काठमाडौँ — देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, संसद्मा माओवादी अध्यक्ष दाहाल अनुपस्थित भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगितदेखि भारत-पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहानसम्मका समाचार आज चर्चामा रहे ।
०००
आवासीय चिकित्सकलाई सरकारी आठौं तह सोसरह मासिक निर्वाह भत्ता उपलब्ध गराउन माग राख्दै आन्दोलरत चिकित्सकले शुक्रबार देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा सरकारी अस्पताल, स्वास्थ्य विज्ञान प्रतिष्ठान, मेडिकल कलेज, ओपीडी सेवा बन्द भएको चिकित्सकहरुले बताए । .
०००
संघीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु भएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद्मा गर्ने तय भएको सम्बोधन स्थगित भयो। प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन रोकिएको हो।
०००
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूसँग संवाद गरी समाधान खोज्न तत्पर रहेको जनाउँदै वार्ताका लागि नेपाल शिक्षक महासंघलाई औपचारिक आह्वान गरेको छ । मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडै पारित होस् भन्ने मागसहित भइरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
०००
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्। शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तर्क्रिया कार्यक्रममा उनले मेटालाई नेपालमा दर्ता हुन पटक–पटक सूचना जारी गरिए पनि कम्पनीले अटेर गरेको बताए ।
०००
भारत पाकिस्तान सीमा क्षेत्रमा गोली हानाहान भएका खबर सार्वजनिक भएका छन् । एसोसिएट प्रेसले तीन जना भारतीय सेनाका अधिकारीलाई उद्धृत गर्दै बिहीबार राति पाकिस्तानी सैनिकहरूले कश्मीरमा रहेको भारतीय चेकपोस्टमा साना हतियारबाट गोली प्रहार गरेका उल्लेख गरेको छ ।
