प्रतिनिधिसभा बैठक सुरु : वैकल्पिक विकास वित्त परिचालन विधेयक पेस हुँदै

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

House of Representatives meeting begins: Alternative Development Finance Mobilization Bill is being submitted

काठमाडौँ — प्रतिनिधिसभाको छैटौँ अधिवेशनको पहिलो बैठक सुरु भएको छ। शुक्रबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाएका छन् ।

सभामुख घिमिरेले संसद्को यो अधिवेशन कानुन निर्माण, जनताका आकाङ्क्षा सम्बोधनलगायत विषयमा प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे । उनले भने, 'यो अधिवेशनमा सरकारले नीति तथा कार्यक्रम, बजेटसँगै अन्य कानुन संसद्मा पेस गर्नेछ भन्ने अपेक्षा छ। संसद् जनताको आवाज उठाउने थलो सँगसँगै मुलुकका लागि आवश्यक कानुन निर्माण गर्ने स्थान पनि हो। कानुन निर्माणमा ढिलाइ हुँदा नागरिकमा देखिएका असुन्तिलाई यो अधिवेशनले चिर्न सक्ने विश्वास छ। पारदर्शिता, सामाजिक न्याय र जबाफदेहीताका लागि संसद्ले प्रभावकारी भूमिका खेल्ने छ।'

आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभार र मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाए।

यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सांसदहरूको मनोनयनसमेत गरेका छन् । जसमा सांसदहरू अमृतादेवी अग्रहरी, डा. चन्दा कार्की भण्डारी, दुर्गा राई, बुद्धिमान तामाङ, मुक्ता यादव, राजेन्द्रकुमार केसी र हेमराई राई मनोनीत भएका छन् ।

आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२’ लाई पेस गर्ने कार्यसूची छ।

कान्तिपुर संवाददाता

Link copied successfully