सञ्चारगृहमा भएको आक्रमणको मिडिया सोसाइटीद्वारा निन्दा

दोषीलाई कारबाही गर्न माग, पत्रकारहरूको पेसागत सुरक्षा, सूचना संकलन–प्रकाशन स्वतन्त्रता र सञ्चारगृहको सुरक्षामा विशेष ध्यान दिन सरकारसँग अपिल

चैत्र १८, २०८१

कान्तिपुर संवाददाता

Media Society condemns attacks on media houses

काठमाडौँ — राजावादी समूहको प्रदर्शनका क्रममा सञ्चारगृहहरूमा भएको आक्रमणको नेपाल मिडिया सोसाइटीले निन्दा गर्दै दोषीमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।

‘लोकतान्त्रिक गणतन्त्रले प्रत्याभूत गरेको विचार तथा अभिव्यक्ति, संगठन र सभा–सम्मेलन गर्ने स्वतन्त्रतामाथि कथित व्यवस्था परिवर्तनको नाममा अराजक समूहले खुलेआम गरेको आक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ सोसाइटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘शुक्रबार राजधानी काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी समूहका नाममा भएको प्रदर्शनले सञ्चारगृहमाथि हिंसात्मक आक्रमण गरेको घटनाले प्रचलित कानुन, निर्बाध अभिव्यक्ति तथा प्रेस स्वतन्त्रतामाथि खुला हमला गरेको छ । शुक्रबार अन्नपूर्ण पोस्ट दैनिक र कान्तिपुर टेलिभिजनको कार्यालयमाथि गरिएको सांघातिक हमलालाई 

नेपाल मिडिया सोसाइटीले कडा निन्दा गर्दै अपराधीहरूमाथि तत्काल कानुनी कारबाही गर्न सरकारसँग माग गर्दछ ।’

कथित व्यवस्था परिवर्तनका नाममा सञ्चालित अराजक समूहका यस्ता भिजिलान्ते प्रदर्शनबाट सञ्चारगृह, निजी भवन, सार्वजनिक सुपरमार्केटदेखि राजनीतिक दलका कार्यालय र सरकारी संस्थानमाथि गरिएको हिंसा एवं लुटपाटले प्रदर्शनकारी र तिनका नेतृत्वकर्ताको चरित्र उजागर भएको सोसाइटीको भनाइ छ । शान्तिपूर्ण रूपमा कसैले पनि प्रदर्शन, भेला वा सभामार्फत आफ्ना गुनासो, माग र आक्रोश व्यक्त गर्न पाउने अधिकारलाई बहाना बनाई यसको दुरुपयोग गर्ने र सूचना प्रवाहमा बाधा पुर्‍याउन सञ्चारमाध्यमहरूमाथि गरिएको आक्रमणलाई कुनै पनि आधारमा जायज ठहर्‍याउन नसकिने सोसाइटीले बताएको छ ।

सचेत नागरिक, जिम्मेवार राजनीतिक दल, सञ्चारकर्मी तथा व्यवसायीलाई लोकतान्त्रिक व्यवस्थाको सुव्यवस्था र जवाफदेहितालाई गम्भीरतापूर्वक लिने र आगामी दिनमा यस्ता हिंसात्मक घटनाप्रति सतर्क रहन सोसाइटीको आग्रह छ । शुक्रबार राजधानीमा सञ्चारगृह, राजनीतिक कार्यालय, सुपरमार्केट र निजी भवनमाथि गरिएको हिंसाको जिम्मेवारी आयोजकले लिँदै कानुनी कारबाहीको सामना गर्नुपर्ने मागसमेत सोसाइटीको छ । 

पत्रकारहरूको पेसागत सुरक्षा, सूचना संकलन–प्रकाशन स्वतन्त्रता र सञ्चारगृहको सुरक्षामा विशेष ध्यान दिन नेपाल सरकारसँग अपिल गर्दै यस घटनासँग जोडिएकाहरूमाथि तत्काल कानुनी कदम चाल्न सोसाइटीले जोड दिएको छ ।

कान्तिपुर संवाददाता

Link copied successfully