काभ्रे — राजावादी समूहको अराजकतापछि काठमाडौं तीनकुने आसपासमा लगाइएको कर्फ्युका कारण काभ्रेबाट उपत्यका प्रवेश गर्ने सवारी साधन नाकामै रोकिएका छन् ।
काठमाडौंको अवस्था तनावग्रस्त भएपछि उपत्यकामा सवारी पास गराइएको छैन । काठमाडौंको स्थिति तनावग्रस्त भएकाले यात्रुहरुलाई हुने असहजतालाई मध्यनजर गर्दै जिल्लास्थित सीमा नाकाबाट सवारीहरु पास गर्न रोकिएको जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिइन् । उनका अनुसार, काठमाडौं उपत्यका जोड्ने जिल्लास्थित सबै नाकाहरुमा सवारी साधन रोकिएका छन् ।
‘अहिले काठमाडौंमा कर्फ्यु जारी भएको छ,’ उनले भनिन्, ‘यो समयमा यहाँबाट सवारी राजधानी पास गराउँदा यात्रुहरुलाई जोखिम हुने भएकोले अहिले सीमामा सवारी होल्ड गरिएको छ ।’
करिब १ घण्टा अघिबाट जिल्लास्थित उपत्यका जोड्ने सीमा नाका साँगा, नालामा सवारी रोकिएको छ । बीपी राजमार्ग हुँदै काठमाडौं प्रवेश गर्ने सवारीहरुलाई काभ्रेभन्ज्याङमा सवारी होल्ड गरिएएको उनले जनाइन् । काठमाडौंको अवस्था सामान्य हुनेबित्तिकै सवारी सञ्चालन गरिने उनको भनाइ छ ।
तीनकुनेमा सभा गर्न जम्मा हुने क्रममा प्रहरीसँग झडप भएपछि आक्रोशित राजावादीले काठमाडौंका विभिन्न स्थानमा व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका छन् ।
