मिश्र र राणासहित ११ जनालाई राज्यविरुद्ध कसुरमा ५ दिन म्याद थप

तीनकुनेको हिंसात्मक घटनामा संलग्न भएको आरोपमा अन्य ३० जनाविरुद्ध आपराधिक उपद्रव र संगठित अपराध कसुरमा अनुसन्धान हुँदै

चैत्र १८, २०८१

विवेक पोख्रेल

11 people including Mishra and Rana have been given 5 days extension for crimes against the state

काठमाडौँ — राजावादीको शुक्रबारको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणासहित ४१ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ । आइतबार म्याद थपेर उनीहरू विरुद्ध राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार राणा र मिश्रसहित ११ जनालाई राज्यविरुद्धको कसुरसहित आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरअन्तर्गत अनुसन्धान हुनेछ । उनीहरू बाहेक दुर्गा प्रसाईंका सहयोगी लमजुङका मनिन्द्र राजभण्डारी, रूपन्देहीका गोपाल मल्ल, जुम्लाका हरिहर चौलागाईं, रामकुमार धिमाल, सुनसरीका सन्तोष चौधरी, काठमाडौंका पशुपति खड्का, तनहुँका विष्णु पराजुली, झापाका पुष्कर खतिवडा र गोपीकृष्ण खड्काविरुद्ध उक्त कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

यस्तै, स्याङ्जाका देवबहादुर थापा मगर, रौतहटका राज ठाकुर, काठमाडौंका प्रसिद्ध मल्ल, रुकुमका विकास ओली, महोत्तरीका सुदर्शन थापा, खोटाङका राजकुमार राई र भगवती रोक्काविरुद्ध भने आपराधिक उपद्रव र संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान हुने प्रवक्ता बोहराले जानकारी दिए । यस्तै, उदयपुरका नवीन ढकाल, सप्तरीका आलोक पराजुली, रौतहटका इरफान खान, सिन्धुपाल्चोकका गणेशबहादुर गुरुङ, काभ्रेपलाञ्चोकका विवेक खनाल, बाराका उपेन्द्र साह, मकवानपुरका कृष्णकुमार बस्नेत, चितवनका जीवन पुरी, कैलालीका गणेश प्याकुरेल, दोलखाका सरुन थापा, काठमाडौंका श्रवण लामा, रामेछापका स्टन लामा, नुवाकोटकी सुशीला कुमाल, सिन्धुपाल्चोककी निर्मला कार्की, सुनसरीकी एलिसा राई, सुर्खेतका भविन्द्र बीसी, धादिङका आशिष तामाङ, गुल्मीका लीला राणा, सिन्धुलीकी चित्रमाया बस्नेत र सस्मिता बरालमाथि पनि अनुसन्धान हुनेछ । 

बझाङका नीराजन गिरी, दोलखाका प्रेधबहादुर, कालीकोटका मनीषकुमार शाहीमाथि पनि अनुसन्धानका लागि म्याद थप भएको हो । हिंसात्मक प्रदर्शनमा संलग्नमध्ये १ सय १२ जनालाई प्रहरीले पक्राउ गरे पनि स्वागत नेपाललगायत ८१ जनालाई सामान्य सोधपुछपछि प्रहरीले हाजिरी जमानीमा छाडेको छ । तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रूप लिँदा दुई जनाको ज्यान गएको थियो भने ५५ प्रहरी, २२ सशस्त्र प्रहरी र ५२ जना प्रदर्शनकारीसहित १ सय २९ जना घाइते भएका थिए । घाइतेमध्ये ६ प्रहरी, १ सशस्त्र प्रहरी र १७ प्रदर्शनकारी उपचाररत छन् ।

कार्यक्रमका आयोजकले उपस्थित समर्थक एवं भीडलाई उत्तेजित बनाई संघीय संसद् भवन वरिपरि रहेको निषेधित क्षेत्र तोड्न खोज्दा प्रदर्शनले हिंसाको रूप लिएको प्रहरीले जनाएको छ । ‘प्रदर्शनका जनकमान्डर भनिएका प्रसाईं आफैंले प्रहरीको ज्यान लिने उद्देश्यले गाडी चलाउनु, सुरक्षाकर्मीलाई ढुंगा, लाठी, फलामका रडसहित घरेलु हतियारले आक्रमण गर्नुका साथै हातहतियार खोसी घाइते बनाइएको छ,’ प्रवक्ता बोहराले भने, ‘सर्वसाधारणको घर, निजी सम्पत्ति, सञ्चारगृहका भवन, राजनैतिक दलहरूको कार्यालय तथा नेताको निजी निवास, गाडीमा तोडफोड, लुटपाट र आगजनी गरिएको छ । पूर्वयोजनाअनुसार संगठित तवरले आपराधिक घटना भएको देखिन्छ ।’ राजावादीले तीनकुनेस्थित भवनमा सञ्चारकर्मीले रिपोर्टिङ गरिरहेको जानकारी भएर पनि आगो लगाउँदा पत्रकार सुरेश रजकको मृत्यु भएको र यो आपराधिक कार्य भएको बोहराले बताए । 

प्रहरीले आइतबार अदालतमा उपस्थित गराउने क्रममा सांसद राणालाई भने हतकडी लगाइएको थिएन । एउटै कसुरमा भए पनि राणाको स्वास्थ्य अवस्था कमजोर भएकाले उनलाई हतकडी नलगाएको काठमाडौं प्रहरी परिसरका प्रमुख विश्व अधिकारीले जानकारी दिए । ‘उहाँ क्यान्सरको बिरामी पनि हुनुहुँदो रहेछ । गाडीमै लैजाने र ल्याउने व्यवस्था गरियो । स्वास्थ्य समस्याका कारण हामीले हतकडी लगाएनौं,’ अधिकारीले भने, ‘केसको गम्भीरता र परिस्थिति हेरेर मात्रै हामी हतकडी लगाउँछौं । आवश्यकताका आधारमा हतकडी लगाउने वा नलगाउने निर्णय गरिन्छ ।’

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully