अवैध ढुंगाखानी, क्रसर उद्योगको मनोमानी  : रोशीको बाढीले ७ सय परिवार घरबारविहीन

अवैध ढुंगाखानी तथा क्रसर उद्योगले जथाभावी उत्खनन गर्दा बाढीपहिरोको जोखिम बढेको भन्दै स्थानीयले विरोध गर्दै आएका थिए, तर प्रशासन र स्थानीय तहले चासो दिएका थिएनन्, अहिले भयानक विपत्ति आउँदा काभ्रेको रोशी खोला आसपासका ७ सय परिवार घरबारविहीन 

आश्विन १६, २०८१

ज्योती श्रेष्ठ

Illegal stone quarrying, crusher industry arbitrariness: 700 families homeless due to Roshi flood

काठमाडौँ — रोशी खोला आसपासमा अवैध रूपमा सञ्चालित ढुंगाखानी तथा क्रसर उद्योगकै कारण पनौती नगरपालिकाको रोशी बजारमा यस पटक बाढीपहिरोले बढी क्षति गरेको पाइएको छ । ढुंगाखानी उद्योगले जथाभावी उत्खनन गर्दा बाढीपहिरोको जोखिम बढेको भन्दै स्थानीयले पहिलेदेखि नै ध्यानाकर्षण गराउँदा पनि स्थानीय तहलगायतका निकायले चासो दिएका थिएनन् । 

पनौती नगरपालिकाको वडा नं १२ मा आधा दर्जन ढुंगाखानी उद्योग छन् । ‘खानीबाट निस्किने धूलो/माटो खोलामै फालिन्थ्यो । त्यसैले खोला पुरिँदै गएको थियो । निरन्तर झरीले पानीको सतह बढाउँदा खोला बस्तीमा पसेर ठूलो क्षति भयो,’ रोशी बजारका एक स्थानीयले भने । उनका अनुसार ढुंगाखानी र क्रसर उद्योगका कारण रोशी खोला प्रायः धमिलो बग्ने गर्थ्यो । पनौती–१२ कै कलाँतीमा भने प्राकृतिक कारणबाटै पहिरो गएको उनले बताए । 

शुक्रबार रातिको बाढीपहिरोले पनौती नगरपालिकामा मात्र २० जनाको मृत्यु भएको छ । पालिकाका वडा नं १, २, ४, ७, ८, ११ र १२ का करिब ७ सय परिवार बिचल्ली बनेका छन् । वडा नम्बर १२ का मात्रै ३ सय घरधुरी विस्थापित भएका छन् । 

Illegal stone quarrying, crusher industry arbitrariness: 700 families homeless due to Roshi floodपनौती– १२ कलाँते, गुरुङ गाउँकी सलिना गुरुङ रोशी खोलाको डिलैडिल अगाडि लाग्दै थिइन् । तर उनले सडक कता हो ? सडकछेउमा बनेका घर कहाँ गए ? केही भेउ पाइनन् । सबैतिर खोला र ढुंगेबगर मात्रै छ । खोलाको बीचमा एक/दुई वटा घरहरू ढलेका अवस्थामा थिए । मंगलबार गुरुङ गाउँ पुग्दा सलिनाले आफ्नो घर नै कहाँ थियो भन्ने मेलोमेसो पाउन सकिनन् ।

रोशी खोलामा बाढी आउन थालेपछि सलिनाले गत शुक्रबार मध्यरातमा घर छाडेकी थिइन् । घरबाट निस्कँदा शरीरमा लगाएको एकसरो कपडाबाहेक उनको साथमा केही थिएन । ‘त्यो समयमा ज्यान जोगाउनु नै सबैभन्दा ठूलो कुरा थियो,’ उनले भनिन्, ‘रातको १२ बजे नै हामी घरमाथि जंगलको बाटो हुँदै अगाडि बढ्यौं । बाटामा पनि पहिरो खसिरहेको थियो । बिहानपख पनौती बजार पुग्यौं । हामी भाग्यले बाँच्यौं ।’ 

