सहकारीको रकम फिर्ता नपाउँदा बचतकर्ता झन् अन्यौलमा

पुस ९, २०८१

प्रकाश बराल

The savers are more confused when they do not get the money back from the cooperative

बागलुङ — चिया पसल चलाएको आम्दानी सहकारीमा बचत गरेका बागलुङ नगरपालिका–२ का तुलसी गौतम रकम फिर्ता नपाउँदा तनाबमा छन् । सहकारी ठगीमा संलग्न पक्राउ पर्दा खुसी भएका गौतम बचत फिर्ताबारे चर्चा नभएपछि चिन्तामा परेका हुन् ।

२ अर्ब बढी रकम ठगेर इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली भाग्दा रकम फिर्ताका लागि पहल गरिदिन पीडितले प्रशासन, प्रहरी र राजनीतिक नेतृत्व गुहार्थे । अध्यक्ष नेपाली पुर्पक्षका लागि थुनामा गएपछि पीडितले रकम पाउने कुरा झन् अन्योल भएको छ । बचतकर्ता खाइनखाई सहकारीमा राखेको रकम फिर्ता हुने कुनै उपाय नदेखिँदा तनावमा छन् ।

इमेज सहकारीको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिनापछि अध्यक्ष नेपाली २०८० जेठ ४ गतेदेखि फरार थिए । त्यसपछि पीडित बचतकर्ताले रकम फिर्ताका लागि धेरै प्रयास गरे । दसैँअघि पक्राउ परेका अध्यक्ष नेपाली जेलमा छन् । तर बचतकर्ता भने रकम फिर्ताका लागि सास्ती खेपिरहेका छन् ।

‘सहकारी पुनर्गठन गरेर ऋण उठाउने, नेपालीको नाममा रहेको सम्पत्ति बेचेर बचत फिर्ता गर्ने जस्ता प्रयास भए, तर कानुनी रूपमा सम्भव भएन,’ पीडित डिलबहादुर कार्कीले भने, ‘राज्यले पक्राउ गरेर कानुनी कारबाही थालेपछि बचतकर्ताको रकम पनि फिर्ता होला भन्ने हो, तर हुने अवस्था देखिएन ।’ पटक पटकका आन्दोलनमा बचत फिर्ता पाउने आसले उत्साहितहरू अहिले निराश छन् ।

बागलुङ नगरपालिका–२ मा चिया पसल सञ्चालन गरेकी अर्की बचतकर्ता पूजा शर्माले कानुनी कारबाही स्वरूप अध्यक्ष नेपाली जेल गए पनि आफूहरूको बचत कहिले फिर्ता आउँछ भन्ने प्रश्न गरिन् । ‘पैसा फिर्ता पाइन्छ भन्ने आस मरिसक्यो, वर्षौँको दुःख खेर जाने भयो,’ उनले भनिन्, ‘राज्यले हामीजस्ता पीडितको समस्या बुझ्ने प्रयास गरेन ।’

एक वर्षअघि रेड कर्नर नोटिस जारी गरेर प्रहरीले नेपालीलाई भारतको भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर ल्याएको थियो । अध्यक्ष नेपालीविरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले आफ्नो बचत रकम ठगी गरेको आरोपमा जाहेरी दिएका थिए । तर उनीहरू कसैले पनि बचत फिर्ता पाउन सकेका छैनन् । नेपालीको नाममा रहेका घरजग्गा लिलामी गरेर पनि बचत फिर्ता पाउनुपर्ने माग सुनुवाइ नभएको शर्माले गुनासो गरिन् ।

स्थानीय ताराबहादुर कुँवरसहितका पीडितको जाहेरीले २०८० असार ३१ गते इमेज सहकारीका अध्यक्ष नेपालीसहित १० जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको थियो । साउन ४ गतेको आदेशले नेपालीबाहेक सञ्चालक र कर्मचारी समेतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

यो मुद्दामा सहकारीका सञ्चालकहरू चित्रबहादुर भण्डारी, नरमति बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरूलाई जिल्ला अदालत बागलुङको २०८० साउन ४ को आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ । भण्डारी, बुढा र किसान साउनमै थुनामा गएका थिए भने सोही आदेशकै आधारमा परियार र बुढामगर २०८० पुस पहिलो साता पक्राउ परेर पुर्पक्षका लागि कारागारमै छन् ।

सरकारी वकिलको कार्यालयले १ अर्ब ५४ करोड रुपैयाँ ठगीको आरोपमा मुद्दा दायर गरेको थियो । अध्यक्ष नेपाली ढोरपाटन नगरपालिका प्रमुख समेत हुन् । सहकारी ऐन २०७४ को दफा १२२ को ‘घ’, ‘ङ’, ‘च’, ‘छ’, ‘ज’ र ‘ट’ मा उल्लेखित कसुर गरेकोले उक्त ऐनको दफा १२४ को उपदफा १ बमोजिम हिनामिना गरेको रकम बराबरकै बिगो भराइ पाउन तथा ठगी मुद्दामा जेल सजाए समेतको माग गरिएको छ ।

तर उक्त बिगो कहिले र कुन प्रक्रियाले फिर्ता हुन्छ भन्ने अन्योल भएको पीडितले गुनासो गरे । अध्यक्ष नेपालीको तर्फबाट बहस गर्ने अधिवक्ता राम शर्माले भने सबै जाहेरवालाले मुद्दा फिर्ता गरेर घरजग्गा लिलाम गर्ने अवस्था आए छिटो भुक्तानी दिन सकिने बताए । ‘राज्यले लिलामी गरेर बचतकर्ताको रकम पाउने अवस्था लामो र असम्भव जस्तै हुन्छ,’ उनले भने, ‘छोटो प्रक्रियाबाट फिर्ताको प्रयासमा छौँ ।’

५ सय ५० बढी बचतकर्ताको जाहेरी फिर्ता गरेर रकम फिर्ता ल्याउने प्रयासमा लागेको उनले बताए । उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष रमेशबहादुर खड्का बचतकर्ताको रकम फिर्ताका लागि छोटो बाटो रोज्नुपर्ने बताउँछन् । त्यसका लागि सबैको साझा पहलबाट कानुनलाई पनि सघाउने, बचतकर्ताको पनि हित हुने बाटो खोज्नुपर्ने सुझाव दिए ।

प्रकाश बराल बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully