काठमाडौँ — प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र त्यसले नेपालमा पार्न सक्ने सम्भावित प्रभावबारे सरकार समयमै सचेत रहनुपर्नेमा जोड दिएका छन्।
नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत–पाकिस्तानबीच युद्ध सुरु भएको अवस्थामा नेपालमा पार्न सक्ने अल्पकालीन र दीर्घकालीन असरबारे सरकार समयमै छलफल अघि बढाउनुपर्ने धारणा व्यक्त गरे।
गौतमले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको समयमा राष्ट्रिय राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको उल्लेख गरे। संविधान संशोधन, संघीयताको सुदृढीकरण, संस्कृतिको संरक्षण र प्रवर्द्धनलगायत विषयमा न्यूनतम सहमति कायम गरी आम जनतालाई आशा जगाउनुपर्ने धारणा उनले राखे।
उनले राष्ट्रिय निकुञ्ज क्षेत्रमा जङ्गली जनावरको त्रास बढ्दै गएको उल्लेख गर्दै पछिल्लो तीन महिनामा बर्दियामा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु र ११ जना घाइते भएको तथ्य प्रस्तुत गर्दै जङ्गली जनावरबाट नागरिकलाई सुरक्षित राख्ने वातावरण निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले सरकारले नयाँ योजनासहित नीति तथा कार्यक्रम ल्याएको भन्दै त्यसलाई पारित गराउने दिशामा सकारात्मक पहल आवश्यक रहेको बताए। उनले परम्परागत नीति तथा कार्यक्रमको क्रमभंग गर्दै सरकारले हिम्मतका साथ कार्यक्रम अघि सारेको बताए।
मैनालीले प्रतिपक्षी दलका सांसदहरूले तथ्यपरक र सकारात्मक टिप्पणी गर्नुपर्ने सुझाव दिँदै संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र मुलुकको आर्थिक उन्नतिका लागि राजनीतिक दलबीच साझा दृष्टिकोण आवश्यक रहेको धारणा राखे।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की सांसद रुपा सोशी (चौधरी) ले भ्रष्टाचार र अनियमितता नियन्त्रणमा सरकार सक्रिय हुनुपर्नेमा जोड दिइन्। उनले समाजवादोन्मुख अर्थतन्त्र निर्माण गर्न सार्वजनिक–निजी साझेदारीलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरिन्। नेपाल विद्युत् प्राधिकरण घाटामा गएको विषय सार्वजनिक भएपछि त्यसलाई प्रभावकारी बनाउन सरकारलाई ध्यानाकर्षण गराएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद चन्दा कार्की (भण्डारी) ले नेपाल राष्ट्र बैंकको गभर्नर पद एक महिनादेखि रिक्त रहेको भन्दै तत्काल नियुक्ति गर्न आग्रह गरिन्। उनले मुलुकमा आर्थिक संकट बढिरहेको, सुशासन प्रवर्द्धनमा कमजोरी देखिएको र उत्पादनशील क्षेत्र कमजोर बन्दै गएको अवस्थालाई औँल्याउँदै गभर्नरजस्तो संवेदनशील पदमा सरकार गम्भीर हुनुपर्ने बताइन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद विक्रम पाण्डेले आगामी दिनमा गर्मी बढ्ने र अत्यधिक वर्षा हुने पूर्वानुमान दिँदै सम्भावित जोखिमको तयारी थाल्न सरकारलाई आग्रह गरे। उनले आकस्मिक राहत सामग्रीको ढुवानी र उद्धार कार्य चुस्त बनाउन विपद् व्यवस्थापन सबल र प्रभावकारी बनाइनुपर्ने आवश्यकतामा जोड दिए।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले वरिष्ठ वामपन्थी नेताको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरे। उनले सुशासन प्रवर्द्धन र विकासको गति बढाउन ढिलाइ गर्न नहुने बताएका छन्। बुटवल–नारायणगढ सडकखण्ड शीघ्र निर्माण सम्पन्न गर्नुपर्ने आवश्यकता औँल्याउँदै सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए।
