विराटनगर — पाकिस्तानसँगको युद्ध बढ्दै गएपछि भारतीय सुरक्षा संयन्त्रले सामरिक दृष्टिले संवेदनशील मानिने ‘चिकेन नेक’ क्षेत्रमा सैन्य सुरक्षा गतिविधि बढाएको छ । पश्चिम बंगालको दोस्रो ठूलो सहर सिलिगुडी नेपाल, भुटान र बंगलादेश जोड्ने ‘ट्रान्जिट’ प्वाइन्ट हो ।
यहाँबाटै भारतको सामरिक महत्त्वको संवेदनशील क्षेत्र पूर्वोत्तर समेत जोडिन्छ । त्यसले सिलिगुडीलाई ‘गेट वे अफ नर्थ इस्ट’ पनि भनिन्छ ।
भारतले कोभिड महामारीदेखि नै नेपालको पूर्वी नाका काँकडभिट्टा-पानीट्याँकी क्षेत्रमा ‘आईडी भेरिफिकेसन’ गर्दै आएको छ । भारत-पाकिस्तान तनावपछि पूर्वी नाकामा थप सुरक्षा सतर्कता बढाइएको भारतीय सुरक्षा अधिकारीले जनाएका छन् ।
दिल्लीको आदेशपछि पूर्वोत्तर भारतका विभिन्न राज्यहरुमा सैन्य गतिविधि बढेको हो । खासगरी नेपाल, बंगलादेश, भुटान, म्यानमार र चीनसँगको सीमावर्ती क्षेत्रमा भारतले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
भारतीय गुप्तचर विभागको रिपोर्टअनुसार ती क्षेत्रहरुमा एकसाथ हिंसात्मक गतिविधि हुन सक्ने आकलन गर्दै दिल्लीले सैन्य गतिविधि बढाएको हो । सेनापछि सीमा सुरक्षा बल (बीएसएफ), द्रुत कार्य बल (आरएएफ), भारत-तिब्बत सीमा पुलिस (आईटीबीपी), केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) र स्थानीय प्रहरीहरूलाई पनि ‘अलर्ट’ रहन भनिएको छ ।
केही हप्ताअघि कश्मीर सीमामा भारतीय सैनिकहरूमाथि भएको हमला र त्यसको जवाफस्वरूप भारतले गरेको सीमापार आक्रमणले दुई छिमेकी मुलुकबीचको तनाव पुनः चर्किएको छ । इस्लामाबादले भारतीय कारबाहीलाई ‘युद्धको उक्साहट’ भनेको छ, जबकि दिल्लीले ‘आतंकवादविरुद्धको प्रतिरक्षा’ को संज्ञा दिएको छ ।
अन्तर्राष्ट्रिय समुदायले भने दुवै देशलाई संयमता अपनाउन आग्रह गरिरहेका छन् । द्वन्द्वको छाया यतिबेला सिंगो भारतमा मात्रै हैन, सीमावर्ती क्षेत्रमा पनि पर्न थालेको छ । गुप्तचर विभागले म्यानमार र बंगलादेशमार्फत हतियार तथा लडाकु उत्तरपूर्व भारतमा प्रवेश गराउने रणनीति बनाइरहेका सूचना पाएपछि ती मार्गहरूमा विशेष सतर्कता अपनाइएको छ । सुरक्षाका हिसाबले कमजोर मानिने बंगलादेशसँगको सीमा क्षेत्रको सुरक्षा चुस्त पारिएको छ ।
‘बंगलादेशको सिमाना करिब-करिब बन्द हुन सक्ने अवस्था देखिन्छ’, एक भारतीय मिडियाले लेखेको छ,‘काँडेतार नभएका क्षेत्रमा थप सुरक्षाबल परिचालन गरिएको छ । चौबीसै घण्टा ड्रोनमार्फत निगरानी थालिएको छ ।’
‘चिकेन नेक’ क्षेत्रमा स्थायी र अस्थायी गरी करिब चालीसभन्दा बढी सैनिक क्याम्प स्थापना गर्ने योजना भारतले अघि सारेको देखिन्छ । भारत–पाकिस्तान तनावको छाया उत्तरपूर्व भारत र त्यससँग जोडिएका छिमेकी मुलुकहरूमा मात्र होइन, नेपालजस्ता निर्भर राष्ट्रहरूमा पनि परेको छ । विशेषगरी पूर्वी नेपालका व्यापारीहरू र औद्योगिक क्षेत्रका व्यवसायीहरू चिन्तित छन् ।
नेपाल उद्योग वाणिज्य संघ कोशीका अध्यक्ष राजेन्द्र राउत भन्छन्, ‘हाम्रो भारतसँगको व्यापारिक निर्भरता उच्च छ । युद्धकै कारण सीमा क्षेत्रमा कडाइ, तनाव वा बन्दको अवस्थासम्म आउन सक्छ । जसले व्यपार व्यवसायमा ठूलो असर पर्ने सम्भावना छ ।’
