काठमाडौँ — भारत पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान भएका खबर सार्वजनिक भएका छन् । एसोसिएट प्रेसले तीन जना भारतीय सेनाका अधिकारीलाई उद्धृत गर्दै बिहीबार राति पाकिस्तानी सैनिकहरूले कश्मीरमा रहेको भारतीय चेकपोस्टमा साना हतियारबाट गोली प्रहार गरेका उल्लेख गरेको छ । अलजजिराले भने भारत र पाकिस्तानका सुरक्षाफौजबीच दुई देशलाई छुट्याउने नियन्त्रण रेखा (एलओसी) मा गोली हानाहान भएको जनाएकाे छ ।
मंगलबार पहलगामनजिकैको ‘मिनी स्विट्जरल्यान्ड’ का रूपमा परिचित बैसरन उपत्यकामा भएको आतंकवादी आक्रमणपछि बिग्रँदो भारत-पाकिस्तान सम्बन्धका बेला गोली हानाहानका खबर सार्वजिक भएका हुन् ।
यो घटनामा बुटवलका सुदीप न्यौपानेसहित २७ जनाको ज्यान गएको थियो । घटनामा १७ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
गोली हानाहानको घटनामा भारतीय सेनाले पनि जवाफी प्रहार गरेको एसोसिएट प्रेसले उल्लेख गरेको छ । तर यो घटनाबारे पाकिस्तानले भने कुनै प्रतिक्रिया सार्वजनिक गरेको छैन । पाकिस्तानका विदेश मन्त्रालयका प्रवक्ता शफकत अली खानले पत्रकार सम्मेलनमा भने, 'म सेना तर्फबाट औपचारिक पुष्टि नभएसम्म कुनै टिप्पणी गर्न चाहन्नँ ।'
हिन्दुस्तान टाइम्सले पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले एक टेलिभिजन अन्तर्वार्तालाई उद्धृत गर्दै भारतले चालेका कदमहरूले दुवै छिमेकी देशबीच युद्ध हुन सक्ने खतरा उत्पन्न गराएको उल्लेख गरेको छ ।
भारतले बुधबार इस्लामाबादलाई ‘सीमापारि आतंकवाद’ लाई समर्थन गरेको आरोप लगाउँदै कूटनीतिक उपायको शृंखलासहित आफ्नो छिमेकीसँगको सम्बन्ध घटाइसकेको छ । तर पाकिस्तानले पहलगाम आक्रमणमा आफ्नो कुनै भूमिका नरहेको र उक्त आक्रमण भारतको घरेलु समस्या रहेको बताएको छ ।
आक्रमणको जिम्मेवारी प्रतिबन्धित पाकिस्तानी विद्रोही समूह लस्कर–ए–तैयबा (एलईटी) को छाया संगठन रेजिस्टेन्स फ्रन्ट (टीआरएफ) ले जिम्मेवारी लिएको छ । मुस्लिम समुदायको बाहुल्य भएको जम्मु-कश्मीर क्षेत्रमा साढे तीन दशकदेखि नै विद्रोह चलिरहेको भए पनि पछिल्ला वर्षमा आक्रमणका घटनामा केही कमी आएको थियो । जम्मु–कश्मीर क्षेत्रमा साढे तीन दशकसम्म चलेको द्वन्द्वका क्रममा पनि पर्यटकमाथि यस्तो ठूलो आक्रमण विरलै भएका थिए ।
