सामुदायिक वन र सार्वजनिक क्षेत्र मासेर वर्षौंदेखि भइरहेको प्राकृतिक दोहन नरोक्दा पहिरो खसेर नल्लु खोलामा बाढी, बाढीले नल्लु खोला तटीय क्षेत्रका डेढ दर्जन घर बगायो
काठमाडौँ — ललितपुरको गोदावरी नगरपालिका–६, लेलेका राजकुमार नगरकोटीले गत वैशाखमा मात्रै दुईतले पक्की घर बनाएका थिए । शनिबार नल्लु खोलामा आएको बाढीले त्यही नयाँ घर बगाइदियो । खेतबारी बगरमा परिणत भएको छ । अहिले परिवारका अरू ८ जना आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।
लेलेकै भोला पहरीको घर पनि बाढीले बगाएको छ, खेतबारीको नामोनिसान छैन । श्रीमती र दुई छोराछोरीसहित उनले पनि आफन्तकामा ओत लिएका छन् । त्यहीँका राजेश नगरकोटीको पीडा पनि उस्तै छ । नल्लुको बाढीले घरसँगै अन्नपात, पशुचौपाया बगाएको छ । ‘अब घर कसरी बनाउने हो, के गरी बाँच्ने हो !’ उनले सुस्केरा हाले ।
गत शुक्रबार र शनिबारको भारी वर्षाका कारण आएको बाढीले उपत्यकाका तीन जिल्लामध्ये ललितपुरमा सबैभन्दा बढी मानवीय क्षति भएको छ । ललितपुरमा ४५ जनाले ज्यान गुमाए, ६ जना अझै बेपत्ता छन् । काठमाडौं जिल्लामा १७ र भक्तपुरमा ५ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीपहिरोबाट ललितपुरमा २ हजार ७ सय ५१ जना प्रभावित बनेका छन् । उद्धार गरिएका १ हजार ९३ मध्ये ३ जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । बाढीपहिरोले लेले–नल्लु–टीकाभैरव क्षेत्रमा डेढ दर्जन घर बगाएको छ । लेलेमा पहिरोका कारण दुई जनाको मृत्यु भएको छ ।
नल्लुको बाढी नख्खुमा मिसिएपछि दर्जनौं घरमा क्षति पुगेको छ । ‘विनाशकारी बाढी आउनुको कारण ढुंगा खानी र क्रसर उद्योग नै हुन्,’ टीकाभैरवका रामप्रसाद बजगाईंले भने । उनका अनुसार त्यस्ता उद्योगले जथाभावी ढुंगा र बालुवा निकाल्ने गरेका थिए । जंगल फाँडेर र डाँडै काटेर प्राकृतिक दोहन गर्दा पनि स्थानीय सरकार र प्रहरी–प्रशासनले चासो दिएका थिएनन् । ‘जथाभावी पहाड खनिएकाले पहिरो आयो, पहिरो खोलामा पसेपछि बाढी बन्यो, बाढीले निम्त्याउने विनाश नै हो, अहिले हामी त्यही विनाशको मारमा पर्यौं,’ बजगाईंले भने ।
टीकाभैरव, लेले, देवीचौरलगायत क्षेत्रका सामुदायिक र राष्ट्रिय वन मास्ने गरी भइरहेको उत्खनन रोक्न विगतमा जनस्तरबाट पहल पनि भएका थिए । समाचारहरूसमेत आएपछि १५ वर्षअघि नै संसद्को प्राकृतिक स्रोत समितिले अवैध खानी बन्द गर्न सरकारलाई निर्देशन दिएको थियो । तर संसदीय समितिको निर्देशन र स्थानीयको हारगुहारलाई सरकारी संयन्त्रहरूले वास्ता गरेनन् । लेले–नल्लु क्षेत्रकै सञ्चमाया नगरकोटीले खानी क्षेत्रबाट आएको बाढीले आफ्नो एउटा गाई बगाएको, ५ वटा पुरेको बताइन् । त्यसको कारण भने खानी उद्योग नरहेको स्थानीय बताउँछन् ।
लेले–नल्लु–टीकाभैरव क्षेत्रको बाढीपहिरो प्रभावित क्षेत्रमा अझै पनि सरकारको उपस्थिति नरहेको स्थानीय बासिन्दा गुनासो गर्छन् । तर, ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले मृतक/विस्थापित/प्रभावितलाई स्थानीय तहसँगको समन्वयमा आश्रयस्थल र राहत व्यवस्थापन गरिरहेको बताए ।
‘नगरपालिकाको मागका आधारमा त्रिपाल, ब्लांकेट, म्याटलगायतका सामग्री उपलब्ध गराइरहेका छौं,’ उनले भने । बाढीपहिरो प्रभावित स्थानमा महामारीलगायतका थप समस्या आउन नदिन जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत स्थानीय तहसँग समन्वय गरेर वडास्तरसम्म सचेतनामूलक कार्यक्रम चलाइएको पनि प्रजिअ श्रेष्ठले जानकारी दिए । ‘आवश्यकताअनुसार औषधि तथा उपचारको व्यवस्था मिलाइएको छ,’ उनले भने ।
