मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका नमोनारायण माझी विजयी

मंसिर १७, २०८१

पर्वत पोर्तेल

Namonarayan Majhi of the Maoist Center won the post of Gramthan rural municipality chairman of Morang

विराटनगर — मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमोनारायण माझी विजयी भएका छन् । माझी ६ हजार ९ सय ६९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम्  प्रतिस्पर्धी कांग्रेसका बलराम सरदार थारूले ५ हजार ३ सय ३३ मत प्राप्त गरे । 

त्यस्तै तेस्रो स्थानमा रहेका तुलसी राम विश्वासले ४ हजार १ सय ५९ मत ल्याउँदा राप्रपाका दिनेशकुमार थन्दारले  ५ सय ५५ मत ल्याए । 

त्यस्तै, समावेशी समाजवादी पार्टीका बोधनारायणी माझीले २३३, नेकपा एकीकृत समाजवादीका दिलबहादुर विश्वकर्माले १४४, स्वतन्त्र उम्मेदवार नमनारायण चौधरी थारूले १३०, नागरिक उन्मुक्ति पार्टीका बुद्धिचन विश्वास थारुले ८९, जनता समाजवादी पार्टीका सुरेशकुमार राजवंशीले ४७, मंगोल नेशनल अर्गनाइजेसनका भरत राईले ४५, जनमत पार्टीका विनोद कुमार माझीले ४२, राप्रपा नेपालका राजु मुसहरले २७, नेपाल मजदुर किसान पार्टीका प्रशुराम विश्वास थारुले २६, जनता समाजवादी पार्टीका धर्मेन्द्रकुमार चौधरीले १८ र नेपाल समाजवादी पार्टीका रामुकुमार चौधरीले १५ मत पाए । 

२०७९ को  स्थानीय तह निर्वाचनमा यस पालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको थियो ।  कांग्रेसबाट निर्वाचित जयप्रकाश गच्छदारको निधनपछि उपनिर्वाचन  भएको हो । 

विजयी उम्मेदवार माझी यस क्षेत्रमा लोकप्रिय नेता मानिन्छन् । २०७४ को स्थानीय तह निर्वाचनमा उनले मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट वडा नम्बर १ को अध्यक्ष जितेका  थिए । एक दशकभित्र तीन वटा दल फेरेका उनी पछिल्लो समय गत भदौमा माओवादी प्रवेश गरेका थिए । त्यसअघि उनी नेपाली कांग्रेसमा आबद्ध थिए । 

स्थानीय तह उपनिर्वाचन-२०८१उपनिर्वाचन-२०८१उपनिर्वाचन

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully