काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसद्मा गर्ने तय भएको सम्बोधन स्थगित भएको छ। प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन रोकिएको हो।
प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्दा प्रमुख प्रतिपक्ष दलका नेता उपस्थित हुने परम्परा रहेको छ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दलका नेता दाहाल अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित भएको जानकारी दिए।
‘प्रमुख प्रतिपक्ष दलका नेतासहित अन्य दलका प्रमुख नेताहरूको उपस्थितिमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यसूची तय भएको थियो,’ उनले भने, ‘प्रमुख प्रतिपक्ष दलका नेता गोरखा गएको र अनुपस्थित हुने भएपछि प्रधानमन्त्रीको सम्बोधन भएन।’
बर्तौला ले संसद्मा दाहाल उपस्थित हुने दिन प्रधानमन्त्रीले सम्बोधन गर्ने जानकारी गराए । ‘प्रमुख प्रतिपक्ष माओवादीले संसदको महत्त्व बुझेर कार्यक्रम बनाएको देखिँदैन,’ उनले भने।
उनका अनुसार संसद्को कार्य व्यवस्था समिति बैठकमा भएको छलफलका आधारमा प्रधानमन्त्रीको सम्बोधन तय गरिएको थियो, तर माओवादीका अध्यक्ष अनुपस्थित भएका कारण सम्बोधन स्थगित गरिएको हो।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने अध्यक्ष दाहालको गोरखा भूकम्प दिवसमा गोरखा जाने कार्यक्रम पहिल्यै तय भइसकेको बताए ।
‘मैले सभामुखलाई भेटेर अध्यक्ष गोरखा बारपाक जाँदै हुनुहुन्छ भनेर जानकारी गराएको थिएँ,’ उनले भने, ‘तर एमालेको आग्रहमा सभामुखले प्रधानमन्त्रीको सम्बोधनका लागि समय निर्धारण गर्नुभएछ।’
