सूर्यदर्शन सहकारी ठगी प्रकरण : मंगलबारको थुनछेक बहस सकियो

पुस १६, २०८१

दीपक परियार

Suryadarshan Cooperative Fraud Case: Tuesday's custodial debate is over

पोखरा — सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका ७ जनाको बयान सकिएपछि मंगलबारबाटै थुनछेकको बहस सुरु भएको छ । जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा छविलाल जोशी, लीला पछाई, रवि लामिछाने, रामबहादुर खनाल, कृष्णबहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान पश्चात थुनछेक बहस सुरु भएको हो । तीमध्ये आरती गुरुङको अन्तिम बयान मंगलबार नै सकिएको थियो ।

सातैजना प्रतिवादीको हकमा जिल्ला सरकारी वकिल कार्यालयको तर्फबाट बहस सुरु भएको हो । मंगलबार कार्यालयकी सहायक जिल्ला न्यायाधिवक्ताद्वय शान्तिदेवी शर्मा र सुजाता पौडेलले बहस गरे । उनीहरूले प्रहरीको अनुसन्धान प्रतिवेदन, पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदन, संसदीय छानबिन विशेष समितिको प्रतिवेदन समेतका आधार, कारण र प्रमाणबाट सातैजना प्रतिवादीलाई फौजदारी कार्यविधि संहिता-२०७४ को दफा ६७ बमोजिम पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गर्नुपर्ने तर्क गरे । 

बुधबार क्रमैसँग सरकारी वकिलको बहस हुने र सरकारी वकिलको बहस सकिएपछि जाहेरवाला तर्फका कानुन व्यवसायी र त्यसपछि प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘थुनछेक बहसको क्रममा सरकारी वकिलले सबै प्रतिवादीको हकमा सजायको मागदाबी अनुसार बहस गरेका छन्,’ स्रेस्तेदार खनालले भने, ‘थुनछेक आदेश आउँदा प्रतिवादीको दाबी अनुसार व्यक्तिपिच्छे आदेश आउँछ ।’ उनका अनुसार महान्यायाधिवक्ताको कार्यालयबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी र उपन्यायाधिवक्ता प्रकाश गौतम, उच्च सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता विष्णुराज गौली, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले र सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले बहस गर्ने छन् ।

‘थुनछेकमा लाग्ने समय लाग्छ भन्ने विषय प्रतिवादीले कति संख्यामा कानुन व्यवसायी राखेका छन् भन्नेमा भर पर्छ,’ स्रेस्तेदार खनालले भने, ‘इजलासले पनि बहस व्यवस्थापन गर्ने ढंगले छिटो गर्ने हिसाबले पनि सोच्न सक्छ । यति नै दिनमा सकिन्छ भनेर भन्न सकिँदैन । कानुन व्यवसायी कतिजना छन्, उनीहरूको बहस कति लामो समयसम्म लाग्छ र इजलासले कति समयसम्म त्यो बहसलाई सुन्छ, त्यही कुरा दोहोरिराख्यो भने इजलासले व्यवस्थित गर्ने ढंगले सोच्ला ।’ 

हिरासतमा रहेकामध्ये छविलाल जोशी, रवि लामिछाने, लीला पछाई र रामबहादुर खनाललाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएको छ भने मिना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको हकमा सहकारी ठगीमा मात्रै अभियोग बुझाइएको छ । २०६५ असार १ मा तदर्थ सञ्चालक समिति गठन हुँदा मिना अध्यक्ष थिइन् । उनी गण्डकी प्रदेशसभाको पहिलो कार्यकालमा एमालेबाट समानुपातिक सांसद थिइन् । तदर्थ समितिमा उपाध्यक्ष रहेका कृष्णबहादुर उनका बुबा हुन् ।

यसअघि पुस ७ मा सातैजनाविरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो दाबी गर्दै कास्की अदालतमा पूरक अभियोग दर्ता भएको थियो । पुस ८ बाट प्रतिवादीको बयान लिन सुरु गरिएको थियो । यसअघि २०८० असोज १८ मा १९ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा हाल ६ जना पुर्पक्षमा कास्की कारागारमा थुनामा छन् । सहकारीका उपाध्यक्ष कैलाशकुमार दर्लामी, कोषाध्यक्ष एवं गोर्खा मिडियाका सञ्चालक कुमार रम्तेल, पूर्व सचिव अनुज नकर्मी, पूर्व सदस्य शिवबहादुर गुरुङ (महेन्द्र भोटे) र सदस्यहरु भविश्वर अर्याल र प्रमोद भट्टराई पुर्पक्षका लागि कारागारमा छन् । उनीहरूसहित १९ जनाविरुद्ध सुरुमा सहकारी ठगीमा मुद्दा दर्ता भएकोमा पुस ५ मा थप अभियोग लैजाने क्रममा संगठित अपराधमा समेत मुद्दा चलेको छ । 

पुस ७ मा पूरक अभियोग लगिएका ४४ मध्ये हाल ७ जना कास्की हिरासतमा छन् भने अन्य सहकारी ठगीसँग जोडिएका ३ जना कास्की बाहिरका कारागारमा पुर्पक्षमा थुनामा छन् । पूरक अभियोग लगिएका ४४ मध्ये ८ कानुनी व्यक्ति (कम्पनी) हुन् भने ५ जनालाई सम्पत्ति जफत प्रयोजनार्थ प्रतिवादी बनाइएको छ । तीमध्ये बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत अपचलनको अभियोगमा पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् । सूर्यदर्शनको पूर्वउपाध्यक्षसमेत रहेका उनीविरुद्ध कास्की अदालतमा पनि सहकारी ठगी कसूरमा मुद्दा चलेको छ ।

जम्मा ६३ प्रतिवादीमध्ये जीबी राई, छविलाल जोशी, रवि लामिछाने, लीला पछाई र रामबहादुर खनालविरुद्ध सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा चलेको छ । थुनछेक बहसपछि न्यायाधीश राईको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश गर्ने छ । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully