सहकारी ठगी : लेखा समिति सभापतिकी श्रीमती १० लाख धरौटीमा रिहा

पुस २४, २०८१

कान्तिपुर संवाददाता

Cooperative Fraud: Accounts Committee Chairman's wife released on bail of 10 lakhs

काठमाडौँ — सहकारी ठगीको आरोप लागेकी लेखा समितिकी सभापति ऋषिकेश पोखरेलीकी श्रीमती अञ्जला कोइराला अदालतमा धरौटी बुझाएर रिहा भएकी छिन् । बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले कोइरालालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कोइरालासँग १० लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

मोरङको धनपालथान-३ स्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी कोइराला बुधबार आफैं जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । गत मंसिर २७ गते जिल्ला सरकारी वकिलको कार्यालय मोरङले सहकारीको करिब २२ करोड रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहितका प्रतिवादीहरूविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायरपछि विराटनगरको महेन्द्र रात्रि माविकी शिक्षिका रहेकी कोइराला फरार थिइन्।

यस सहकारी ठगी प्रकरणमा अध्यक्ष श्यामकुमार रौनियारसहित २६ जनाविरुद्ध मुद्दा दायर भएको छ । हालसम्म एक जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने एक जना धरौटीमा रिहा भएका छन् । बाँकी २३ जना प्रतिवादी अझै फरार रहेका छन् ।

कान्तिपुर संवाददाता

Link copied successfully