वीपी राजमार्ग : कहिले खुल्छ धुलिखेल-नेपालथोक खण्ड ?

आश्विन १७, २०८१

राजकुमार कार्कीर्

VP Highway: When will the Dhulikhel-Nepalthok section open?

नेपालथोक, सिन्धुली — दसैं सुरु भइसकेकाले अधिकांशलाई घर जाने चटारो छ । गत साताको बाढीपहिरोका कारण राजमार्गको अवस्थाले कसरी यात्रा गर्ने भन्ने निश्चित छैन । बीपी राजमार्गको नेपालथोक–धुलिखेल खण्ड कहिले खुल्छ भनेर धेरैको चासो छ ।

यतिखेर राजधानीबाट हेटौंडा निस्केर मदन भण्डारी राजमार्ग भएर दुई दिन लगाएर सवारीसाधन आवतजावत गरिरहेका छन् । बीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिवास सडक १६० किलोमिटर मात्र छ ।

५/६ घण्टामा ओहोरदोहोर हुने सडक एकतर्फी हुँदा पनि बढीमा ९ घण्टा लाग्ने भएकाले नेपालथोक–धुलिखेल खण्ड संचालनमा कतिखेर आउने हो भनेर यात्रुहरु कुरिरहेका छन् ।

खुर्कोटबाट नेपालथोक हुँदै बालुवासम्मको ३७ किलोमिटर धुलिखेलबाट भकुण्डेबेसीं हुँदै चौकीडाँडासम्मको करिब ३५ किलोमिटर गरी ७२ किलोमिटर संचालनमा आएको छ । ८४ किलोमिटर मध्ये १२ किलोमिटर क्षेत्रमा सडक बगाएको छ । सो खण्डलाई अस्थायीरुपमा संचालनमा ल्याउन सके सडक सुचारु हुने सुनकोशी गाउँपालिकाका उपाध्यक्ष कपिल कोइरालाले बताए ।

VP Highway: When will the Dhulikhel-Nepalthok section open?

रोशी खोला, सुनकोशीको बाढी तथा पहिरोले क्षतविक्षत भएको खुर्कोट–नेपालथोक–धुलिखेल खण्डको ८४ किलोमिटर मध्ये खुर्कोट नेपालथोकको ३४ किलोमिटरमा पहिरो पन्छाएर एकतर्फी सडक संचालनमा आएको छ । पहिरो गएका दर्जनौं स्थानमा एकतर्फी सडक खुलेको छ भने सुनकोशीले कटान गरेको ठाउँमा डाइभर्सन बनाइएको छ ।

लगातार तीन दिनको प्रयासपछि बीपी राजमार्ग अन्तर्गत सुनकोशी–१ नेपालथोकबाट बिहीबार मध्यान्हपछि आँपघारी सडक खुलेको छ । रोशी खोलाको बाढीले नेपालथोक आँपघारी बीचको बान्द्रेओडारमा दुई सय मिटर सडक बगाएको थियो । चार वटा मेशिन प्रयोग गरेर रोशी खोला तर्काएपछि किनारबाट अस्थायी डाइभर्सन निर्माण गरी संचालनमा आएको हो ।

अस्थायी सडक संचालनमा आएसँगै आँपघारी र बालुवामा सातादेखि अड्किएका २१ वटा पूर्वतर्फ चल्ने सवारीसाधन नेपालथोक–खुर्कोट भएर गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ । सडक डिभिजन कार्यालय खाल्टे र सुनकोशी गाउँपालिकाको एक्स्काभेटर, डोजर गरी यस क्षेत्रमा पाँच वटाले काम गरिरहेका छन् ।

मंगलटार र चौकीडाँडा बीचको सडक अस्थायी रुपमा संचालनमा ल्याउन सेनालाई समेत परिचालित गरी स्थानीयलाई श्रमदानमा लगाउन सके अझ छिटो काम हुने सडक निर्माणमा जुटेका स्थानीय शान्त तामाङले बताए । बगाएको सडकमा ट्रयाक खोल्नुपर्ने हुन्छ । यो खण्ड ५० किलोमिटर छ ।

VP Highway: When will the Dhulikhel-Nepalthok section open?

बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिवास सडकको तीनखण्ड संचालनमा रहेको समेत उनले बताए । शुक्रबारसम्ममा सिन्धुलीतर्फको बीपी राजमार्ग एकतर्फी संचालनमा आउन सक्ने सिन्धुली प्रहरीका एसपी गोविन्दराज काफ्लेले बताए । अस्थायी सडक खोल्दै जाने र बीचमा अड्किएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाउन प्राथमिकता दिएको उनको भनाइ छ ।

नेपालथोक बालुवाबाहेक यो खण्डमा ५ स्थानमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्ण क्षति गरेको छ । नेपालथोक–धुलिखेल खण्डमा डेढ किलोमिटर सडक पूर्ण क्षति भएको अनुमान छ ।

सबैभन्दा बढी काभ्रेको चौकीडाँडा करिब आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ । यहाँ पनि काम सुरु भइसकेको छ । रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २०० मिटरभन्दा बढी सडक पूर्ण रुपमा क्षति भएको छ । थली बेसींमा पनि रोशी खोलाले २०० मिटर र नार्के पुलनजिक २०० मिटरको हाराहारीमा सडक रोशी खोलाको बाढीले बगाएको छ ।

अस्थायी सडक संचालनको काममा खटिएका स्थानीय कौशल कोइराला राज्य संयन्त्रको दरिलो उपस्थिति भए सडकमा परेको विपत्तीबाट सहजै त्राण पाउने विश्वास गर्छन् ।

उनले पनि मेसिन सँगसँगै त्यसलाई मर्मत गर्ने प्राविधिक कर्मचारी र तारजाली भर्ने जनशक्ति उपलव्ध हुने हो भने एक डेढ किलोमिटर अस्थायी सडक निर्माण गर्न बेर नलाग्ने उनको तर्क छ ।

राजकुमार

Link copied successfully