Illegal stone quarrying, crusher industry arbitrariness: 700 families homeless due to Roshi floodरोशी खोलाको बाढीले पनौती नगरपालिकाका वडा नं १, २, ४, ७, ८, ११ र १२ का करिब ७ सय परिवारलाई नै सलिनाको परिवारलाई जस्तै बिचल्ली बनाइदिएको छ । वडा नम्बर १२ का मात्रै ३ सय घरधुरी विस्थापित भएका छन् । वडा नं ८ स्थित भालेश्वरबाट कलाँतीतर्फ जति अघि लाग्यो, त्यति नै हृदयविदारक दृश्य मात्रै देखिन्छन् । करिब १ किलोमिटर पार गरेर गुरुङ गाउँसम्म पुग्दा लगभग सबै घरमा बाढी पसेको देखिन्छ । दर्जनौं घर बस्नै नमिल्ने गरी भत्किएका छन् । कुनैको एक पाखा मात्रै बाँकी छ, कुनै ढल्किएर लड्नै लागेका छन् । रोशी खोलामा पानीको बहाव भने वर्षा थामिएपछि घटेको छ । 

घरबारविहीन भएका अधिकांशले दुई दिनसम्म गाउँ नजिकैको स्कुलमा रात बिताएका थिए । त्यसपछि पनि राहत, उद्धार नपाएपछि र सरकारी उपस्थिति पनि नभएपछि सबैजसो तितरवितर भएका छन् । स्थानीय दीपक तामाङका अनुसार अधिकांश पीडित पनौती बजार र काठमाडौंमा रहेका आफन्तको घर तथा डेरामा पुगेका छन् । कोही पनौतीमा नयाँ डेरा खोज्दै छन् । डेरासमेत खोज्न नसक्नेहरू क्षतिग्रस्त घरमै फर्किएका छन् ।

Illegal stone quarrying, crusher industry arbitrariness: 700 families homeless due to Roshi floodभग्नावशेष घरमै फर्कनका लागि पनि गाउँमा धेरैको मृत्यु भएकाले त्रासदीपूर्ण अवस्था छ । पहिरोमा परेर आफ्नै अगाडि मान्छे मरेको देखेपछि गाउँलेहरू त्रसित मानसिकतामा रहेको स्थानीय दीपक तामाङ बताउँछन् । डरले गर्दा धेरैले गाउँ छाडेर हिँडेका छन् । ‘सुरक्षित ठाउँ खोज्दै कोही पनौती बजारतिर छन्, कोही आफन्तकहाँ पुगेका छन्,’ उनले भने । ५२ वर्षीया सीता लामाले पहिरोको त्रासले सुरक्षित ठाउँमा डेरा खोजेर बस्न थालेको सुनाइन् । ‘ज्यान त जोगाउनैपर्‍यो,’ उनले भनिन्, ‘छोराहरूले अलिकति तल कोठा खोजेछन् तर बत्ती, पानी छैन ।’ 

मीरा केसीको घर पहिला रोशी खोलाभन्दा निकै पर थियो । खोलाको किनारमा सडक थियो । तर अहिले उनको घर खोलाको बीचमा छ । मंगलबार मीरा घरछेउको गोठमा बाँधेको गाईलाई दानाको जोरजाममा व्यस्त थिइन् । ‘आफ्नो ज्यान त जसोतसो बचायौं । यी गाईबस्तुलाई कहाँ लाने ? कहाँ राख्ने ? कसरी राख्ने ?’ उनले भनिन् ।

Illegal stone quarrying, crusher industry arbitrariness: 700 families homeless due to Roshi floodरोशी उर्लेर आउँदा मीराका श्रीमान् पहिरो पन्छाउन गएका थिए । मीरा एक्लैले परिवारका सबैलाई खोला तारिन् । ‘विपद्का बेला हिम्मत र आँट आफैं आउँदो रहेछ । पहिला ससुरालाई पारि कटाएँ । त्यसपछि सासूलाई । अनि बालबच्चा लिएर गएँ,’ उनले भनिन्, ‘दुई रात छिमेकीकहाँ बस्यौं ।’ घर–गोठमा बाढी पसे पनि गाईबस्तुलाई क्षति नगरेकाले अहिले फेरि तिनकै सुसारमा उनी लागेकी छन् । ‘यिनको पनि त माया लाग्छ । आफू पारि बसे पनि गाईबस्तुको चिन्ता लागिरहेको थियो । ३/४ दिनदेखि भोकाएका छन् । पानी मात्रै भए पनि खुवाउन पाइयो,’ उनले भनिन् ।

