बर्दिबासबाट वैकल्पिक मार्ग हुँदै राजधानी पुग्न ३ सय १५ किलोमिटरको यात्रा गर्नुपर्ने
दोलखा — बाढीले खुर्कोटको पुल बगाएर सडक सम्पर्क विच्छेद भएका बेला पूर्वी तराईबाट राजधानी काठमाडौंसम्म आउन थप वैकल्पिक सडक मार्ग खुलेको छ । रामेछाप, ओखलढुंगा र सोलुखुम्बुका सवारीसाधनका लागि पुष्पलाल (मध्यपहाडी) राजमार्ग सञ्चालनमा आएको हो । पहिरोले अवरुद्ध भएको दोलालघाटदेखि जिरोकिलो हुँदै नगरकोटबाट जगाती आउने अर्को सडक सोमबारदेखि नै सञ्चालनमा छ ।
असोज १२ को बाढीले तामाकोशी गाउँपालिका–५ किर्नेटारमा खिम्ती जलविद्युत् केन्द्रको विद्युत्गृह नजिकै पुष्पलाल राजमार्गको ४ सय मिटर खण्ड तामाकोशी नदीले कटान गरेको थियो । खिम्ती जलविद्युत् केन्द्रका प्रतिनिधि, रामेछाप र दोलखाका प्रमुख जिल्ला अधिकारीसहित राजनीतिक दलहरूको सहमतिमा जलविद्युत् केन्द्रको आवास क्षेत्रबाट नयाँ ट्र्याक खन्ने सहमति मंगलबार भएको थियो । ट्र्याक खन्न बुधबार बिहानैबाट २ वटा एक्स्काभेटर प्रयोग गरिएको थियो । ‘दिनभरिमा सडकको ट्र्याक खन्ने काम सकिएको छ,’ दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले भने ।
सडक सम्पर्क विच्छेदमा परेपछि रामेछापबाट बिरामीलाई अस्पताल लान र अत्यावश्यक वस्तु ढुवानी गर्न समस्या भएको थियो । किर्नेटार खण्ड खुलेपछि रामेछापको मन्थली हुँदै पुष्पलाल राजमार्गबाट लामोसाँघु–जिरी सडक र अरनिको राजमार्ग जोडिन्छ । बीपी राजमार्ग खुल्नुअघि त्यस भेगका बासिन्दाले यही सडकबाट यात्रा गर्थे । रामेछापसहित ओखलढुंगा र सोलुखुम्बुका केही भेगलाई राजधानीसँग सिधा जोड्ने पुष्पलाल राजमार्गअन्तर्गत खुर्कोटमा सुनकोशी नदीको मोटरेबल पुल बगेपछि अत्यावश्यक ढुवानी बन्द छ । खाँडादेवी गाउँपालिका–१ खैरनीघाटको अर्को मोटरेबल पुलसमेत बाढीले बगाएको छ । बीपी राजमार्गलाई जोड्ने खाँडादेवी गाउँपालिका–३ सित्खामा रहेको मोटरेबल पुलबाट सवारीसाधन आउजाउ गर्ने भए पनि काभ्रेको रोशी खोलाको बाढीका कारण राजमार्ग ठप्प छ ।
बर्दिबासबाट सिन्धुलीको मूलकोट नजिकैसम्म बीपी राजमार्ग सञ्चालनमा छ । खुर्कोटबाट ३० किलोमिटर यात्रापछि रामेछाप र सिन्धुली जोड्ने सित्खाको मोटरेबल पुल भएर खाँडादेवी गाउँपालिका हुँदै करिब ३४ किलोमिटर सडक पार गरेपछि मन्थली निस्कन सकिन्छ । उक्त सडक कालोपत्र छ । मन्थलीबाट सिधै पुष्पलाल राजमार्गबाट दोलखाको चरिकोट हुँदै अरनिको राजमार्गबाट राजधानी जोडिन्छ । बर्दिबासबाट यो वैकल्पिक मार्ग प्रयोग गरेर राजधानी पुग्न ३ सय १५ किलोमिटरको यात्रा गर्नुपर्ने हुन्छ ।
सित्खाको पुलले हिमाली र पहाडी जिल्लालाई तराईसँग जोड्ने रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नवीन थापामगरले बताए । तत्कालका लागि बीपी राजमार्ग जोड्ने सित्खा–पकरबास, मन्थली सडकबाट रामेछाप, दोलखा लगायतका जिल्लामा खाद्यान्न ढुवानी गर्ने सहमति भएको पनि उनले जानकारी दिए । ‘यो सडक भएर दसैं लक्षित खाद्यान्नलगायत अत्यावश्यक सामान ढुवानी हुन्छ,’ उनले भने, ‘विकल्पका रूपमा अन्तिम सडक यही मात्रै बाँकी छ, खुर्कोटको पुल नबनेसम्म यही सडक प्रयोगमा आउनेछ ।’ यो सडक प्रयोग गर्दा ढुवानी खर्च केही महँगो हुने भए पनि अन्य विकल्प नभएको थापामगरले बताए ।
सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिकाले ठाउँठाउँको अवरोध हटाएपछि साना सवारीसाधन सल्लेरी–जिरी सडकमा चल्न थालेका छन् । त्यस क्षेत्रका साना जिपले सिधै सल्लेरी–लामाजुरा–जिरी–चरिकोट हुँदै राजधानी आउजाउ गरिरहेका छन् ।
