लत्रिएको पुलबाट त्रिशूली वारपार

बाढीले झोलुंगे पुलमा क्षति पुग्दा स्थानीयको दैनिकी कष्टकर, परीक्षा दिन जाने साना बच्चा बोकेर र ठूलालाई डोर्‍याएर झोलुंगे पुल तारिँदै

आश्विन १८, २०८१

हरिराम उप्रेती

Cross the trident from the bridge

चुम्लिङ्टार, चितवन — विद्यालयबाट फर्किएका सिर्जन र निशा मगर उर्लंदो त्रिशूलीको भेल माथि बार नभएको झोलुंगे पुल मुखमै गएर टक्क उभिए, तर्ने आँट गर्न सकेनन् । बावु रामबहादुर थापाले छोरा सिर्जन र निशालाई हात समातेर पुल तारेर सिलिङ्टार पुर्‍याएपछि बल्ल चयनको सास फेरे ।

शनिबारको बाढीले क्षति पुर्‍याएपछि स्थानीयले गोरखाको सहिद लखन गाउँपालिका–३ सिलिङ्टार र चितवनको इच्छाकामना–४ का चेरेस जोड्ने जीर्ण झोलुंगे पुलबाट ज्यानको बाजी लगाएर त्रिशूली नदी वारपार गर्नुपरेको छ । सिलिङ्टारका ५० बढी बालबालिका चितवनस्थित कुरिनटारको सर्वशान्ति मावि, प्रगति पाठशाला, ग्रिन फिल बोर्डिङ स्कुलमा अध्ययन गर्छन् ।

दिनभरजसो सिलिङ्टारका बासिन्दा विद्यालय जाने बालबालिकालाई त्रिशूली माथिको झोलुंगे पुल वारपार गराउन चेरेसमा बसेका थिए । ‘झोलुंगे पुलको बीचमा पुग्दा म आफैंलाई रिंगटा चल्छ, बिहान छिमेकीलाई बोलाएर पुल तारेर छोराछोरी स्कुल पठाएँ, परीक्षा छ विद्यालय नपठाई पनि भएको छैन,’ रामबहादुरले भने,‘फर्कंदा के कसो होला पीर लागिरह्यो, छोराछोरी स्कुल गएदेखि नै पुलको मुखमा कतिखेर फर्कन्छन् भनेर कुरेर बसेको छु ।’ 

Cross the trident from the bridgeत्रिशूलीको बाढीले बगाएर ल्याएको सिमलको रूख झोलुंगे पुलमा अड्किएपछि लठ्ठा भाँचिएर पुल लत्रिएको छ । झोलुंगे पुलमा अड्किएको सिमलको रूख मंगलबार कुरिनटारस्थित सशस्त्र प्रहरी, सेना, प्रहरी र स्थानीयले हटाए पनि त्रिशूलीले बगाएर ल्याएका मुढा भने अझै झोलुंगे पुलमा अड्किएका छन् । स्थानीयले पुलको एकातर्फको बार डोरी लगाएर अड्याएका छन् । अर्कोतर्फको बार नदीतर्फ फर्किएको छ । ‘पुल नै पाँच फिट तल खसेको छ । बार, लट्ठा छैन,’ उनले भने, ‘यो पुल नतरी अर्को विकल्प पनि छैन ।’

विद्यालयबाट फर्कने समय हुनै लाग्दा सर्वशान्ति माविमा ८ कक्षा पढ्ने छोरा सुमित र नातिनी साइरालाई झोलुंगे पुलबाट कटाउन मेखबहादुर गुरुङ चेरेसतर्फको झोलुंगे पुलको मुखमै थिए । ‘विद्यालय जाने बेला भयो, यो पुल कसरी कटाउने पीर, फर्कने बेला बालबच्चा कसरी तर्छन्, मन यही पुलतिर छ,’ उनले भने, ‘केटाकेटी ल्याउँदा र पुर्‍याउँदा पूरै दिन बितिरहेको छ ।’

पुलले विद्यालय जाने बाटो छेकेपछि चुमीस्वाँराका दुई परिवार कुरिनटारमा डेरा लिएर बस्न थालेको गुरुङले बताए । ‘बार पनि छैन, त्यसैमा पुल हल्लिन्छ, भगवान् भरोसा भन्दै अघि बढ्ने हो, केही गरी टेक्न नसके सिधै नदीमा पुगिन्छ,’ उनले भने, ‘केटाकेटी त त्यसै चिच्याएर जानै सक्दैनन्, हामी मुस्किलले आउजाउ थालेका छौँ ।’

