ज-जसले आयोजना गरेको हो, घोषणा गरेको हो, उसले यो घटनाको जिम्मेवारी लिनुपर्छ । घटनामा संलग्न केही मानिस पक्राउ परेका छन् । छानविन जारी छ । त्यस क्रममा जो-जो संलग्न देखिन्छन्, सबै पक्राउ पर्छन् । कारबाही हुन्छ । मुद्दा चलाइन्छ
शुक्रबार काठमाडौँको तीनकुनेमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै भएको प्रदर्शनका क्रममा ठूलो धनजनको क्षति भयो । त्यसक्रममा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो भने थुप्रै घाइते भएका थिए। प्रदर्शनकारीले कान्तिपुर टेलिभिजनको कार्यालयमा समेत आक्रमण गरेका थिए ।
अरू दर्जनौँ सर्वसाधारणका घर, व्यापारिक प्रतिष्ठानहरू, सञ्चारमाध्यम, राजनीतिक पार्टीका कार्यालय तथा सरकारी र निजी दर्जनौं सवारीसाधनमा तोडफोड र आगजनी भएको थियो ।
घटनापछि शनिबार कान्तिपुर टेलिभिजनमा निरीक्षणका लागि आएका गृहमन्त्री रमेश लेखकसँग गरिएको संक्षिप्त कुराकानी :
यो घटनालाई सरकारले कसरी हेरेको छ ?
अन्त्यन्तै ज्यादा दुःख र पीडाको बोध भएको छ । मिडिया भनेको लोकतन्त्रको बाहक र रक्षक हो। लोकतन्त्रलाई अगाडि बढाउन मिडियाले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अझ, कान्तिपुर देशको नेतृत्वदायी मिडिया हाउस हो । यसले लोकतन्त्रका लागि सम्पूर्ण काम गरेको छ । शुक्रबारको घटना कुनै राजनीतिक दर्शन, चेतना, मान्यता कुनैसंग अनुकूल छैन । यस्तो घटना भनेको नितान्त आपराधिक हो ।
मान्छे घरभित्र छ भनेर थाह पाउँदा पाउँदै बाहिरबाट आगो लगाउने काम कुन राजनीतिक विचार र दर्शनले गर्छ ? निष्पक्ष र स्वतन्त्र मिडिया हाउसमाथि ढुंगा प्रहार कुन पार्टीले गर्छ ? आगोमा जलेर एकजना पत्रकारको मृत्यु भयो । व्यापारिक कल्पेक्स, निजी घरमा आगजनी, लुटपाट र तोडफोड गरियो । सवारी साधानमा आगजनी गर्ने काम भयो । यस्ता घटना कुनै हालतमा क्षम्य हुने छैन। स्थिति नियन्त्रणभन्दा बाहिर जान थालेपछि नागरिकको जिऊ धनको सुरक्षाका लागि बल प्रयोग गर्नुपर्यो। तर, सुरक्षाकर्मीले धेरै ज्यादा संयमता र धैर्यता अपनाएकाले धेरै ठूलो क्षति हुन पाएन । यो कुनै राजनीतिक प्रदर्शन होइन । अराजकता हो । संविधानले शान्तिपूर्ण प्रदर्शन गर्न दिएको छ । आफ्नो कुरा राख्ने स्वतन्त्रता दिएको छ ।
सरकारले कहिल्यै पनि शान्तिपुर्ण ढंगले गरेका कुनै पनि कार्यक्रममा सरकारको व्यवधान गरेको छैन । यत्रो सामाजिक संजाल छ । मिडिया हाउस छन् । सबैले आफ्नो कुरा गरेका छन् । सरकारको आलोचना, समालोचना भइरहेको छ । सरकारले कसैकाप्रति आग्रह र पूवाग्रह राखेको छैन् । संविधान, कानून, मर्यादा विपरीत जुन खालको आततायी र बर्बरतापूर्ण घटना घटाइयो, यो अक्षम्य छ । कानून बमोजिम अनुसन्धान, छानविन र कारवाही हुन्छ ।
कान्तिपुर टीभिको कार्यालयबाटै जम्मा ७० मिटरको दुरीमा प्रहरी चौकी रहेको र यस्तो हुनसक्छ है भनेर अघिल्लो दिनमै सचेत गराउँदापनि समयमै प्रहरी आउन सकेन, यसले सुरक्षा निकायको कमजोरी पनि देखायो नि ?