Illegal stone quarrying, crusher industry arbitrariness: 700 families homeless due to Roshi floodपनौती नगरपालिकाले बाढीपहिरोपीडितलाई राहतका लागि बल्ल तयारी गर्दै छ । ‘पनौतीमा भएको भौतिक तथा मानवीय क्षतिबारे जिल्ला विपद् व्यवस्थापन समिति, संघ र प्रदेश सरकारलाई जानकारी गराएका छौं । विपद् व्यवस्थापन तथा राहतका लागि के–कसरी गर्न सकिन्छ भन्नेबारेमा पनि छलफल गरेका छौं,’ नगरपालिका प्रमुख रामशरण भण्डारीले भने । पूर्ण रूपमा घरबारविहीन भएर आश्रय नपाएकालाई आफूहरूले खोजिरहेको उनले बताए । ‘पीडितलाई वडा १२ मा रहेको इन्द्रादेवी स्कुलमा शनिबार र आइतबार सुरक्षित राखिएको थियो । केही परिवार आफन्त खोज्दै हिँड्नुभएछ,’ उनले भने, ‘केही विस्थापित जेनतेन आफ्नै घरमा बस्ने भनेर फर्किएको जानकारी पाएका छौं ।’ 

Illegal stone quarrying, crusher industry arbitrariness: 700 families homeless due to Roshi floodकाभ्रे जिल्लामा बाढीपहिरोबाट ६५ जनाले ज्यान गुमाएका छन् । समयमै उद्धार र उपचार नहुँदा पनि कतिपयको ज्यान गएको सम्बन्धित परिवारको गुनासो छ । बाढीपहिरोबाट धेरै मानवीय तथा भौतिक क्षति पनौती, रोशी, बेथानचोक, तेमाल गाउँपालिकामा भएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेकी प्रमुख प्रहरी उपरीक्षक बसुन्धरा खड्काका अनुसार बाढीपहिरोमा परी ७१ जना घाइते भएका छन् भने ८ बेपत्ता छन् । 

स्थानीय ५२ वर्षीय वीरबहादुर लामाका अनुसार अविरल वर्षासँगै चट्याङ पनि पर्न थालेपछि गाउँमा विपत्ति आउँछ भनेर खैलाबैला भएको थियो । कलाँतीमा शुक्रबार दिउँसैदेखि नै बिजुलीबत्ती थिएन । रात छिप्पिँदै गर्दा झरी झनै दर्किन थालेको थियो । ‘गाउँका 

Illegal stone quarrying, crusher industry arbitrariness: 700 families homeless due to Roshi floodअगुवाले सबैलाई घरबाट निस्किएर भाग्न भन्दै थिए, त्यत्तिकैमा पहिरोले एउटा घरलाई गर्ल्याम्मै पुर्‍यो,’ लामाले सुनाए । उनका अनुसार त्यसमा पुरिएका २० वर्षका अनिश तिमिल्सनालाई जोगाउन जाँदा छिमेकी ३५ वर्षीया गीता तिमिल्सना पनि पुरिइन् । स्थानीयले अनिशलाई रातको करिब २ बजेतिर जीवितै बाहिर निकाले । तर गीताको ज्यान बचेन । अनिशलाई आइतबार बिहान सेनाको हेलिकोप्टरले धुलिखेल अस्पताल लगेको थियो । ‘तर, बीचबाटोमै अनिशको मृत्यु भएको खबर पायौं,’ लामाले भने, ‘आइतबार बिहानसम्म बोलिरहेको मान्छेले ज्यान गुमायो ।’

स्थानीयका अनुसार रोशीले यति ठूलो क्षति गरेको पहिलो पटक हो । २०३६ असोज १३ मा पनि कलाँतीमा बाढी आएको थियो । त्यसका साक्षी ५४ वर्षीय गोविन्दप्रसाद हुमागाईंका अनुसार त्यसबेला क्षति भने यति धेरै भएको थिएन । ‘मैले धेरैवटा प्रकोप भोगें । बाढीपहिरो, भूकम्प देखें । तर यस्तो विपत्ति कहिल्यै देखेको थिइनँ,’ उनले भने, ‘यस पटक बाढी र पहिरो एकैपटक ओइरियो । पहिले सानोतिनो आउँथ्यो । यस्तो पहाड खसालेर बस्ती बगाएको थाहा छैन ।’ 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully