घाइते भन्छन् : 'बस टिकट काउन्टरमा काम गर्छु, आन्दोलनमा रमिता हेर्न गएको थिएँ'

चैत्र १६, २०८१

विवेक पोख्रेल

The injured says: 'I work at the bus ticket counter, I went to see Ramita during the protest'

काठमाडौँ — भोजपुरको टेम्केमैयुङ गाउँपालिका-६, लोखर्क घर भएका २७ वर्षीय डिल्लीप्रसाद लुइटेल काठमाडौँमै बस्छन्। उनी कोटेश्वर बस टिकट काउन्टरमा काम गर्थे।

शुक्रबार भने तीनकुने क्षेत्रमा राजतन्त्र पक्षधरहरूको प्रदर्शनका कारण बस काउन्टर बन्द भयो। उनी फुर्सदिला भए। तीनकुनेमा राजावादीको ढुंगामुढा, आक्रमण र आगजनी हुन थालेपछि उनी पनि रमिता हेर्न पुगे।

त्यही बेला आक्रोसित भीड र प्रहरीबीच झडप सुरु भयो। प्रदर्शनकारीलाई तित्तरबित्तर बनाउन प्रहरीले रबर गोली चलायो।  लुइटेल गोली लागेर घाइते भए। हाल ट्रमा सेन्टरमा उपचाररत घाइते लुइटेलको पेटमा गोली लागेको छ।

‘काठमाडौँमा उसको कोही छैन,’ उनीसँगै काम गर्ने लेखनाथ घिमिरेले भने, ‘हामीले पनि उनलाई गोली लागेको साँझ मात्र थाहा पायौँ। अप्रेशनपछि बिहान १० बजे मात्र उसको होस् आएको छ ।’

होस् आएपछि उनले साथीहरूलाई आफू आन्दोलनमा होइन, रमित हेर्न गएको भनेका छन्। साथी घिमिरेका अनुसार डिल्लीले परिवारको चिन्ता गरिरहन्थे । भाईबहिनीको पढाई खर्च पुर्‍याउन उनको ध्यान सधैँ केन्द्रीत हुन्थ्यो। काठमाडौँ बसेका डिल्लीकै भरमा उनको गाउँमा परिवार चलेको छ।

कतार गएर केही वर्ष दुख गरेका डिल्ली देश फर्किएपछि बस काउन्टरमा काम गर्न थालेका हुन्। उनी यसअघि इटहरी बस काउन्टरमा काम गर्थे, एक वर्षअघि मात्रै काठमाडौँ आइपुगेका हुन्। 

दाईलाई गोली लागेर घाइते भएको खबर पाएपछि रातिनै गाडी चढेका माईलो भाई केदार बिहान ९ बजेमात्र गाउँबाट काठमाडौँ आइपुगेका छन्। 'आमा क्यान्सरले बित्नुभयो, त्यसपछि घर हेर्ने हाम्रो अभिभावक दाजु नै हो,' उनले भने, 'दाजुको कमाइमै हाम्रो घर, पढाइ खर्च र व्यवहार चल्दै आएको छ।'

डिल्लोको घरमा तीन भाई, एक बहिनी र बाबु छन्। अस्पतालमा उपचाररत उनको उपचार खर्च कसले गरिदिने हो भन्ने ठेगान छैन। 'हामीसँग पैसा छैन। अहिले अस्पतालमै खातामा लेखेर उपचार भइरहेको छ,' भाइ केदारले भने।

उनका साथीहरूका अनुसार अस्पतालबाहिर किन्नुपर्ने औषधि साथीहरूले पैसा लगाइदिएर किनिदिएका छन्। शुक्रबार काठमाडौँमा भएको राजावादीको प्रर्दशनमा दुई जनाको मृत्यु भएको थियो भने सुरक्षाकर्मीसहित १ सय १० घाइते भएका थिए ।

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully