७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध : सञ्चारमन्त्री गुरुङ

वैशाख १२, २०८२

कान्तिपुर संवाददाता

Meta will be banned in Nepal if it is not registered within 7 days: Communications Minister Gurung

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सात दिनभित्र दर्ता नभए सामाजिक सञ्जाल सञ्चालक कम्पनी मेटालाई नेपालमा प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

शुक्रबार काठमाडौँमा राष्ट्रिय सूचना आयोगले आयोजना गरेको सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तर्क्रिया कार्यक्रममा उनले मेटालाई नेपालमा दर्ता हुन पटक–पटक सूचना जारी गरिए पनि कम्पनीले अटेर गरेको बताए । तेस्रो पटकको सूचनाको म्याद केही दिनअघि सकिएको उल्लेख गर्दै उनले अबको सात दिनभित्र दर्ता नभए प्रतिबन्ध लगाइने चेतावनी दिएका छन्।

उनले मेटाबाट नेपालमा सञ्चालित फेसबुक, म्यासेन्जर, ह्वाट्सएप, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालबाट प्रत्येक घण्टा पैसा बाहिरिएको बताए। 'हाम्रो समाजबाट पलपलमा हजारौँ रुपैयाँ मेटाको कार्यालयतिर गइरहेको छ। यहाँ दर्ता हुनुपर्दैन? कर तिर्नुपर्दैन?' उनले प्रश्न गरे।

उनका अनुसार सरकारले तीन पटक सूचना जारी गरिसकेको छ। 'अब सात दिनभन्दा बढी समय दिइँदैन,' मन्त्री गुरुङले भने, 'यसबीचमा हामीले उनीहरूलाई खोज्दै हिड्यौं । देशभन्दा ठूलो रे उनीहरू । उनीहरूको घमण्ड के रैछ भने नेपालको जीडीपी कति हुन्छ र ? इत्ति । हाम्रो संस्था भन्दा धेरै सानो हो नेपाल त भन्दो रैछ । मुलुकको स्वाधीनता पैसामा जोडिँदैन ।' 

मन्त्री गुरुङका अनुसार हालसम्म नेपालमा टिकटक, भाइबर र वि–टक मात्र दर्ता भएका छन्। 

कान्तिपुर संवाददाता

Link copied successfully