काठमाडौँ — सहकारी ठगी आरोप लागेका सत्तारुढ कांग्रेसका उपसभापति तथा पूर्वमन्त्री धनराज गुरुङसँग प्रहरीले सोधपुछ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रतिनिधिसभा सदस्यसमेत रहेका गुरुङसँग मंगलबार दोस्रोपटक बयान कागज गराएको हो ।
सीआईबी प्रमुख एआईजी दीपक थापाका अनुसार ललितपुरको मितेरी सहकारी ठगी प्रकरणमा गुरुङसँग सीआईबीको लाजिम्पाटस्थित कार्यालयमा बोलाएर बयान कागज गराइएको हो ।
सीआईबीसमक्ष गुरुङले सहकारीले घर पनि लगेको र परिवार पनि बिगारेको भन्दै सहकारी ठगीमा आफ्नो संलग्नता इन्कार गरेका छन् । एआईजी थापाले ठगीको अनुसन्धान जारी रहेको र अझै तथ्य प्रमाणहरू संकलनका क्रममा रहेको बताए ।
'अनुसन्धानकै क्रममा गुरुङलाई सोधपुछ बयानका लागि डाकिएको हो । हामीले संकलन गरेका तथ्य, प्रमाणलाई टेकेर केही कुरा बुझ्नका लागि बोलाएका हौं । अनुसन्धान अझै जारी रहेकाले अरू कुरा खुल्दै जाला,' थापाले भने, 'ठगी प्रकरणमा केही व्यक्ति फरार छन् । उनीहरूको खोजीमा इन्टरपोलमार्फत रेड नोटिस नै जारी भइसकेको छ ।'
ललितपुरको मितेरी सहकारीमा श्रीमतीसँग मिलेर गुरुङले करोडौं रकम ठगी गरेको आरोप लागेको छ । उक्त सहकारीमा गुरुङले श्रीमती ज्योती गुरुङलाई २०५७ जेठ १२ मा सहायक स्तरको कर्मचारी बनाएका थिए । त्यसको २ महिनापछि साउन २५ मा ज्योति सहकारीको लेखापाल, २०७० वैशाख ४ मा वरिष्ठ लेखापाल र २०७५ वैशाख ४ मा महाप्रबन्धक बनेकी थिइन् ।
महाप्रबन्धक बनेपछि उनले ज्योतिबहादुर भण्डारीलाई सहकारीको रकम मिटरब्याजमा लगाएको पनि खुलेको छ । आफू महाप्रबन्धक भएपछि भण्डारीलाई उनले पटक–पटक सहकारीको रकम मिटरब्याजमा लगाएकी थिइन् । सुरुमा ज्योति गुरुङले सहकारीबाट ३० लाख रुपैयाँ झिकेर ज्योति भण्डारीलाई एक साताका लागि सापटी दिएकामा भण्डारीले ५ लाख थपेर फिर्ता गरेका थिए ।
दोस्रो चरणमा ४० लाख दिएकामा त्यसको अर्को साता १० लाख थपेर भण्डारीले रकम फिर्ता गरेको पनि खुलेको छ । एकपटक ५० लाख दिएकामा ६० लाख फिर्ता भयो । यसरी हप्तैपिच्छे मिटरब्याजमा सहकारीको रकम लगाउँदा आकर्षक पैसा आउन थालेपछि यो क्रम बढ्दै गएर उनले भण्डारीलाई करिब साढे ३ करोड रुपैयाँ मिटरब्याजमा लगाएकी थिइन् ।
तर, उक्त रकम फिर्ता नगरी भण्डारी सम्पर्कविहीन भए । सहकारीका एक सदस्य र अनुसन्धानरत प्रहरी स्रोतका अनुसार पत्नीको यो धन्दाबारे उसैबेला कांग्रेस नेता गुरुङ जानकार थिए । सहकारीबाट रकम अपचलनको क्रम २०७९ सालसम्म कायम रहेको भेटिएको पनि प्रहरी स्रोतको भनाइ छ ।
सहकारी प्रकरणको विषय सञ्चालक समिति र सेयरधनीसम्मै बाहिरिएपछि २०७६ मा गुरुङले पत्नीसँग अदालतमा सम्बन्धविच्छेद गरेका थिए । त्यसपछि पनि उनले श्रीमतीलाई हकवाला राखेर सहकारीबाट ऋण लिएका थिए भने २०७९ को निर्वाचनमा श्रीमतीको नाम ज्योती गुरुङ नै लेखेका थिए ।
