पोखरा — पूर्वडीआईजी एवं गोर्खा मिडिया नेटवर्कका पूर्व सञ्चालक छविलाल जोशीले ग्यालेक्सी टीभी सञ्चालन गर्ने सन्दर्भमा गोर्खा मिडियामा आफूभन्दा अघि रवि लामिछाने जोडिएको बयान दिएका छन् ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईसँगको बयानमा जोशीले संस्थापक सेयरधनी आफू भए पनि जीबी राई र एपीवान टेलिभिजनकी लक्ष्मी पौडेलमार्फत पहिले नै रवि लामिछाने गोर्खा मिडियासँग जोडिएको बयान दिएका हुन् ।
लामिछानेले मौकाको बयानका क्रममा आफू सेयरधनीका रुपमा नभई प्रबन्ध निर्देशकको रुपमा गोर्खा मिडिया नेटवर्कमा जोडिएको बताएका थिए । जोशीले सोमबार अदालतको बयानमा लामिछानेलाई सुरुमै सञ्चालक बनाउन खोजिए पनि उनी कालिकोटको रास्कोटमा अस्पताल निर्माणमा व्यस्त भएकोले उनकै सल्लाहमा कम्पनी दर्ता गरेको बताएका छन् ।
लामिछानेले मौकाको बयानका क्रममा गोर्खा मिडियामा प्रवन्ध निर्देशकको रुपमा ०७७ पुस २५ को निर्णय बमोजिम पुस ३० मा नियुक्ति पत्र लिएको, १५ प्रतिशत ‘स्वेट सेयर’ सहित ०७७ चैत १८ देखि सेयर सदस्य रहेको उल्लेख गरेका थिए । ‘तत्कालीन समयमा रवि लामिछाने कालिकोटको रासकोटमा अस्पताल निर्माण कार्यमा व्यस्त रहेकोले जीबी र मेरो नाममा ५०/५० प्रतिशत सेयर लगानी गरी प्रवन्धपत्र नियमावली समेत तयार गरी कुल ५ करोड रुपैयाँको चुक्ता पुँजी राखी गोर्खा मिडिया नेटवर्क प्रालि ०७७ पुस १५ मा कम्पनी रजिस्ट्रारको कार्यालयबाट दर्ता गरिएको हो,’ जोशीले अदालतमा बयानका क्रममा भनेका छन् ।
पुँजी वृद्धि गरेर ०७७ चैत १८ मा जीबीको ५० प्रतिशत सेयरबापत ६ करोड, छविको ३५ प्रतिशत सेयर वापत ४ करोड २० लाख लाख र रविको १५ प्रतिशत सेयर वापत १ करोड ८० लाख रुपैयाँ कायम भएको थियो । रवि लामिछाने सञ्चालक हुनुभन्दा पहिले नै जीबी, रवि र छविले केवाईसी भरेर कुनै एकजनाको हस्ताक्षर चल्ने गरी ०७७ कात्तिक ६ मा ग्लोबल आईएमई बैंकमा गोर्खा मिडिया नेटवर्कको खाता खोलिएको छविको बयानमा उल्लेख छ । उक्त खातामा हालसम्म भएको ९० करोड ४४ लाख १७ हजार ५ सय ५२ रुपैयाँको सम्पूर्ण जानकारी जीबी र रविलाई थाहा भएको बयान उनले दोहोर्याएका छन् ।
न्यायाधीश नीतिज राईले सरकारी वकिल कार्यालयले लगाएको आरोप, सजाय र जरिवानाको मागदाबीको सम्बन्धमा छविको भनाइको बारेमा सोधेका थिए । न्यायाधीशले सोधेका १५ प्रशनको जवाफ दिने क्रममा छविले आफ्नो घरमा भेटिएको भनिएको सफ्टवेयरको हार्डडिस्कबारे पहिला कुनै जानकारी नभएको बताएका थिए । उनले संसदीय छानबिन विशेष समिति र सरकारी वकिल र प्रहरीका अनुसन्धान अधिकारीलाई दिएकै बयान दोहोर्याएका थिए ।
‘सबै जीबी राईले खाए मासेका हुन् । मेरो कुनै पनि संलग्नता छैन । जुन हार्डडिस्क फेला पारिएको घर मेरो श्रीमतीको नाममा रहेको घर हो । त्यो घरभाडा सम्झौता साथै पेश गरेको छु । जीबी राईले आवश्यकताअनुसार साजसज्जा गरेका हुन्,’ इजलासमा बयान सुनेका एक कानुन व्यवसायीले छविलाई उद्धृत गर्दै भने, ‘मैले भाडामा दिएको घर हो । जीबी राईले राख्यो कि कसले राख्यो । हार्ड डिस्कको बारेमा बरामद परेपछि मात्रै थाहा पाएको, पहिले थाह थिएन ।’
उनको बयान मंगलबार पनि जारी रहने कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । ‘सामान्यतया कसूरमा बढी भूमिका भएका प्रतिवादीबाट बयान सुरु गरिन्छ,’ उनले भने, ‘मंगलबार छविको सकेर रवि लामिछानेको बयान सुरु गर्छौं । बिहीबारसम्म बयान सकेर छिटोमा शुक्रबारबाट थुनछेकको बहस सुरु गर्ने तयारी छ ।’
रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार दर्ता भएको मुद्दामा जोशीलाई सहकारी ऐन, २०७४ अन्तर्गत दफा १२४ का उपदफा (१) को खण्ड (घ) (६) बमोजिम ८ वर्षदेखि १० वर्ष कैद र खण्ड (घ) बमोजिम बिगो बराबरको जरिवाना माग गरिएको छ । सहकारी ठगीमा ५ करोड २६ लाख ६५ हजार रुपैयाँ बिगो अभियोगपत्रमा मागिएको छ । संगठित अपराध –निवारण) ऐन, २०७० अन्तर्गत सजायको ५० प्रतिशत थप गर्दा १५ वर्षसम्म कैद माग गरिएको छ । समपत्ति शुद्धीकरणतर्फ ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो तोकिएको छ ।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसूरको गाम्भीर्य हेरी दुई वर्षदेखि १५ वर्षसम्म कैद सजाय गर्न र दफा ३४ को उपदफा (१) र (२) बमोजिम सम्पत्ति जफत गर्न समेत माग गरिएको छ । उनीसँगै श्रीमती पद्मा जोशी र छोरा रोचक जोशीको समेत सम्पत्ति जफत गर्नुपर्ने माग सरकारी वकिल कार्यालयले गरेको छ ।
