काठमाडौँ — शिक्षक आन्दोलनको नेतृत्व गरेको नेपाल शिक्षक महासंघका प्रतिनिधि संवादका लागि शिक्षामन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका रूपमा नवनियुक्त रघुजी पन्तलाई शुभकामना र बधाई दिनुका साथै संवाद गर्न गएको महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बताए । वार्ता समिति संयोजक तथा महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीसहित महासंघका पदाधिकारी मन्त्री पन्तलाई भेट्न पुगेका हुन् । उनीहरूले अहिले नै वार्ताका लागि नभई शुभकामना दिन मात्रै गएको बताए ।
शिक्षामन्त्री पन्तले दिउँसो शिक्षकहरूसँग संवाद गरी समाधान खोज्न तत्पर रहेको जनाउँदै वार्ताका लागि आह्वान गरेका थिए । मन्त्रालयले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८० चाँडै पारित होस् भन्ने मागसहित भइरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्री पन्तले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा प्रतिनिधिसभामा छलफलको प्रक्रियामा रहेको विद्यालय शिक्षा विधेयकलाई समयमै पारित गर्ने वातावरण बनाउन सरकार प्रयत्नशील रहेको उल्लेख गरेका छन् ।
२४ दिनदेखि आन्दोलनरत शिक्षकलाई सरकारले चौथोपटक वार्ताका लागि बोलाएको हो । यसअघि अनौपचारिक वार्ता भइरहे पनि कुनै निष्कर्ष आउन सकेको थिएन ।
बिहीबार मात्रै सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकका माग पूरा गरी पठनपाठनको वातावरण बनाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।
