भारत र पाकिस्तानका सुरक्षाफौजबीच लाइन अफ कन्ट्रोल (एलओसी) मा गोली हानाहान
काठमाडौँ — भारतीय सेनाले कश्मीर उपत्यकाभर व्यापक रूपमा आतंकवादीहरू ‘खोज र नष्ट अभियान’ सुरु गरेको छ । त्यसका लागि निगरानी ड्रोनहरू तैनाथ गरिएको छ । र, सैनिक संख्यालाई बढाइएको छ । यो खोज अभियानले तीन संदिग्धहरूको खोजी गरिरहेको छ । तीनमध्ये एक भारतीय नागरिक र दुई पाकिस्तानी छन् ।
शुक्रबार बिहान, कश्मीरका अधिकारीहरूले दुई संदिग्ध उग्रवादीका घर भत्काइदिएका छन् । जसमध्ये एक मंगलबारको आक्रमणमा आरोपी रहेको एक अधिकारीले बताएका छन् ।
दुई देशहरूबीच तनाव बढ्दै जाँदा, संयुक्त राष्ट्रसंघले भारत र पाकिस्तानलाई संयम अपनाउन आग्रह गरेको छ । दुई देशबीचको सम्बन्ध वर्षौंपछिको सबैभन्दा निम्न स्तरमा झरेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको हो ।
भारत पाकिस्तान सीमाक्षेत्रमा बिहीबार राति गोली हानाहान भएको छ । भारतीय सेनाका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सी एपीले लेखेको समाचारअनुसार बिहीबार राति पाकिस्तानी सैनिकले कश्मीरमा रहेको भारतीय चेकपोस्टमा साना हतियारबाट गोली प्रहार गरेका छन् । भारत र पाकिस्तानका सुरक्षाफौजबीच दुई देशलाई छुट्याउने नियन्त्रण रेखा (एलओसी) मा गोली हानाहान भएको अलजजिराले जनाएको छ ।
मंगलबार पहलगामनजिकैको ‘मिनी स्विट्जरल्यान्ड’ का रूपमा परिचित बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणमा केही विदेशीसहित २७ जनाको ज्यान गएपछि भारत–पाकिस्तानबीचको सम्बन्ध अहिले तनावपूर्ण बनेको छ । पहलगाममा भएको आतंकवादी हमलामा परेर बुटवलका सुदीप न्यौपानेको पनि ज्यान गएको थियो । घटनामा १७ जना घाइते भएका छन् । यस्तोमा दुई देशका सीमामा तैनाथ सैनिकबीच गोली हानाहान भएको समाचारले विश्वलाई नै चिन्तित बनाएको छ ।
गोली हानाहानको घटनामा भारतीय सेनाले पनि जवाफी प्रहार गरेको एपीले उल्लेख गरेको छ । तर यो घटनाबारे पाकिस्तानले भने कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन । ‘म सेनाका तर्फबाट औपचारिक पुष्टि नभएसम्म कुनै टिप्पणी गर्न चाहन्नँ,’ पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले पत्रकार सम्मेलनमा भने ।
हिन्दुस्तान टाइम्सले पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले एक टेलिभिजनलाई दिएको अन्तर्वार्ता उद्धृत गर्दै भारतले चालेका कदमले दुवै छिमेकी देशबीच युद्ध हुन सक्ने खतरा उत्पन्न गराएको उल्लेख गरेको छ । भारतले इस्लामाबादमाथि ‘सीमापारि आतंकवाद’ लाई समर्थन गरेको आरोप लगाउँदै बुधबार कूटनीतिक सम्बन्ध तोडेको छ । तर पाकिस्तानले पहलगाम आक्रमणमा आफ्नो कुनै भूमिका नरहेको र उक्त आक्रमण भारतको घरेलु समस्या रहेको बताएको छ ।
सिन्धु जल सन्धि निलम्बन गर्ने भारतको निर्णयले दुई छिमेकी देशहरूले आगामी दिनमा साझा स्रोतको व्यवस्थापन कसरी गर्छन् भन्ने महत्त्वपूर्ण प्रश्न खडा गरेको छ । पाकिस्तानले पानीको प्रवाह रोक्ने वा डाइभर्ट गर्ने भारतीय प्रयासलाई ‘युद्धको कार्य’ का रूपमा मान्ने र सोहीअनुसार प्रतिकार गर्ने चेतावनी दिएको छ । यसका साथै भारतले पाकिस्तानमा रहेका आफ्ना कूटनीतिक नियोगमा कार्यरत कर्मचारीको संख्या घटाउँदै भारतीयलाई पाकिस्तान जान रोक लगाएको छ भने भारतमा रहेका सबै पाकिस्तानीलाई पनि देश छोड्न आदेश दिएको छ ।
पाकिस्तानले भारतको कदमलाई ‘गैरजिम्मेवार’ भन्दै भारतीय नागरिकको भिसा रद्द गरेको छ । साथै भारतसँगको सम्पूर्ण व्यापार तेस्रो मुलुकहरूमार्फत पनि निलम्बन गर्दै भारतीय विमानहरूलाई आफ्नो हवाई क्षेत्रमा प्रवेश गर्न रोक लगाएको छ । यसैबीच, इस्लामाबादले सिमला सम्झौता निलम्बन गर्न सक्ने चेतावनी दिएको छ, जुन १९७१ को भारत–पाकिस्तान युद्धपछि बंगलादेश पाकिस्तानबाट अलग भएपछि हस्ताक्षर भएको महत्त्वपूर्ण शान्ति सन्धि हो ।
यस सम्झौताअनुसार, भारत र पाकिस्तानले नियन्त्रण रेखा स्थापना गरेका छन् । जसलाई पहिले ‘युद्धविराम रेखा’ भनिन्थ्यो, यो अत्यधिक सैन्यीकृत सीमा हो जसले विवादित कश्मीरलाई दुई देशहरूबीच विभाजन गर्छ ।
आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लस्कर–ए–तैयबा (एलईटी) को छाया संगठन ‘द रेजिस्टेन्स फ्रन्ट’ (टीआरएफ) ले लिएको छ । मुस्लिम समुदायको बाहुल्य भएको जम्मु–कश्मीर क्षेत्रमा साढे तीन दशकदेखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षमा आक्रमणका घटनामा केही कमी आएको थियो । जम्मु–कश्मीर क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकमाथि यस्तो ठूलो आक्रमण विरलै भएका थिए ।
–एजेन्सीको सहयोगमा