स्थानीयले पुलमा अड्किएका मुढा फाल्न मंगलबार र बुधबार दिनभरजसो लगाए । ‘यो आपत्कालीन अवस्थामा आउन जान सकिन्छ कि भनेर झ्यास, अड्किएका मुढाहरू फाल्यौं,’ सिलिङ्टार टोल विकास संस्थाका अध्यक्ष रामबहादुर श्रेष्ठले भने, ‘यो पुल यत्तिकै मर्मत पनि सम्भव छैन, विज्ञलाई बोलाएर कसरी मर्मत गर्न सकिन्छ, अघि बढाउन पाए हुन्थ्यो ।’ 

सिलिङ्टारका स्थानीयलाई विकल्पका रूपमा एक घण्टा दूरीमा रहेको ठेउवाटारको झोलुंगे पुल छ । ठेउवाटारको दुईमध्ये एउटा झोलुंगे पुल असोज १२ को बाढीले जिपसहित बगाएको छ । अर्को पुलको लट्ठा चुँडिएर जोखिममा परेको छ । ‘ठेउवाटारको लट्ठा चुँडेको झोलुंगे पुल कस्सिएर हिँडे एक घण्टामा पुगिन्छ, तर बीचमा ताक्लुङ खोला छ, ठाडो खोला बढेर जोकोही तर्न सक्ने अवस्था नै छैन,’ श्रेष्ठले भने । 

Cross the trident from the bridgeविकल्प नभेटेपछि विद्यार्थी र बिरामीलाई हातेमालो गरेर सिलिङ्टारको झोलुंगे पुलबाटै त्रिशूली वारपार गराइरहेको उनले बताए । सिलिङ्टारमा मात्र ६४ घरधुरी छन् । उक्त बस्तीका विद्यार्थी अध्ययनका लागि चितवनतर्फको विद्यालयमा जाने गरेका छन् । उक्त पुल भएर सिलिङ्टारसहित, लामाछप, हटिया, बेतेनी, माथिल्लो ग्याजा, तल्लो ग्याजा, वर्रावोटलगायत ५ सय घरधुरीका स्थानीय आउजाउ गर्दै आएका थिए । 

असोज १२ गतेको त्रिशूलीको बाढीले चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी र गोरखाको सहिद लखन गाउँपालिका–४ ठेउवाटार जोड्ने झोलुंगे पुल पनि बगाएको छ । पुल बगाएपछि एक सय घरधुरीको बस्ती ठेउवाटारका बासिन्दा पनि समस्यामा परेका छन् । ‘ठेउवाटार जोड्न दुई वटा झोलुंगे पुल थिए, एउटा जिपसहित बगायो, अर्को जोखिममा छ,’ स्थानीय रविन लम्सालले भने, ‘पुल नहुँदा विद्यार्थी समस्यामा परेका छन् ।’

पृथ्वीराजमार्ग र ठेउवाटार जोड्ने लट्ठा चुँडाएको झोलुंगे पुलबाट स्थानीय र विद्यार्थी आउजाउ गरिरहेका छन् । ‘धारापानी जोड्ने झोलुंगे पुलबाट १५/२० मिनेटमा विद्यार्थी स्कुल पुग्थे, अहिले गाउँ अल्लो छेउको पुलबाट जाँदा, आधा घण्टा बढी लाग्छ,’ उनले भने । ठेउवाटारका ८० भन्दा बढी विद्यार्थी कुरिनटारको सर्वशान्ति माविलगायतका चितवनतर्फको बोर्डिङ स्कुलमा अध्ययनका लागि जाने गरेका छन् । ‘पुल लग्यो, १२ गतेबाट बिजुली छैन,’ लम्सालले भने, ‘गाउँमा बत्ती बाल्न दुई दिनदेखि श्रमदान गरिरहेका छौं, अझै कति दिन लाग्छ टुंगो छैन, मोबाइल चार्ज गर्न पनि पारिको होटल (पृथ्वी राजमार्ग) पुग्नुपरेको छ ।’

हरिराम उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully