाल(एपीएफ) ले सीमा क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । भारतले पाकिस्तान नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरिएको आक्रमणपछि नेपालका दुई छिमेकी राष्ट्रबीच तनाव चुलिएको हो । 

गत २२ अप्रिलमा कश्मीरको पहलगाम आक्रमणपछि दुई देशबीच द्वन्द्व झन् चर्किएको हो । उक्त आक्रमणमा एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको थियो । भारतको पछिल्लो आक्रमणमा २६ जनाको मृत्यु भएको र ४६ घाइते भएको पाकिस्तानले जनाएको छ । त्यस्तै सीमापारिबाट भएको आक्रमणमा १० भारतीय नागरिकको मृत्यु भएको ३२ जना घाइते भएको भारतले जनाएको छ । 

यसैबीच दुई देशबीचको तनावको मौका छोपेर नेपाल-भारत सीमा क्षेत्रबाट हुनसक्ने अवैध घुसपैठ रोक्नका लागि एपीएफ हाई अलर्टमा बसेको हो । एपीएफका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले भारतीय  सशस्त्र सीमा बल (एसएसबी)सँगको सहकार्य र समन्वयमा सीमानामा संयुक्त रूमा गस्ती पट्रोल र खबर आदान–प्रदानलाई तीव्रता दिएको जनाए । उनले भने, 'एक बीओपीबाट अर्को बीओपीसम्म २४ घण्टा सीमा इलाकामा रहने गरी पट्रोलिङ गरिएको छ ।'

अनधिकृत घुसपैठ नियन्त्रण र निगरानीका लागि सीमा क्षेत्रमा पर्ने सबै बाहिनीपतिहलाई प्रधान कार्यालयबाट विशेष निर्देशन दिइएको सहप्रवक्ता थापाले बताए । पछिल्लो अवस्थाबारे थप जानकारी दिँदै उनले भने, 'बाहिनी मुख्यालयहरूले सोहीअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन गरेका छन् । सीमा इलाकामा आवश्यकताअनुसार आवतजावत गर्नेहरूको परिचय पत्र चेक गरेर अभिलेख राख्ने कार्य समेत भइरहेको छ । सम्भावित संकित स्थानहरूमा निगरानी एवं चेक तथा सुक्ष्म रूपमा खबर संकलन कार्य समेत गरिराखेको छ ।' 

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध घुसपैठलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग तथा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणसँग समेत समन्वय गरी सूचना आदान–प्रदान गरी सीमामा आवतजावत गर्ने गरी वारपार गर्नेलाई निगरानी गर्ने कार्यसमेत गरिएको छ । त्यस्तै सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्त्वपूर्ण ठाउँहरुमा निगरानी बढाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

भारत-पाकिस्तान द्वन्द्व

कान्तिपुर

Link copied successfully