सरकार खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम गरिरहेको छ : गृहमन्त्री लेखक

आश्विन १५, २०८१

कान्तिपुर संवाददाता

The government is working on search and rescue, relief, treatment and road rehabilitation: Home Minister Author

काठमाडौँ — गृहमन्त्री रमेश लेखकले सरकारले विपद्पछि खोज तथा उद्धार, राहत, उपचार र सडक सुचारु गर्ने काम प्राथमिकताका साथ गरिरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले असोज ११ र १२ गतेको विपद्पछि सरकार तत्कालै खोज तथा उद्धारमा सक्रिय भएको बताएका हुन् ।

त्यसपछि राहत वितरण, घाइतेहरूको उपचार र अवरुद्ध भएका सडक सञ्जालहरू सुचारु गर्नका लागि सरकार क्रियाशील भइरहेको उनले बताए । उनले विभिन्न सडक मार्गमा अलपत्र परेका यात्रुहरूलाई हेलिकप्टरमार्फत उद्धार गरिएको जानकारी गराए ।

बिरामीहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचार भइरहेको उनले बताए । त्यस्तै सडक सञ्जाल मर्मतको काम पनि सबै अवरुद्ध भएका ठाउँहरूमा चलिरहेको उनले उल्लेख गरे । गृहमन्त्री लेखकले ललितपुरको नख्खुमा बाढीमा परेका सर्वसाधारणहरूलाई समयमै उद्धार गर्नका लागि सरकार पुगेको भएपनि सम्भव नभएको प्रष्ट्याए ।

नख्खु बाढीमा टिनको छानामाथि बसेर गुहार मागिरहेका नागरिकहरूलाई समयमै उद्धार गर्न नसक्दा उनीहरू बगेका थिए । सो कुराको सांसदहरूले आलोचना गरेसँगै उनले त्यहाँ उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी पुगेको भएपनि प्रतिकुल मौसमका कारण उद्धार सम्भव नभएको बताए । 

उनले भने, ‘नख्खुमा सरकारको उपस्थिति भएन, सरकार पुग्नै सकेन । सरकारले हेर्नै सकेन भन्ने होइन । हामीले प्रयत्न गरेको हो । सशस्त्र प्रहरी, नेपाल प्रहरी पनि त्यहाँ गएको छ । प्रहरीले उहाँहरूलाई उद्धार गर्ने प्रयत्न गरेको छ । हेलिकप्टरबाट पनि उद्धार गर्न सकिन्छ कि भनेर प्रयास गरिएको हो । प्रतिकुल मौसमका कारणले भएन । प्रयत्न गर्दागर्दै पनि उहाँहरू बग्नुभयो । ३ जनाको उद्धार भयो । २ जना बेपत्ता भएको अवस्था छ ।'

गृहमन्त्री लेखकले विपद्मा परी हालसम्म २१८ जनाको मृत्यु भएको जानकारी गराए । त्यसैगरी १४३ जना घाइते र २७ जना बेपत्ता भएको उनले बताए । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्वयंसेवकहरूले ४ हजार २२२ जनाको सुरक्षित उद्धार गरेको उनले जानकारी दिए ।

कान्तिपुर

Link copied successfully