सुरक्षा फौजको पनि आफ्नै सीमा र बाध्यता हुन्छन् । आफैँले गाडी चलाएर सिपाहीलाई कुल्चिएर अघि बढ्ने अवस्थापनि आयो । अर्कोतिर निषोधाज्ञालाई थेग्नपर्यो । आगलागी भएको छ । त्यतातिर हेर्नपर्यो । आफ्नो कर्तव्य पूरा गर्ने सिलसिलामा सुरक्षाकर्मी आउन केही ढिलाई भयो होला । अब त्यस्तो स्थिति हुने छैन । सबै संचारगृह र नागरिकको जिऊ धनको सुरक्षा सरकारले दिने छ । अब यसमा कुनै खालको सम्झौता हुन्नँ । संविधान, कानूनविपरीत र अवान्छित गतिविधि कुनै हालतमा क्षम्य हुन्न । सह्य हुँदैन । हिजोको घटनामा पनि कानून बमोजिम अघि बढ्छौं । अब फेरि कुनै पनि संचारगृहमा सुरक्षाको प्रश्न उठ्न दिइदैन।
राजावादीहरूले चैत २१ गतेदेखि झन् ठूलो आन्दोलन गर्ने भनेर उद्घोष गरिरहेका छन्। उनीहरूको निशानामा सञ्चारकर्मी परिरहेका छन्। हामीले राज्यबाट पूर्ण सुरक्षाको अनुभूति कहिले पाउने ?
मैले भनिसकेँ। अब पूर्ण सुरक्षाको प्रबन्ध गरिनेछ । कुनैपनि संचारकर्मी र पत्रकारमाथि त्रासको वातावरण हुन दिदैनौं ।
हिजोको घटनामा राज्यले कसलाई जिम्मेवार ठहर्याउँछ ? आन्दोलनको कमाण्ड गरेका दुर्गा प्रसाई अहिलेपनि फरार रहेको भनेर आइरहेको छ । उनी कहिले पक्राउ पर्छन्?
ज-जसले आयोजना गरेको हो, घोषणा गरेको हो, उसले यो घटनाको जिम्मेवारी लिनुपर्छ । घटनामा संलग्न केही मानिसहरू पक्राउ परेका छन् । छानविन जारी छ । छानविनका क्रममा जो-जो संलग्न देखिन्छन्, सबै पक्राउ पर्छन् । कारबाही हुन्छ । मुद्दा चलाइन्छ । यसमा कुनै सम्झौता हुन्नँ । आपराधिक गतिविधि गर्नेहरूमाथि प्रहरीले गहिरो र गम्भीरतापूर्वक छानविन गर्छ । हिजोकै घटनाले कस्तो खालको आन्दोलन हो भन्नेकुरा प्रदर्शन भइसक्यो । योभन्दा पहिला पनि राजाले 'कु' गर्दा सबैभन्दा पहिला कान्तिपुरमै आक्रमण भएको मलाई सम्झना छ ।
लोकतन्त्रकोविरुद्ध जब गतिविधि हुन्छन्, त्यतिबेला कान्तिपुर जहिल्यै निशानामा हुन्छ । त्यसैलेपनि कान्तिपुर लोकतन्त्रको पक्षमा कति लागेको छ भन्नेबारेमा प्रष्ट हुन्छ । लोकतन्त्र रहेन भने यस्ता आक्रमण हुने गर्छन्। कहिले ढुंगाले, कहिले कलम बन्द गर्न लगाएर त कहिले टिभी, पत्रिकामा सेन्सरसीप लागु गरेर । लोतन्त्रको त्यसैले लोकतन्त्रको रक्षाका लागि हामी सबै मिलेर लड्नुपर्छ ।
हिजोको घटनाको मुख्य कमाण्डर दुर्गा प्रसाई हुन् । उनी मात्रै नभएर यो घटनामा ज्ञानेन्द्र शाहको समेत सलंग्ता भएको भन्ने छ । उनीमाथि अनुसन्धान हुन्छ कि हुन्न ?
अनुसन्धान प्रारम्भ गरेका छौं । यो घटनासँग जोडिएका सबैमाथि अनुसन्धान हुन्छ, छानविन हुन्छ, के के देखिन्छ । सरकारले कारवाही गर्छ ।
हिजोको मन्त्रिपरिषद् बैठकले ज्ञानेन्द्र शाहको सुविधा खोस्ने कुरा भएको भनेर भनिएको थियो । के छ सरकारको तयारी ?
अनुसन्धान र छानविन गरिराखेका छौं । के–के देखिन्छ, सरकारले निर्णय गर्नेछ ।
ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गर्ने निर्णय सरकारले गरेको हो ?
अहिल्यै त्यो निर्णय भएको छैन। हिजोको आपराधिक घटनाका बारेमा छानविन गरिराखेका छौं । अनुसन्धान र छानविनले देखिएमा अरु निर्णय हुन्छ ।
अहिलेसम्म सरकारले राजधानीमा रहेका दुर्गा प्रसाईलाई पक्राउ गर्न सकेको छैन। किन पक्राउ हुन सकेनन् ?
खोजी जारी छ । चाँडै पक्राउ पर्नेछन्।
![”All those guilty of the Three Kune incident will be arrested, prosecuted” [Interview]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2025/politics/home-minister-at-ktv-1-2932025065835-1000x0.jpg&w=1001&h=0)