पोखरा — सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा रास्वपा सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा शुक्रबार बयान सकिएको छ । न्यायाधीश नीतिज राईको इजलाशमा बिहीबार र शुक्रबार उनको बयान भएको हो ।
बयानका क्रममा उनले सहकारीको रकम उनी पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा गएकोबारे आफूलाई थाहा नभएको बताएका छन् ।
गत आइतबार उनीसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेकाको अदालतमा सोमबारदेखि बयान चलिरहेको छ । यसअघि पूर्वडीआईजी छविलाल जोशी र लीला पछाईको बयान सकिएको छ ।
बिहीबार पछाईको बयान सकेर लामिछानेको बयान सुरु गरिएको थियो । सूर्यदर्शन ठगी प्रकरणमा जीबी राई, छविलाल जोशी । रवि लामिछानेसहित ६३ जना विरूद्ध १ अर्ब ५१ करोड रूपैयाँ बिगो माग गर्दै कास्की अदालतमा मुद्दा चलिरहेको छ । आइतबार रामबहादुर खनाललगायतको बयान सुरु हुने छ ।
